बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

बाजुरामा ९१२ लिटर अवैध मदिरा नष्ट

बिहीबार, ३० वैशाख २०७३, १७ : २६
बिहीबार, ३० वैशाख २०७३

बाजुरा– पछिल्लो समय जिल्ला प्रहरी कार्यालय बाजुराले गैरकानुनी रुपमा उत्पादित घरेलु मदिरा बरामद गरी नष्ट गर्ने कार्यलाई तीव्रता दिएको छ ।

नयाँ वर्षमा सुरु गरिएको यस अभियानअन्तर्गत ९१२ लिटर अवैध मदिरा नष्ट गरिइसकिएको छ । जिल्लाको कोल्टी, पिलुचौर, विच्छ्याँ प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयको टोली ठाउँ ठाउँमा परिचालित भएको छ ।

जिल्लामा बर्सेनि खाद्य सङ्कट हुने गरेको भएपनि स्थानीय होटल व्यवसायीले चामल, कोदो, जौ जस्ता अन्न प्रयोग गरी घरेलु मदिरा बनाउने जनगुनासो आएपछि जिल्ला प्रहरी कार्यालय बाजुराले यो अभियान थालेको हो । मदिरा सेवनकै कारण झैझगडा हुनुका साथै समाजमा नराम्रो विकृति सिर्जना हुने भएकाले घरेलु मदिरा नष्ट गर्ने अभियान चलाइएका हो ।

स्थानीय बजारमा मदिरा खाएर लट्ठ भएका युवा र अधिकांश जँड्याहालाई प्रहरीले गिरफ्तार गरिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दलबहादुर बोगटीले बताएका छन् ।

प्रहरी नायब उपरीक्षक बोगटीका अनुसार जिल्लामा ठूलो मात्रामा मदिरा सेवन गरेर गाडी चलाउने गाडी चालकलगायत युवालाई समेत सार्वजनिक मुद्दा चलाइएको छ । जिल्लामा खुलेयाम मदिरा बिक्री वितरण गर्ने व्यापारीलाई समेत प्रहरीले बन्द गर्न अनुरोध गरेको छ भने नियम विपरीत काम गर्नेमाथि कानुनी हुने चेतावनी दिएको छ ।

जिल्लावासीले खाद्य सङ्कट खेपिरहँदा स्थानीय होटल व्यवसायी भने दुर्लभ खाद्यान्नको प्रयोग गरी घरेलु मदिरा बनाउन सक्रिय भएको भन्दै जिल्ला प्रहरी कार्यालयले सदरमुकामका केही होटलमा छापासमेत हानेर दिनहुँ अवैध घरेलु मदिरा बरामद गरिरहेको छ ।

बाजुरामा मदिरा नियन्त्रण अभियानमा सहयोग गर्न प्रहरीले सम्पूर्ण बाजुरावासीलाई अनुरोधसमेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप