किसानको पसिना सस्तो, उपभोक्ता भान्छा महँगो
सारांश
- स्थानीय गोलभेँडाको मूल्यमा अत्यधिक गिरावट आएपछि काठमाडौँ उपत्यका र आसपासका क्षेत्रका किसानहरू सडक आन्दोलनमा उत्रिएका छन्।
- भारतीय बजारबाट सस्तो मूल्यमा आउने तरकारीको अनियन्त्रित आयातले स्वदेशी उत्पादनलाई विस्थापित गरेपछि नेपाली टमाटर बारीमै कुहिने र सडकमा फाल्नुपर्ने दयनीय अवस्था छ।
- राष्ट्र बैंकको प्रतिवेदन अनुसार जेठमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२२ प्रतिशत पुगेको छ, जबकि अघिल्लो वर्ष सोही महिना यस्तो मुद्रास्फीति २.७२ प्रतिशतमात्र थियो।
काठमाडौँ । नेपाली कृषि क्षेत्रमा वर्षौँदेखि एउटा समस्या छ, वास्तविक किसानले आफ्नो उत्पादनको लागत मूल्यसमेत नपाउने ।
बुधबार नेपाली बजारमा स्थानीय रूपमा उत्पादित गोलभेँडाको मूल्यमा अत्यधिक गिरावट आएपछि काठमाडौँ उपत्यका र आसपासका क्षेत्रका किसानहरू सडक आन्दोलनमै उत्रन बाध्य भएका छन् । किसानहरू लगानी उठ्न नसक्दा पनि यही पेसा गर्न बाध्य छन् भने खुद्रा बजारमा उपभोक्ताहरू चर्को महँगीको मारमा पनि परिरहेका छन् ।
नेपाली बजारको मुख्य केन्द्र मानिने कालीमाटी फलफूल तथा तरकारी बजारमा नेपाली गोलभेँडाको थोक मूल्य न्यून विन्दुमा झरेपछि पीडित किसानहरू स्वतःस्फूर्त रूपमा सडक आन्दोलनमा उत्रिएका हुन् । भारतीय बजारबाट सस्तो मूल्यमा आउने तरकारीको अनियन्त्रित आयातले स्वदेशी उत्पादनलाई विस्थापित गरेपछि नेपाली टमाटर बारीमै कुहिने र सडकमा फाल्नुपर्ने दयनीय अवस्था छ । बजारमा व्यापारीहरूले नेपाली टमाटर खरिद गर्न अनिच्छा देखाउने र खरिद गरे पनि अत्यन्तै न्यून मूल्य दिने गरेका छन् ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको दैनिक मूल्य विवरणअनुसार आज बजारमा सानो लोकल गोलभेँडाको न्यूनतम थोक मूल्य प्रति केजी मात्र ८ रुपैयाँ तोकिएको छ भने यसको अधिकतम मूल्य १२ रुपैयाँ मात्र रहेको छ । समग्रमा सानो लोकल गोलभेँडाको औसत थोक मूल्य प्रति केजी ९ रुपैयाँ ५० पैसा मात्र कायम हुँदा टनेल प्रविधिबाट उत्पादित सानो गोलभेँडाको औसत मूल्य प्रति केजी १४ रुपैयाँ ६० पैसा र ठुलो नेपाली गोलभेँडाको औसत मूल्य प्रति केजी ३८ रुपैयाँ ७५ पैसा रहेको छ । खुद्रा बजारमा आम उपभोक्ताले महँगो शुल्क तिर्नु परिरहे पनि प्रत्यक्ष उत्पादन गर्ने किसानले भने प्रति केजी १० रुपैयाँ पनि हात पार्न सकेका छैनन् ।
आज आन्दोलन गर्ने किसान अगुवा एवं व्यवसायी श्रीराम घिमिरेका अनुसार कुनै औपचारिक संस्था वा समितिको ब्यानर विना नै ककनी लगायत काठमाडौँ उपत्यका वरपरका विभिन्न जिल्लाका पीडित टमाटर उत्पादक कृषकहरू आफ्नो अस्तित्व रक्षाका लागि आन्दोलनमा होमिएका हुन् । स्वदेशी कृषि उत्पादनलाई प्रवर्द्धन गर्ने र मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने सरकारी नारा नारामै सीमित हुँदा वास्तविक किसानहरू पलायन हुने अवस्थामा पुगेको उनी बताउँछन् ।
बिचौलियाको चक्रव्यूहमा तरकारी बजारः पसिना सस्तो, भान्छा महँगो
खेतबाट उपभोक्ताको थालीसम्म आइपुग्दा तरकारीको मूल्यमा कयौँ गुणा वृद्धि हुने प्रवृत्तिले कृषि बजारको ठूलो कमजोरीलाई उजागर गरेको छ । बजारमा तरकारीको आपूर्ति सहज हुँदा वा अत्यधिक उत्पादन हुँदा किसानको उत्पादन कौडीको भाउमा बिक्री हुने तर उपभोक्ताले भने सधैँ उच्च मूल्यमै खरिद गर्नुपर्ने विरोधाभासपूर्ण अवस्था छ । हिउँदको समयमा अत्यधिक उत्पादन हुँदा काभ्रे, धादिङ र नुवाकोट लगायतका क्षेत्रका किसानहरूले स्थानीय काउली प्रतिकिलो जम्मा १५ देखि २० रुपैयाँको न्यून मूल्यमा संकलनकर्तालाई सुम्पनु परेको थियो । तर तिनै तरकारीहरू बजारमा आइपुग्दा उपभोक्ताको ढाड सेकिने गरी महङ्गो बन्ने गरेका छन् । किसानको खेतबाट २० रुपैयाँमा निस्किएको स्थानीय काउली असारको मध्यतिर कालीमाटीको थोक बजारमै ११५ रुपैयाँसम्म पुग्यो भने खुद्रा बजारमा उपभोक्ताले त्यसलाई प्रतिकिलो १५० देखि १८० रुपैयाँसम्म तिरेर खरिद गर्नु परेको थियो ।
_leskHdRQGd.jpg)
कालिमाटी तरकारी बजार अनुसार उत्पादन बढी भएको फागुन महिनामा रायोको साग प्रतिकिलो १५ देखि २० रुपैयाँ अर्थात् एक मुठाको जम्मा ५ देखि ७ रुपैयाँ मात्र पाएका किसानहरूले बीउ र मलको समेत लगानी उठाउन सकेनन् । यसको ठीक विपरीत, उपभोक्ताको भान्छासम्म आइपुग्दा रायोको साग प्रतिकिलो ९० रुपैयाँसम्म पर्न गयो र खुद्रा बजारमा एक मुठाकै ३५ देखि ५० रुपैयाँसम्म असुल गरियो । भक्तपुर र आसपासका क्षेत्रमा उत्पादित स्थानीय गाजर किसानले चैत महिनामा प्रतिकिलो जम्मा २५ देखि ३० रुपैयाँमा व्यापारीलाई सुम्पे पनि थोक बजारमा ११० रुपैयाँ पुगेर खुद्रा बजारमा सर्वसाधारणले १३० रुपैयाँभन्दा बढीमा किन्नु पर्यो ।
किसानले आफ्नो फार्मबाट प्रतिकिलो १०० देखि १२० रुपैयाँमा बिक्री गर्ने कन्य च्याउ थोक बजारमै २८० रुपैयाँ पुग्दा खुद्रामा ३०० रुपैयाँभन्दा बढी पुग्यो भने सामान्य मूल्यमा उपलब्ध हुने मटरकोशा जेठ र असारमा थोक बजारमै १९० रुपैयाँसम्म पुगेपछि खुद्रा बजारमा उपभोक्ताले २२० रुपैयाँसम्म तिर्न बाध्य भए। तराई तथा मध्यपहाडी जिल्लाहरूमा गोलभेँडा उत्पादन राम्रो भए पनि किसानले ठूलो नेपाली गोलभेँडाको मूल्य प्रतिकिलो ३० देखि ३५ रुपैयाँभन्दा बढी पाउन सकेका छैनन् भने नयाँ आलु आउनुअघि पुरानो भण्डारण खाली गर्ने दबाब र शीतभण्डारको अभाव झेलेका किसानहरूले आफ्नो सेतो आलु प्रतिकिलो २० देखि २५ रुपैयाँको न्यून दरमा मध्यस्थकर्ताहरूलाई बेचेका थिए ।
६ महिनाको मूल्य उतारचढावले देखाएको अनिश्चितता
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार पछिल्लो ६ महिना अर्थात् माघ २०८२ देखि असार २०८३ सम्मको मूल्य सूचीले यो अस्थिरतालाई थप पुष्टि गर्दछ। यस अवधिमा गोलभेँडा ठूलो ९नेपाली० को मूल्यमा केही गिरावट आएको छ । ६ महिना अगाडि माघको सुरुवातमै प्रतिकिलो करिब ७५ रुपैयाँ रहेको यस गोलभेँडाको औसत मूल्य फागुनदेखि जेठसम्म ५५ रुपैयाँको हाराहारीमा रह्यो र असारको अन्त्यतिर आइपुग्दा थप घटेर करिब ३९ रुपैयाँ कायम भएको देखिन्छ । तर यसमा पनि उपभोक्ता मूल्य भने अझै उच्च रहेको छ ।
स्थानीय काउलीको मूल्यमा भने ठूलो उतारचढाव आयो । माघको सुरुमा प्रतिकिलो करिब १०५ रुपैयाँ रहेको काउली फागुन र चैतमा सस्तो भएर २० रुपैयाँसम्म ओर्लेकोमा जेठ र असार लागेपछि पुनः आकाशिएर असारको मध्यतिर ११५ रुपैयाँ पुग्यो र महिनाको अन्त्यमा ५० रुपैयाँमा सीमित हुन पुग्यो।
_AWWsNSycsy.jpg)
आलु सेतोको तथ्याङ्क अनुसार जेठ २३ गते प्रतिकिलो २८ रुपैयाँ रहेको आलु जेठ २४ मा २४.७ रुपैयाँसम्म झरेको थियो, जसको औसत मूल्य असार महिनाभरि २९ रुपैयाँको आसपासमै स्थिर रह्यो। यस्तै, रायो सागको बजार मूल्य ६ महिनाको अवधिमा झन्डै दोब्बर भएको छ। माघमा प्रतिकिलो करिब ३६ रुपैयाँ रहेको रायो साग फागुनमा १५ रुपैयाँसम्म झरे पनि चैत र जेठमा महङ्गो भएर ९० रुपैयाँसम्म पुग्यो र असारको अन्त्यतिर यसको मूल्य ७३ रुपैयाँको हाराहारीमा रह्यो।
मटरकोशा र च्याउको मूल्यमा आएको भारी वृद्धिले उपभोक्तालाई थप मारमा पारेको छ । माघमा प्रतिकिलो करिब ६२ रुपैयाँ रहेको मटरकोशा जेठको अन्त्यतिर अधिकतम १९० रुपैयाँसम्म पुगेको थियो भने असारको अन्त्यतिर आउँदा यसको मूल्य १३० रुपैयाँको हाराहारीमा कायम भएको छ। त्यसैगरी, माघको सुरुतिर प्रतिकिलो १३० रुपैयाँको हाराहारीमा रहेको कन्य च्याउको मूल्य चैत र जेठ महिनामा बढेर २८० रुपैयाँको उच्च विन्दुसम्म पुगेको थियो, जुन असारको अन्त्यतिर आउँदा केही कम भई प्रतिकिलो करिब २४५ रुपैयाँमा कारोबार भएको छ ।
उपभोक्ताको भान्छामा नियमित प्रयोग हुने गाजर र तामाको मूल्य पनि ६ महिना अगाडिको तुलनामा उच्च छ । माघमा प्रतिकिलो ६४ देखि ७४ रुपैयाँको दायरामा रहेको स्थानीय गाजर फागुन र चैतमा २५ रुपैयाँसम्म झरेको भए पनि जेठ र असारमा निरन्तर बढ्दै हाल ११० रुपैयाँको आसपासमा स्थिर छ।
तामाको मूल्य पनि माघदेखि चैतसम्म प्रतिकिलो ११५ देखि १२२ रुपैयाँको स्थिर दायरामा रहेकोमा जेठ र असार महिनामा लगातार बढ्दै असारको मध्यतिर १५० रुपैयाँसम्म पुग्यो भने असारको अन्त्यमा केही घटेर १४५ रुपैयाँ कायम भएको छ । यो मूल्य विश्लेषणले देखाए अनुसार केही मौसमी तरकारीहरूको मूल्य थोक बजारमा घटेको देखिए पनि खुद्रा बजारसम्म आइपुग्दा उपभोक्ताले त्यसको प्रत्यक्ष लाभ पाउन सकेका छैनन् । किसानले मूल्य कम पाउँदा पनि उपभोक्ताले भने उच्च रकम नै तिर्न परिरहेको छ ।
राष्ट्र बैंकको प्रतिवेदनः उपभोक्ता बजारमा महँगीको उछाल
तरकारी बजारको यो बेथिति मात्र होइन, समग्र देशकै उपभोक्ता मुद्रास्फीति र महँगी अघिल्लो वर्षको तुलनामा यस वर्ष जेठमा झन्डै दोब्बरले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार जेठमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२२ प्रतिशत पुगेको छ, जबकि अघिल्लो वर्ष सोही महिना यस्तो मुद्रास्फीति २.७२ प्रतिशतमात्र थियो ।
राष्ट्र बैंकका अनुसार जेठ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.९५ प्रतिशत रहँदा गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.३७ प्रतिशत पुगेको छ । यस अवधिमा उपभोक्ताको भान्छामा प्रयोग हुने फलफूलको मूल्य १७.४० प्रतिशत र घिउ तथा तेलको मूल्य १५.१० प्रतिशतले बढेको छ ।
त्यसैगरी माछामासुको मूल्य ५.२६ प्रतिशत र तरकारीको ४.१४ प्रतिशतले बढ्दा दाल तथा गेडागुडीको मूल्य भने ०.९३ प्रतिशतले घटेको छ । भौगोलिक तथा प्रदेशगत आधारमा हेर्दा सबैभन्दा बढी महँगी कोशी प्रदेशमा ५.७५ प्रतिशत देखिएको छ भने सबैभन्दा कम सुदूरपश्चिममा ४.६१ प्रतिशत छ। मधेस र लुम्बिनीमा समान ५.६२ प्रतिशत, गण्डकीमा ५.०५, कर्णालीमा ४.८९ र बागमतीमा ४.७९ प्रतिशत मुद्रास्फीति छ । क्षेत्रगत रूपमा तराईमा सर्वाधिक ५.७४ प्रतिशत महँगी रहँदा पहाडमा ५.०७, काठमाडौं उपत्यकामा ४.९८ र हिमालमा ३.७१ प्रतिशत महँगी छ। उपभोक्ता मुद्रास्फीतिसँगै थोक मुद्रास्फीतिमा पनि उच्च वृद्धि भएको छ।
‘खेतीको क्यालेन्डर नभएसम्म समस्या भइरहन्छ’
खेतदेखि उपभोक्ताको भान्छासम्म मूल्य यसरी अस्वाभाविक रूपमा वृद्धि हुनुको मुख्य कारण किसान र उपभोक्ताको बिचमा रहने बहुस्तरीय बिचौलियाको सक्रियता नै हो । स्थानीय संकलक, ढुवानीकर्ता, थोक बिक्रेता र खुद्रा बिक्रेताजस्ता धेरै तह पार गर्दा हरेक बिन्दुमा मनपरी नाफा जोडिँदा मूल्य अकासिन्छ ।
_SErimgt9zw.jpg)
कृषि बजारविज्ञ अभिनाश सिलवाल प्रत्येक वर्ष कृषि बजारमा किसानले पाउने समस्याबारे किसान आफैं पनि सचेत हुनुपर्ने बताउँछन् । एउटै सिजनमा सबै किसानले एकैपटक तरकारी बजारमा ल्याउँदा माग र आपूर्तिको सन्तुलन बिग्रिएर भाउ नपाउने समस्या हुने उनी बताउँछन् । यसका लागि किसानले आफ्नो उत्पादनको क्यालेन्डर उचित रूपमा व्यवस्थापन गर्नुपर्ने र भण्डारणको क्षमता बढाएर समय अनुकूल बजारमा पठाउनुपर्ने उनको सुझाव छ ।
विज्ञ सिलवालका अनुसार किसानले कुनै पनि तरकारी वा फलफूल लगाउँदा त्यसको कच्चा उत्पादन मात्रै बेच्ने जिद्दी गर्नुभन्दा त्यसको मूल्य अभिवृद्धि ९भ्यालु एडिसन० वा वैकल्पिक उत्पादन के हुन सक्छ भन्नेतर्फ सोच्न आवश्यक छ । ‘बजार नपाएको अवस्थामा काउली खेतमै जोतेर नष्ट गर्ने, टमाटर सडकमा फाल्नेको सट्टा त्यसको चाना बनाउने, गुन्द्रुक, अचार, सस वा अन्य प्रशोधित परिकार तयार पार्ने विकल्पतर्फ ध्यान दिनुपर्छ,’ सिलवाल भन्छन् ।
किसानका लागि राज्यले मात्रै सबैथोक गरिदिन्छ भनेर बस्नुभन्दा वार्षिक क्यालेन्डर अनुसार व्यवस्थित खेती गर्ने र आफैंले क्षमता अनुसार भण्डारणको व्यवस्था मिलाउने बानी बसाल्नुपर्ने उनको तर्क छ । ‘ग्रामीण क्षेत्रमा आवश्यक शीतभण्डार तथा भण्डारण गृहहरूको अभाव हटाउन, र बिचौलियाको चक्रव्यूह अन्त्य गर्न उत्पादक र उपभोक्तालाई सिधै जोड्ने सहकारी बजार वा किसान बजारको अवधारणालाई देशव्यापी बनाउनु र बजार नियन्त्रणका लागि सरकारले ठोस कानुनी कदम चाल्नु पर्ने आवश्यकता हो,’ सिलवाले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मलद्वारमा लुकाएर खैरो हेरोइन भित्र्याउने दुई जना पक्राउ
-
देशभरका मुख्य राजमार्गहरूमा बाढी र पहिरोको असर : कतै पूर्ण अवरोध, कतै एकतर्फी सुचारु
-
लमजुङमा वृद्धको हत्या, गहना लुटेर चितवनमा बिक्री
-
१० बजे १० समाचार : संसद्मा जाँदा विवादमा प्रधानमन्त्री, पुराना दलमा पुरानै रोग
-
उपराष्ट्रपति यादवद्वारा कतारी अमिरलाई राष्ट्रपतिको शोक पत्र हस्तान्तरण
-
सुदूरपश्चिम सरकारः अल्पमतमा शाह, सत्ताको चाबी नेकपाको हातमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण