तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
सारांश
- रुसमा इन्धन संकटको फाइदा उठाउँदै केही व्यक्तिहरूले तान्त्रिक विधिबाट पेट्रोल खपत घटाइदिने भन्दै ठगी गरिरहेका छन्।
- उनीहरूले गाडीको इन्धन बढी खर्च हुनुको कारण श्राप वा नकारात्मक ऊर्जा भएको दाबी गर्दै १६ हजार रुबलसम्म शुल्क लिने गरेका छन्।
- विज्ञहरूले मन्त्र वा जादुले पेट्रोलको गुणस्तर परिवर्तन नहुने भन्दै यस्ता ठगीबाट जोगिन चेतावनी दिएका छन्।
मस्को । रुसमा पछिल्लो समय इन्धन संकट गहिरिँदै गएको छ । यस्तोमा आफूलाई जादुगर, तान्त्रिक, ज्योतिषी वा भविष्यवक्ता बताउने व्यक्तिहरूले मोटरचालकलाई ठगी गर्न थालेका छन् ।
उनीहरूले शुल्क लिएर जादु–टोना वा तान्त्रिक विधिमार्फत गाडीको इन्धन खपत घटाइदिने दाबी गरिरहेका छन् । युक्रेनी आक्रमणका कारण रुसका विभिन्न तेल प्रशोधन केन्द्र प्रभावित भएपछि देशका धेरै क्षेत्रमा इन्धन अभाव चर्किएको छ । चालकहरू घण्टौँसम्म पेट्रोल पम्पमा लाइन बस्न बाध्य छन् भने इन्धनको मूल्य पनि उल्लेखनीय रूपमा बढेको छ ।
रुसी सञ्चारमाध्यमहरूका अनुसार सामाजिक सञ्जालमा आफूलाई जादुगर, ज्योतिषी वा धामी बताउने व्यक्तिहरूले गाडीको इन्धन खपत कम गरिदिने, सामान्य पेट्रोललाई उच्च गुणस्तरको पेट्रोलमा परिवर्तन गरिदिने जस्ता दाबी गर्दै सेवा बेचिरहेका छन् ।
यस्ता व्यक्तिहरूले गाडीको इन्धन बढी खर्च हुनुको कारण इन्जिनको खराबी नभई श्राप, नकारात्मक ऊर्जा वा कसैले गाडीमा राखेको रहस्यमय वस्तु भएको दाबी गर्छन् । यिनीहरूले गाडी बनाउन रिपेयर सेन्टरमा लैजानुको सट्टा आफूले गर्ने तान्त्रिक विधिबाट समस्या समाधान हुने भन्दै ग्राहकलाई आकर्षित गरिरहेका छन् ।
यस्ता तथाकथित सेवाका लागि उनीहरूले १६ हजार रुबलसम्म शुल्क लिने गरेको बताइएको छ । एक घटनामा एक महिलाले आफू बोक्सी भएको दाबी गर्दै ग्राहकको गाडीको इन्धन ट्याङ्कीमा श्राप लागेको र त्यसैले इन्धन असामान्य रूपमा धेरै खर्च भइरहेको बताइन् । उनले उक्त श्राप हटाइदिने भन्दै १६ हजार रुबल मागेको समाचारमा उल्लेख छ । केही तान्त्रिकहरूले सामान्य एआई–९२ पेट्रोललाई महँगो एआई–१०० पेट्रोलमा रूपान्तरण गर्न सक्ने दाबीसमेत गरेका छन् ।
पेट्रोलको अक्टेन स्तर यसको रासायनिक संरचनाले निर्धारण गर्ने भएकाले मन्त्र, जादु–टोना वा कुनै प्रतीक प्रयोग गरेर त्यसलाई परिवर्तन गर्न नसकिने भन्दै नझुक्किन र ठगीमा नपर्न विज्ञहरूले चेतावनी दिइरहेका छन् । स्पष्ट पारेका छन् । यसअघि पनि रुसमा इन्धन खपत कम गरिदिने दाबी गरिएका फ्युल पिल्स व्यापक रूपमा बिक्री हुन थालेका थिए । तर ती औषधिको प्रभावकारितामाथि पनि विज्ञहरूले प्रश्न उठाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण