बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जग्गा भाडामा लिएर महिलाहरु सामुहिक तरकारी खेतीमा

शनिबार, १८ वैशाख २०७३, १४ : ४६
शनिबार, १८ वैशाख २०७३
पाल्पा– सधैँ अर्काको आम्दानीमा रमाइरहेका महिला हिजो आज आफै स्वावलम्बी बन्न थालेका छन् । दुई चार पैसा चाहिदाँ अरुसँग हात थापेर जीविका गर्दै आएका रामपुरका महिलाहरुले तरकारी खेती गरेर स्वावलम्बी बन्दै गएका छन् । हिजोआज यहाँका महिलाहरुको दिनचर्या तरकारी लगाउने र बेच्ने बनेको छ । उनीहरु घर घरमा लगाएको तरकारीले परिवार चलाउने र सामूहिक रुपमा लगाएको तरकारीबाट लिएको आम्दानी बचत गर्न थालेका छन् । यहाँका आत्मनिर्भर तरकारी उत्पादन समूहका १० जना महिलाले आठ रोपनी जग्गा भाडामा लिएर सामूहिक रुपमा खेती गरेका हुन् । वार्षिक रुपमा रु १२ हजारका दरले दुई वर्षसम्मका लागि जग्गा भाडामा लिएर तरकारी खेती गरेपछि जीवनशैलीमा नै परिवर्तन आएको छ । महिलाहरु बिहान उठेदेखि नै साँझसम्म तरकारी लगाउने, बेच्ने र रेखदेखकै काममा व्यस्त हुन्छन् । गत वर्षबाट तरकारी खेती सुरु गरेका महिलाहरुले अहिलेसम्म रु तीन लाख बराबरको आम्दानी खर्च कटाएर लिइसकेका छन् । प्रतिव्यक्ति दुई÷दुई हजारका दरले रु २० हजार रकम सङ्कलन गरी थालेको व्यवसाय अहिले फस्टाउँदै गएको छ । उनीहरुले बेमौसमी तरकारी खेतीलाई बढी जोड लिएर राम्रो आम्दानी गर्न सफल भएका छन् । “तरकारीको आम्दानीले दुई छोरालाई काठमाडौँमा राखेर पढाएकी छु”–समूहकी अध्यक्ष उमा भट्टराई भन्छिन्, “घरमा पनि चार रोपनी जग्गामा तरकारी लगाएकी छु, तरकारी बेचेर छोराको पढाइ खर्च, घरखर्च सजिलो गरी चलेको छ ।” त्यस्तै यशोदा पंगेनीले पनि तरकारीको आम्दानीले छोराछोरीलाई बोर्डिङ्ग पढाउनुका साथै केही रकम वैंकमा वचत गरेकी छन् । “खाना खाएपछि दिउँसोमा काम केही नहुँदा दिनभर घरमा सुतेर समय खेर जान्थ्यो, अहिले बारीभरी तरकारी छन्, छिमेकीसँग गफ गर्ने फुर्सद नै हुँदैन, जतिबेला पनि तरकारी लगाउने, बेच्ने, गोडमेल गर्ने गर्दै ठिक्क हुन्छ”–उनले भनिन् । व्यावसायिक रुपमा तरकारी खेती गर्न थालेपछि महिलालाई फुर्सदको समय सदुपयोग भएको उनीहरु बताउँछन् । उनीहरुले बिहानदेखि साँझसम्म दैनिक कार्यतालिका बनाएर काम गर्छन् । समूहमा आबद्ध सदस्यले बिहान र दिउँसो दैनिकजसो तरकारी लगाउने, गोडमेल गर्ने र बजारमा बिक्री गर्दै आएका छन् । समूहमा रहेर काम गर्न पाउँदा निकै खुसी र रमाइलो लागेको उनीहरुको अनुभव छ । तरकारी बेचेर लिएको आम्दानीको केही रकम समूहमा राख्ने र बाँकी रकम उनीहरुले नै बाँडेर लिने गरेका छन् । तरकारी लगाएर तुल्सी भट्टराई पनि हिजोआज आफै स्वावलम्बी बन्दै गएकामा आफूलाई खुसी लागेको अनुभव सुनाउँछिन् । यसरी नै महिलाहरु व्यवसायी बन्दै गए सधैँ अर्काको परनिर्भर पर्नु पर्दैनथ्यो । दिनभर खाली समयको सदुपयोग र आम्दानीका लागि केही न केही व्यवसाय अङ्गाल्न सके आम्दानीको स्रोत बढ्दै जानेछ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप