बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

बाग्लुङमा नौ सडक बालबालिकाको उद्धार

बिहीबार, ३० वैशाख २०७३, १७ : १३
बिहीबार, ३० वैशाख २०७३
[caption id="attachment_49604" align="alignleft" width="837"] File Photo[/caption]

बागलुङ–अभिभावकको सहारा गुमाएर सडकमा बेवारिसे बनेका यहाँका नौजना बालबालिकाको उद्धार गरिएको छ ।

युवा बचाउ अभियान र जिल्ला खेलकुद विकास समिति बागलुङको प्रयासमा उनीहरु सडकबाट पुनःस्थापना केन्द्र पुगेका छन् । सहरमा मजदुरी गरेर दैनिकी गुजार्ने अभिभावकको बेवास्ताले उनीहरु ‘सडक बालबालिका’का रुपमा चिनिएका थिए ।

पहिलो चरणमा बालबालिकालाई सडकबाट उठाएर बागलुङको उपल्लाचौरस्थित नयाँ जीवन पुनःस्थापना केन्द्रमा राखिएको सेभ द युथका अध्यक्ष मनिष रायमाझीले बताए । जसमा १२ वर्षीया ऐनिसा परियार, ११ वर्षीया कौशिला परियार, आठ वर्षीया उषा परियार, १० वर्षीया सीता परियार र चार वर्षीय विनोद परियारलाई महिला पुनःस्थापनागृहमा राखिएको छ । यस्तै, १० वर्षीय अभिषेक परियार, सात वर्षीय रोहित परियार, आठ वर्षीय रमित परियार र नौ वर्षीय प्रकाश थापालाई छुट्टै स्थानमा राखिएको छ ।

केन्द्रमा बालबालिकालाई बालमैत्री व्यवहार, परिवार र समाजको महत्व, पठनपाठन, खेलकुदलगायतका विषयमा विशेष परामर्श दिइने केन्द्रका प्रमुख सञ्जय खड्काले बताए । अभिभावकहरु दिनरात मदिरा सेवन गर्ने र परिवारको बेवास्ता गर्न थालेपछि बालबच्चा अलपत्र परेका थिए ।

विद्यालय उमेरका बालबालिकाको भविष्य अनिश्चित बन्ने देखिएपछि प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयको संयोजकत्वमा बसेको बैठकले एक महिना बालबालिकालाई सुधार तथा परामर्शका लागि पुनःस्थापना केन्द्रमा राख्ने निर्णय गरेको थियो ।

“कम्तीमा एक महिना पुनःस्थापना केन्द्रमा बालबालिका र अभिभावक दुवैलाई राखेर परामर्श दिइनेछ, सुधार भएपछि बालबालिकालाई जिल्ला शिक्षा कार्यालयको समन्वयमा विद्यालय पठाउने व्यवस्था गर्छौं” – खेलकुद विकास समितिका अध्यक्ष धनबहादुर परियारले भने । खेलकुद विकास समितिले सेभ द युथमार्फत युवा साझेदारी कार्यक्रमबाट सडक बालबालिकाको उद्धारमा सघाएको छ । यसअघि ती बालबालिका बटुवाको खुट्टा ढोगेर पैसा माग्ने, चोरी गर्ने, मोटरसाइकलको पेट्रोल निकालेर सेवन गर्ने, सडकपेटीमै सुत्नेजस्ता क्रियाकलाप गर्दै आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप