बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

केही दिनलाई टर्यो माओवादी विभाजन

मङ्गलबार, २८ वैशाख २०७३, १८ : ३५
मङ्गलबार, २८ वैशाख २०७३

 काठमाडौं - फुटको सङ्घारमा पुगेको मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको विभाजन केही दिनलाई रोकिएको छ । चैत २७ गते एक महिनाका लागि स्थगित गरेको पार्टीको केन्द्रीय समितिको बैठक अध्यक्ष बैद्यले जेठ १ गते बैठक बोलाएपछि फुट केही दिनलाई टरेको हो ।

एमाओवादीसँग एकताको तयारी स्वरुप पार्टीका सङ्गठन विभाग प्रमुख रामबहादुर थापाको नेतृत्वमा उनको समूहको आज छुट्टै केन्द्रीय समितिको बैठक राखेको थियो । पार्टी अध्यक्ष मोहन वैद्य, उपाध्यक्ष सिपी गजुरेल लगायतले नेता एकता प्रक्रियामा जान रुचि नदेखाएपछि थापाको नेतृत्वमा एकताका लागि छुट्टै तयारी गरिएको थियो ।

आजको बैठकले पार्टी एकताबारे बहुमतले निर्णय गर्ने बताइएको थियो । तर, बैद्यले बैठक डाकेपछि नेवाः राज्य समितिको कार्यालय कुपण्डोलमा बसेको बैठक अनौपचारिक भेलामा परिणत भएको थियो ।

पार्टी अध्यक्ष मोहन वैद्य पक्षसँग थप छलफल गर्ने निष्कर्षसहित आज बोलाइएको केन्द्रीय समितिको बैठक अनौपचारिक छलफलमा परिणत भएको थापा पक्षमा रहनुभएकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

अध्यक्ष वैद्यले जेठ १ गते केन्द्रीय समितिको बैठक बोलाएपछि त्यसबारे छलफल गर्न आजको बैठक स्थगित गरिएको बताइन् ।

अब थापा पक्षले अध्यक्ष वैद्यसँग छलफल गरेर आगामी बैठकसम्म एकता प्रक्रियाको विषयमा अन्तिम टुंगो लगाउने थापानिकट केन्द्रीय सदस्यले बताए ।

यसअघि थापाले कोही छुटे पनि जेठभित्र एकता प्रक्रिया पूरा हुने बताइसकेका छन् ।

अल्पमतमा परेपछि बैठक स्थगित ः नेता गजुरेल अध्यक्ष वैद्य पक्षीय नेता सिपी गजुरेलले आज थापा पक्षले डाकेको बैठकमा न्यून केन्द्रीय सदस्यको उपस्थित भएपछि सो पक्षले बैठक स्थगित गरेको टिप्पणी गरे । अध्यक्ष वैद्यले एमाओवादीसँग एकताका लागि ११ बुँदा अघि सारेको तर थापाले त्यसलाई अस्वीकार गर्दै एक पक्षीय रुपमा एकता प्रक्रियामा जान खोजेको गजुरलेको भनाइ छ । उनले भने, “हामीले कार्यदिशा पहिले मिल्नुपर्छ भन्यौँ, बादल (थापा)जीले एकताको महाधिवशेन गरेर त्यसले कार्यदिशा टुङ्ग्याउँछ भन्नुहुन्छ, त्यसैमा हाम्रो कुरा मिलेको छैन ।” उनले पहिलो पार्टीको आन्तरिक एकता कायम गरेर मात्रै एमाओवादीसँग एकताका लागि वार्ता गर्नुपर्नेमा पार्टीलाई जानकारी नै नदिएर एकपक्षीय रुपमा एमाओवादीसँग थापा पक्षले वार्ता गर्दै हिँडेको जिकिर गरे । गजुरेलले विचार, सिद्धान्तबिनाको एकताको पक्षमा आफूहरु नरहेको स्पष्ट पार्दै कार्यदिशामा सहमति भएमा मात्रै एकता हुने बताए । पार्टी फुटको सङ्घारमा पुगेको माओवादीमा दुवै समूहले आफ्नो पक्षमा बहुमत रहेको जिकिर गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप