बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

कार्यान्वयनको चरणमा अदालतको उत्प्रेषण–मिश्रित आदेश

शुक्रबार, ३१ वैशाख २०७३, ०७ : १२
शुक्रबार, ३१ वैशाख २०७३

पोखरा – पोखरा उपमहानगरपालिका कार्यालयले पुनरावेदन अदालत पोखराद्वारा जारि गरिएको प्लाष्टिक नियन्त्रणबारे उत्प्रेषण मिश्रित परमादेश कार्यान्वय गर्ने भएको छ ।

कार्यालयले यही जेठ १ गतेदेखि १४ गतेसम्म पोखरा उपमहानगरपालिका क्षेत्रभित्र प्लाष्टिकजन्य झोला र गिलासको अनुगमन गरी सो आदेश कार्यान्वयन गर्ने भएको हो । जेठ १५ गतेपछि भने पोखराका निषेधित क्षेत्रमा प्लाष्टिकजन्य झोला र गिलास प्रयोग गरेमा एक्सन लिइने नगरपालिकाले जनाएको छ ।

एक्सनको लागि नगरभित्रका पसलमा विशेष टोली बनाएर अनुगमन गरिने प्लाष्टिक नियन्त्रण तथा अनुगमन समितिका संयोजक वसन्त चालिसेले जानकारी दिएका छन् ।

उनले एक्सनमा जाँदा प्लाष्टिक भेटिएका पसलहरुमा टोलीले ठाउँको ठाउँ कारवाही गर्ने बताए ।

पुनरावेदन अदालत पोखराले पोखराका २ वटा वडा बाहेकका २७ वटा वडामा प्लाष्टिकजन्य पदार्थ नियन्त्रण गर्न नगरपालिकालाई आदेश दिएको छ ।

पोखरा उपमहानगगरपालिकाका वडा नं १६ र २८ बाहेकका अन्य सबै वडाहरुमा प्लाष्टिकजन्य झोला र गिलास नलैजान पुनरावेदन अदालत पोखराले गत चैत २९ गते उत्पे्रषण मिश्रित परमादेश जारी गरेको थियो ।

ती दुई वडामा भने पुनरावेदन अदालत नियमावलि २०४८ को नियम ३३, क, बमोजिम प्रत्यार्थीहरुका नाउँमा अन्तरिम आदेश जारी गर्दै तत्कालको लागि उत्पादन गर्दै आएका गुणस्तरीय प्लाष्टिकका झोला उत्पादन गरी बाहिर पठाउन आदेश दिएको छ ।

ती वडामा सुविधाको सन्तुलनमार्फत तत्काल रोक्न अनुपयुक्त हुने भन्दै अदालतले निवेदनको टुंगो नलागेसम्मका लागि ती झोलाहरु उत्पादन तथा वितरणमा रोक नलगाउन भनेको छ ।

पोखराका प्लाष्टिक व्यवसायी हरिप्रसाद कर्मचार्य लगायतले दायर गरेको मुद्दामा सुनुवाई गर्दै पुनरावेदन अदालत पोखराले सो परमादेश जारी गरेको हो ।

प्लाष्टिक उत्पादक कर्माचार्यलगायतले पोखरा उपमहानगरपालिका कार्यालय अन्तर्गत नगरपरिषद् समेतलाई विपक्षी बनाउँदै सो मुद्दा दायर गरेका थिए ।

दायर मुद्दा उपर पुनरावेदन अदालत पोखराका न्यायाधीशद्धय सत्यराज गुरुङ र द्धारिकामान जोशीद्वारा जारी उत्प्रेषण मिश्रित परमादेशपछि पोखरा उपमहानगरपालिका कार्यालयलाई आफ्नो प्लष्टिकमुक्त अभियान सफल पार्न थप हौसला मिलेको थियो ।

तर, कार्यान्वयन गर्ने निकाय पोखरा उपमहानगरपालिका कार्यालयले नै वैशाख १ गतेदेखि कडाईका साथ प्लाष्टिकजन्य झोला र गिलास नियन्त्रण अभियानको अनुगमन गर्न नसक्दा बजारमा झोला प्रयोग गर्ने र नगर्ने भन्नेबारे अन्योलता छाएको थियो ।

केही व्यवसायीले प्लष्टिक नियन्त्रण भएको भन्दै फे्रव्रिकका झोला प्रयोग गर्न थालेका छन् । पोखराका केही पसलहरुले अझै प्लाष्टिकका झोला र गिलास प्रयोग गदै आएका छन् । नगरपालिकाले गत वैशाख १ गतेदेखि नै पोखरामा प्लाष्टिकजन्य झोला र गिलास नियन्त्रण गर्ने भन्ने सूचना जारी गरेपनि समयमा अनुगमन गर्न नसक्दा बजारमा अहिले पनि प्लाष्टिकका झोला र गिलास पाईने गरेका छन् ।

विषेशगरी २० माईक्रोनभन्दा कम गुणस्तरका प्लाष्टिकजन्य झोला र गिलास मानव स्वास्थ्यको लागि हानिकारक भएको भन्दै पोखरा उपमहानगपालिकाको २० औँ नगरपरिषद्ले त्यस्ता झोला हटाउने निर्णय गरेको थियो । यसअघि २८ औँ नगरपारिषद्ले पोखरामा कालो प्लाष्टिकको झोला हटाउने निर्णय गरेपछि २०६७ साउन १ गतेदेखि पोखरामा कालो झोला प्रतिबन्धित रहेको छ ।

अब पोखरामा प्लाष्टिकका झोला र गिलास प्रयोग गर्नेलाई ठाउँका ठाउँ कारवाही हुने निमित्त कार्यकारी अधिकृत ओमराज पौडेलले जानकारी दिएका छन् ।

पोखरा उपमहानगरपालिका फोहोरमैला ऐनअनुसार पहिलो पटक प्लाष्टिकका झोला प्रयोग गर्नेलाई रु ५ सय, त्यसपछि पनि प्लाष्टिकका झोला प्रयोग गर्नेलाई रु १ हजार जरिवाना गरिने उल्लेख छ । त्यसपछि पनि प्लाष्टिकका झोला र गिलास प्रयोग गरेमा प्रति पटक रु ५ सयको दरले सजायँ थप हुने पोखरा उपमहानगरपालिका कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप