बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

प्रचण्डलाई दवाव दिन महराले किन बोलाए धोविघाट ?

मङ्गलबार, २१ वैशाख २०७३, ०८ : ५८
मङ्गलबार, २१ वैशाख २०७३

काठमाडौं, बैशाख २१– सरकारमाथि भारतीय सहयोग खोज्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय राजदूत रञ्जित रेसँग गोप्य वार्ता गरेको भोलिपल्टै प्रमुख सत्ता साझेदार दल एमाओवादीमा सरकार फेर्ने विषयमा छलफल भएको छ ।

एमाओवादीमा सरकार फेर्नुपर्ने भन्दै महासचिव कृष्णबहादुर महराले तीब्र लबिङ सुरु गरेका छन् । उनले सोमबार बिहान आफ्नै निवास धोबिघाटमा अध्यक्ष प्रचण्डसँग सरकार फेर्ने विषयमा लामो छलफल गरेको स्रोतले जनाएको छ ।

छलफलका क्रममा वर्तमान सरकारले जनहितमा काम गर्न नसकेको भन्दै महराले अब नयाँ सरकार गठन गर्ने विषमया पार्टीले पहल गर्नुपर्ने प्रचण्डलाई दबाब दिएका थिए । तर , प्रचण्डले ओली नेतृत्वको सरकार अहिल्यै फेर्न नहुने भन्दै बरु थप सहयोग गर्नुपर्ने जवाफ दिएको स्रोतको दाबी छ । ‘अहिले सरकार फेर्ने कुरा गर्नुहुँदैन, यही सरकारलाई निरन्तरता दिनुपर्छ’, प्रचण्डले महराको प्रस्ताव अस्वीकार गर्दै भनेका थिए, ‘अहिलेको अवस्थामा सरकारलाई पार्टीले थप सहयोग गर्नुपर्छ ।’

महराले भने एमाले नेतृत्वमा सरकार गठन गर्न एमाओवादीले गरेको आठबुँदे सम्झौता कार्यान्वयन नभएको, सरकारले कालोबजारी नियन्त्रण गर्न नसकेको, भूकम्पपछिको पुनर्निर्माणमा अपेक्षाकृत काम गर्न नसकेको भन्दै अब पनि सरकारलाई समर्थन गरिरहन नसकिने धारणा राखेका थिए ।

स्रोतका अनुसार सरकार फेर्ने योजनाका साथ महराले प्रचण्डसँग छलफल गरेको भएपनि प्रचण्डले प्रस्ताव अस्वीकृत गरिदिएका हुन् । यद्यपी सरकार फेर्न महराले  निरन्तर शक्तिकेन्द्रहरुसँग छलफल गरिरहेका छन् । शक्तिकेन्द्रहरुको योजना अनुरुप उनी सरकार फेर्ने दौडधूपमा लागिपरेको  स्रोत बताउछ  । केहि दिनअघि मात्रै महरा गोप्प रुपमा दिल्ली  समेत पुगेर फर्किएका थिए ।

 

यस्तै उनले एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश, सचिव वर्षमान पुन लगायतसँग पनि सरकार फेर्ने विषयमा छलफल गरेका छन् । श्रेष्ठ र पुनले भने सरकार फेर्ने विषयमा मौन समर्थन जनाएको स्रोतको दाबी छ ।

यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेमा पनि सरकार फेनुपर्ने विषयमा छलफल हुन थालेको छ । सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले वर्तमान सरकारले न्यायपालिकामाथि राजनीति हस्तक्षेप गरेको, भूकम्पपछिको पुनर्निर्माणलाई गम्भिरताका साथ नलिएको, कालोबजारीयालाई संरक्ष दिइएको आरोप लगाउँदै अब सरकारको विकल्प खोज्ने बेला आएको निश्कर्ष निकालेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप