बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्री भेट्न बालुवाटरमा युएईका विदेशमन्त्री , बमबारे ध्यानाकर्षण

मङ्गलबार, २८ वैशाख २०७३, २१ : ५०
मङ्गलबार, २८ वैशाख २०७३

काठमाडौँ − प्रधानमन्त्री केपी शर्मा ओली र युएइका विदेश तथा अन्तर्राष्ट्रिय सहयोगमन्त्री शेख अब्दुल्लाह बिन जायेद अल नह्यानबीच आज भेटवार्ता भएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले नेपालमा भूकम्पपश्चात् युएइ सरकारले तत्काल गरेको सहयोगप्रति धन्यवाद दिए । उनले नेपालमा संविधान जारी गरेर अव विकासको चरणमा लागेको समेत जानकारी गराए । प्रधानमन्त्री ओलीले युएइ सरकारलाई जलस्रोतलगायत क्षेत्रमा लगानी गर्न आह्वानसमेत गर्नुभएको प्रधानमन्त्री ओलीका परराष्ट्र विज्ञ गोपाल खनालले जानकारी दिए । दुई देशको लगानी संरक्षण र सम्बद्र्धन, सम्झौता र दोहोरो कर अन्त्य गर्नेलगायत छलफल अन्तिम चरणमा पुगेकाप्रति प्रधानमन्त्री ओलीले दुई सम्झौता सकारात्मक रहेको बताए । भेटमा प्रधानमन्त्री ओलीले नेपाली नागरिक अमरबहादुर बम सन् २००३ देखि दुबई केन्द्रीय कारागारमा रहेको र बम निर्दोष भएकाले आममाफी दिनका लागि आग्रहसमेत गरे । सवारी चालकको रुपमा काम गर्ने बमलाई भारतीय नागरिकको हत्या गरेको आरोप लागेको छ । युएइका विदेशमन्त्री नह्यानले यसबारेमा आफूले बुझ्ने वचन दिए ।

भेटमा युएइका विदेशमन्त्री नह्यानले भूकम्पपश्चात पुनःनिर्माणको कामलाई प्राथमिकता दिएकाप्रति खुशी व्यक्त गर्दै संविधान जारी गरेपछि नेपालमा ठूलो राजनीतिक परिवर्तन भएको र अब विकास गर्नुपर्ने चुनौती रहेको बताए । उनले नेपाल स्रोत र साधनले धनी राष्ट्र भएको र नेपाल पर्यटकीय आर्कषणस्थल बन्ने सक्ने र त्यसका लागि आफ्नो देशको सरकार सहयोग गर्न तयार रहेको जानकारी गराए । पछिल्लो छोटो समयमा युएइ सरकारले राम्रो आर्थिक विकास गरेको भन्दै विदेशमन्त्री नह्यानले दुई देशबीच दुई सम्झौता अगाडि बढाउन चाहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप