बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

भूकम्पपीडित मैदानवासी : पानीको व्यवस्था गर, अनि मात्रै सरकारी सहयोग लिन्छौं

शुक्रबार, १७ वैशाख २०७३, १५ : १९
शुक्रबार, १७ वैशाख २०७३

काभ्रे - भूकम्पले मूल सुकेपछि काभ्रे जिल्लाको महादेवस्थान गाविसको सिङ्गो मैदान गाउँ काकाकुल बनेको छ । भूकम्पले भएको एउटा मूलपनि सुकेपछि ६० भन्दा बढी घरधुरी रहेको उक्त मैदान गाउँमा पानीको हाहाकार भएको हो ।

महादेवस्थान—४ की मैयादेवी तिवारी भूकम्पको पीडा सुनाउँदै भनिन् – “भूकम्पले बारीको पाटामा ल्याइदियो । खाने र बस्ने समस्याबीच पानीविहीन सुख्खा गाउँमा ‘एक्सन एड’ नेपालको सहयोगमा सञ्चालित समामुदायिक विकास अभियानले धेरै सहयोग ग¥यो ।”

जीविकोपार्जन र अस्थायी आवास केन्द्र निर्माणका लागि रकम उपलब्ध गराएर टाउको लुकाउने ठाउँ बनाइदिएकामा हामी निकै खुसी भएको छौँ,” उनले भनिन् । अप्ठ¥यारोको समयमा छाप्रोमा बस्न दिएको र बाख्रा पाल्न आर्थिक सहयोग दिएकामा उनीएक्सन एड नेपालप्रति सन्तुष्ट हुनुहुन्छ । अन्य कुराको व्यवस्था भए पनि पानीको समस्याले गाउँ नै मरुभूमि जस्तो बनेकोमा उहाँलाई दुःख लाग्छ ।

गाउँमा गोष्ठी, छलफल चलाउँदै आएका सामुदायिक विकास अभियानका सामाजिक परिचालक ज्योति सापकोटा भन्छन् – “गाउँमा पानीको समस्या मुख्य भएपनि महिला वर्गको मानसिकता नै फेर्नुपर्छ । यही कुरालाई ध्यानमा राखेर एक्सन एड संस्थाको सहयोगमा गाउँका विभिन्न संस्था र समूहले गोष्ठी, तालिम, भेलाको आयोजना गरे । फलतः उनीहरु आफूलाई परेको समस्या निर्धक्क भएर अगाडि राख्न सक्षम भएका छन् ।

खानेपानी समस्याको व्यथा सुनाउँदै स्थानीयवासी राधिका श्रेष्ठले भनिन् – “दुई घण्टाको बाटो हिँडेर जङ्गलको बीचमा पानी लिन जानुर्पछ । गाउँका सबै जना पानी लिन जाने भएकाले कुनै दिन रित्तोे गाग्री लिएर घर फर्कनुपर्ने हुुन्छ ।” सरकारले पुनःनिर्माणका लागि रकम वितरण गरेपनि घर निर्माण गर्न सकिने अवस्था नरहेको मैदान गाउँको स्थानीयवासीको गुनासो छ ।

मैदानका बासिन्दा भन्छन् – “पानीको व्यवस्था भएपछि मात्र सरकारले पुनःनिर्माणका लागि दिने रकम लिने हो । पानी नभए घर निर्माण नै गर्न सकिँदैन । पैसाको कुनै अर्थ छैन ।”

पानी लिन खटिनुपर्ने भएकाले नजिक विद्यालय भएपनि यस गाउँका विद्यार्थी विद्यालय जान भ्याउँदैनन् । कहिलेकाहीँ त रातको १ बजेसम्म पानीको लाइनमै बस्नुपर्ने कक्षा ११ मा अध्ययनरत छात्रा मीना तिवारी बताउँछन् ।

उक्त गाउँमा रहेको श्री उमास उच्च माध्यामिक विद्यालयको भवन समेत भूकम्पले बस्न नहुने अवस्थामा पु¥याएको थियो तर एक्सन एड नेपालले ४५ जना विद्यार्थी राख्न मिल्ने अस्थायी शिक्षण केन्द्र बनाइदिएकाले निकै ठूलो राहत पुगेको विद्यालयका प्रध्यानाध्यापक शालिग्राम श्रेष्ठले बताए ।

पानी नभएकै कारण गाउँमा धेरैले भैँसीसमेत बेचेका छन् । पानीको अभावका कारण बसाइँ सर्नुपर्ने अवस्था आएको भए पनि अन्य ठाउँमा जग्गा जमिन नभएकाले समस्या भएको उक्त गाउँका बालकृष्ण सापकोटा बताउँछन् ।

नुहाउन र कपडा धुन महादेवस्थान–४ र ५ का स्थानीयवासी भने कपडा बोरामा पोको पारेर घर भन्दा निकै तल रहेको चाखोला भन्ने स्थानमा पुग्नुपर्ने समस्या रहेको विद्यार्थी रुपा तिवारी बताउँछन् ।

पानीको अभावबारे धेरै पटक गाविसमा कुरा राखेको भए पनि सुनुवाई नभएको र अब बोरिङबाट भएपनि पानीको व्यवस्था गरिदिन नेपाल सरकार र स्थानीय संस्थासँग मैदानवासीले आग्रह गरेका छन् ।

एक्सन एड नेपालले भूकम्प गएको २४ घन्टाभित्रै भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक, रसुवा, दोलखा, काभ्रे, काठमाडौँं, ललितपुर र मकवानपुरका २६ हजार ६९७ घरधुरी भूकम्पपीडितलाई तत्काल आधारभूत राहत सामग्री परिपूर्ति गर्नेदेखि पुनःस्थापनाका काममा सहयोग पु¥याउँदैआएको सो संस्थाका कार्यक्रम संयोजक उमान गुरुङले बताए ।

भूकम्पपछि एक्सन एडको सहयोगमा जिल्ला कृषि वन प्रतिष्ठानले विद्यालय सञ्चालनका लागि दुई वटा अस्थायी शिक्षण केन्द्र निर्माण गरिदिएको रसुवा—८ लहरेपौवामा अवस्थित श्री नारायणस्थान निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक झम्कनाथ न्यौपानेले बताए ।

एक्सन एड र जिल्ला कृषि वन प्रतिष्ठानको सहकार्यमा गाउँलेहरुलाई आत्मनिर्भर बनाउनु बीउविजन पनि उपलब्ध गराइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप