दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
सारांश
- पेट्रोलियम पदार्थको आपूर्तिमा असहजताका कारण नेपाल सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू गरेको छ, जसले शैक्षिक संस्थालाई पनि असर गरेको छ ।
- यसअघि दुई पटक असफल भएको दुई दिने बिदाको यो तेस्रो प्रयास हो, जसले विद्यार्थीको पठनपाठन, अतिरिक्त क्रियाकलाप र मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पारेको गुनासो बढेको छ ।
- दुई दिनको बिदाले कार्य घण्टा घट्ने, पाठ्यक्रम अधुरो रहने, सिकाइ कमजोर हुने, शिक्षकमा दबाब बढ्ने, मूल्याङ्कन प्रणालीमा असर पर्ने, ग्रामीण क्षेत्रमा नकारात्मक प्रभाव पर्ने र सामाजिक विकृति बढ्ने जस्ता धेरै नकारात्मक पक्षहरू देखा परेका छन् ।
नेपाल सरकारले पेट्रोलियम पदार्थको आपूर्तिमा असहजताको कारण देखाउँदै गत चैत २३ गतेदेखि शनिवार र आइतबार गरी हप्तामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू गरेको छ ।
सरकारको यो निर्णयसँगै सम्पूर्ण शैक्षिक संस्था र सरकारी कार्यालय हप्ताको दुई दिन बन्द भइरहेका छन् । सरकारले शैक्षिक संस्था बाहेकका अन्य कार्यालयहरूको कार्यसमय बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म कायम गरेको भए पनि विद्यालयको हकमा यो व्यवस्था उपयुक्त र व्यावहारिक, पूर्णतः अनुपयुक्त र अव्यवहारिक एवं नकारात्मक असर गर्ने खालको छ भन्ने कुरामा भने गम्भीर छलफल गरी पुनर्विचार गर्नुपर्ने भएको छ ।
असफलतापछिको यो तेस्रो प्रयास
नेपालको इतिहासमा हप्तामा दुई दिन बिदा दिने निर्णय यो तेस्रो प्रयास हो । यसअघि दुई पटक यस्तै निर्णय गरिए पनि ती दुवै प्रयास असफल भएका थिए ।
पहिलो प्रयास ०५६ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पालामा साउन १ गतेबाट काठमाडौँ उपत्यकामा परीक्षणका रूपमा सुरु गरिएको थियो । तर, कार्यालयको काम प्रभावित भएको, विद्यार्थीहरूको पढाइको कार्य घण्टा नपुगेको र सेवाग्राहीलाई दैनिक सेवा लिन सास्ती भएको भन्दै आलोचना भएपछि सरकार उक्त निर्णयबाट पछि हट्नुपर्यो ।
दोस्रो प्रयास ०७९ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले पेट्रोलियम पदार्थको खपत घटाउन र विदेशी मुद्राको सञ्चिति जोगाउन भन्दै ०७९ जेठ १ गतेदेखि देशभर दुई दिने बिदा लागू गर्यो । तर, सार्वजनिक सेवा प्रवाहमा समस्या देखिएको, प्रशासनिक काममा ढिलासुस्ती भएको र प्रभावकारी नभएको एवं विद्यार्थीहरूको पढाइको कार्य घण्टा नपुगेको भन्दै जनस्तरबाट चर्को आलोचना भएपछि आफैले लागू गरेको एक महिनामै उक्त निर्णयबाट सरकार पछि हट्न बाध्य भयो ।
यतिखेर पुनः पेट्रोलियम पदार्थको आपूर्तिमा आएको असहजतालाई नै मुख्य कारण देखाउँदै सरकारले यो प्रयोगलाई दोहोर्याएको छ ।
बढ्दै छन् गुनासा र उल्लंघनका घटना
यसपटक खासगरी शैक्षिक संस्थाहरूमा हप्तामा २ दिन (शनिवार र आइतबार) बिदा दिने निर्णयले विद्यार्थीको शैक्षिक पठनपाठन र अतिरिक्त क्रियाकलापमा कमी आउनुका साथै बालबालिकामा मोबाइल, टिभी लगायतका डिजिटल सामग्रीको अत्यधिक प्रयोग बढ्न गई मानसिक रूपमा नकारात्मक प्रभाव परेको भनी लिखित र मौखिक गुनासो बढ्दै गएका छन् ।
कतिपय पालिकाहरूले संघीय सरकारको यो निर्णयको उल्लंघन गर्न थालेपछि दुई पटक असफल भएको दुई दिने बिदाको मोडेल यस पटक पनि अनुपयुक्त र असफल हुने त होइन ? आशङ्का बढ्न थालेको छ ।
शिक्षा नियमावली, २०५९ अनुसार एक शैक्षिक सत्रमा विद्यालय न्यूनतम २२० दिन खुला हुनुपर्ने व्यवस्था छ । साथै बिदा वा बन्द दिन बढीमा ४५ दिनसम्म हुन सक्ने उल्लेख गरिएको छ । विद्यालय कम्तीमा २२० दिन खुल्नुपर्ने, कम्तीमा २०५ दिन पठनपाठन हुनुपर्ने, दैनिक करिब ६ घण्टा विद्यालय सञ्चालन गर्नुपर्ने र खेलकुद, व्यावहारिक सीप अनि अतिरिक्त क्रियाकलाप लगायतका गतिविधि सञ्चालन गर्नुपर्ने भनिएको छ ।
यसैगरी नेपालको शिक्षा प्रणालीमा सरकारले स्वीकृत पाठ्यक्रम लागू गर्नुपर्ने, कक्षाअनुसार निश्चित पाठ्यभार र कार्य घण्टा पूरा गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । हालैको दुई दिने बिदा लागू गर्दा सरकारले तोकेका यी सबै शैक्षिक मापदण्ड पूरा गर्न विद्यालयहरूले तदनुरुप समय व्यवस्थापन, अतिरिक्त सिकाइका गतिविधि तथा कार्य घण्टा पूरा गर्न सम्भव देखिँदैन ।
३६५ दिनमा २०५ दिन बिदा
यस वर्ष ०८३ सालमा विभिन्न राष्ट्रिय पर्व र उत्सव लगायतका ३७ वटा सार्वजनिक बिदा परेका छन् । ५२ वटा शनिवार रहेका छन् भने ५२ वटै आइतबार पनि परेका छन् । प्रदेश सरकार र स्थानीय सरकारले दिन पाउने बढीमा ५–५ वटा बिदा, विभिन्न स्थानीय जातजातिका चाडपर्व तथा उत्सवमा दिनुपर्ने बिदाहरू र अन्य भइपरी आउने नानाथरीका सारा बिदाहरूलाई समेत जोड्दा यो वर्ष करिब १६० दिन विद्यालय बन्द रहने अवस्था छ ।
विद्यालयहरूले दिने बर्खे र हिउँदे बिदाका ४५ दिनसमेत हिसाब गर्दा बिदाहरू करिब २०५ दिनसम्म पुग्न सक्छन् । यो अवस्थामा सरकारले तोकेको विद्यालय कम्तीमा २२० दिन खुल्नुपर्ने र कम्तीमा २०५ दिन पठनपाठन हुनुपर्ने प्रावधान कसरी पूरा होला ? विद्यार्थीको शिक्षण सिकाई प्रक्रिया कसरी सम्पन्न होला ? गम्भीर प्रश्न उठेका छन् ।
नकारात्मक पक्षहरू
विद्यालयमा दुई दिनको बिदाले विद्यार्थी, शिक्षक र अभिभावकलाई विश्रामको अवसर दिए पनि नेपालको शैक्षिक, सामाजिक तथा आर्थिक अवस्थालाई हेर्दा यो त्यति प्रभावकारी र उपयुक्त हुने देखिँदैन । नेपालको शैक्षिक अवस्था, सीमित शैक्षिक समय र ठुलो पाठ्यभारलाई हेर्दा यसले कार्य घण्टा तथा पाठ्यक्रममा विभिन्न नकारात्मक असर पार्न सक्छ । मुख्य असरहरू निम्न प्रकार छन् ।
कार्य घण्टा घट्ने समस्याः नेपालको विद्यालय शिक्षामा निश्चित वार्षिक कार्य घण्टा पूरा गर्नुपर्ने व्यवस्था छ । दुई दिन बिदा हुँदा हप्तामा पठनपाठन हुने दिन घट्छ । दैनिक समय थपे पनि व्यवहारमा पूर्ण प्रभावकारी हुँदैन । चाडपर्व, बन्द, वर्षा, जाडो, परीक्षा आदि कारण थप समय नोक्सान हुन्छ । अन्ततः आवश्यक कार्य घण्टा पूरा गर्न कठिनाइ हुन्छ । यसले सिकाइको गुणस्तरमा प्रत्यक्ष असर पार्छ ।
पाठ्यक्रम अधुरो रहने जोखिमः नेपालमा पाठ्यक्रम पहिले नै निकै विस्तृत र पाठ्यभार बढी भएको गुनासो छ । दुई दिन बिदा हुँदा शिक्षण दिन घट्ने भएकाले शिक्षकले हतारमा पढाउनुपर्ने अवस्था आउँछ । यस्तो अवस्थामा शिक्षकले सबै विषय गहिराइमा पढाउन समय पाउँदैनन् ।
पाठ्यक्रम हतारमा सकाउने प्रवृत्ति बढ्नेछ । प्रयोगात्मक तथा परियोजनामा आधारित सिकाइ घट्न सक्छ । केही पाठ वा अभ्यास छोड्नुपर्ने अवस्था आउन सक्छ । विद्यार्थीको वास्तविक ज्ञान कमजोर बनाउनेछ । अन्ततः यसले गुणस्तरीय शिक्षामा प्रत्यक्ष असर पुग्ने निश्चित देखिन्छ ।
कमजोर सिकाइः दुई दिन विद्यालय बन्द हुँदा विद्यार्थी पढाइबाट लामो समय टाढा हुन्छन् । साना कक्षाका विद्यार्थीले सिकेका कुरा बिर्सने सम्भावना बढ्छ । गृहकार्य तथा पुनरावृत्ति कमजोर हुन्छ । अध्ययनको नियमित बानीमा असर पर्छ । लामो अन्तरालले अध्ययनको नियमित बानी कमजोर बनाउन सक्छ । निरन्तर अभ्यास आवश्यक पर्ने गणित, विज्ञान, भाषा जस्ता विषयमा यसको असर बढी देखिन्छ । अन्ततः विद्यार्थीको सिकाइ प्रक्रियामा नकारात्मक असर पर्ने देखिन्छ ।
शिक्षकमा दबाबमाः कार्यदिन घटेपछि शिक्षकले छोटो समयमा धेरै विषय पढाउनुपर्ने हुन्छ । कक्षा छिटो सकाउनुपर्ने दबाब बढ्छ । मूल्याङ्कन, परियोजना कार्य तथा अतिरिक्त क्रियाकलापका लागि समय कम हुन्छ । यसले शिक्षणको गुणस्तर घटाउन सक्छ ।
सहक्रियात्मक गतिविधिमा कमीः विद्यालय शिक्षामा खेलकुद पुस्तकालय प्रयोगशाला कला, संगीत वक्तृत्व, हाजिरीजवाफ जस्ता गतिविधिको पनि महत्व हुन्छ । विद्यार्थीलाई नियमित पठनपाठन र परीक्षाका अन्य अतिरिक्त क्रियाकलाप र परियोजना कार्यसमेतमा सहभागी गराउनुपर्ने हुन्छ । तर, समय अभाव हुँदा विद्यालयले केवल पाठ्यपुस्तकमा केन्द्रित पढाइमा जोड दिन सक्छ । यसले विद्यार्र्थीको अतिरिक्त क्रियाकलाप र समग्र वृत्ति विकासमा असर पुर्याउनेछ ।
मूल्याङ्कन प्रणालीमा असरः समय अभावका कारण नियमित परीक्षण घट्न सक्छ । अभ्यास परीक्षा कम हुन सक्छ । शिक्षकले कापी जाँच र प्रतिक्रिया दिन पर्याप्त समय नपाउन सक्छन् यसले विद्यार्थीको सिकाइ उपलब्धि मूल्याङ्कनलाई अत्यन्त कमजोर बनाउँछ ।
ग्रामीण क्षेत्रमा नकारात्मक प्रभावः ग्रामीण क्षेत्रमा दुई दिन बिदा हुँदा विद्यार्थी खेतीपाती वा श्रममा बढी संलग्न हुन सक्छन् । विद्यालय फर्किएपछि अध्ययनमा ध्यान केन्द्रित गर्न कठिन हुन सक्छ । अनुपस्थितिको समस्या बढ्न सक्छ । यसले सहरी र ग्रामीण क्षेत्रबिच शैक्षिक असमानता अझ बढाउने सम्भावना रहन सक्छ ।
अतिरिक्त भारः विद्यालयले समय पूर्ति गर्न दैनिक कक्षा अवधि बढाउने, बिहान चाँडो वा बेलुका ढिलो सञ्चालन गर्ने प्रयास गर्न सक्छन् । साना विद्यार्थी थाक्ने, यातायात समस्या, वर्षा, गर्मी वा जाडोको असरले समय व्यवस्थापनको व्यावहारिक कठिनाइ उत्पन्न हुने देखिन्छ ।
दुई दिन बिदाले धेरै परिवारमा बालबालिकाको अतिरिक्त घुमफिर, मनोरञ्जन वा खर्च बढाउन सक्छ । कमजोर आर्थिक अवस्था भएका परिवारका लागि यो थप आर्थिक बोझ बन्न सक्छ ।
शैक्षिक समयको कमीः नेपालमा प्राकृतिक विपत्ति, चाडपर्व, आन्दोलन, बन्द, अत्यधिक जाडो वा वर्षाका कारण विद्यालय नियमित सञ्चालन हुन नसक्ने अवस्था बारम्बार देखिन्छ । यस्तो अवस्थामा हप्तामा दुई दिन बिदा थपिँदा शिक्षण दिन झन् घट्ने खतरा हुन्छ । यसले पाठ्यक्रम पूरा गर्न कठिन बनाउँछ । शिक्षक तथा अभिभावकको असुविधा जस्ता चुनौती आउन सक्छन् ।
मोबाइलमा झुम्मिने समस्याः लामो समय बिदामा रहँदा धेरै विद्यार्थी मोबाइल, भिडियो गेम, सामाजिक सञ्जाल तथा अनावश्यक मनोरञ्जनमा समय बिताउन सक्छन् । यसले अध्ययनमा ध्यान घटाउने, अनुशासन कमजोर बनाउने तथा मानसिक असरसमेत पार्न सक्छ । यस्तोमा सबै अभिभावक घरमै उपलब्ध नहुने भएकाले दुई दिन बालबालिकाको निगरानी गर्न कठिन हुन सक्छ । यो आफैमा चुनौतीपूर्ण छ ।
कमजोर अनुशासनः नियमित विद्यालय वातावरणबाट टाढा हुँदा विद्यार्थीको अनुशासन, समय व्यवस्थापन र अध्ययन संस्कारमा नकारात्मक असर पर्न सक्छ । खेलकुद र घुमफिरमा बढी समय बिताउने, धेरै समय घरबाहिर रहँदा गलत संगतमा पर्ने र अनुशासनहीनताका गतिबिधिमा संलग्न हुने संभावना अत्यधिक बढ्ने देखिन्छ ।
सामाजिक विकृति बढ्ने आशंकाः किशोरावस्थाका विद्यार्थी लामो खाली समयमा गलत संगत, दुव्र्यसन वा सामाजिक विकृतितर्फ आकर्षित हुने जोखिम बढ्न सक्छ । लामो समय किशोरावस्थाका विद्यार्थी पढाइभन्दा अन्य शंकास्पद गतिविधितर्फ आकर्षित गर्ने सम्भावना भएकाले सामाजिक विकृति बढ्ने आशङ्का गर्न सकिन्छ ।
आर्थिक अवस्थासँग असन्तुलनः विकसित देशहरूमा दुई दिन बिदाको व्यवस्था त्यहाँको आर्थिक, सामाजिक तथा व्यवस्थापकीय संरचनासँग मेल खान्छ । तर, नेपालमा अझै पनि धेरै अभिभावक आर्थिक समस्यासँग जुधिरहेका हुनाले लामो बिदाले अतिरिक्त खर्च तथा अनावश्यक गतिविधि बढाउन सक्छ र आर्थिक अवस्था असन्तुलन हुने सम्भावना बढ्न सक्छ ।
प्रतिस्पर्धात्मक युगमा प्रत्युत्पादकः आजको विश्व तीव्र प्रतिस्पर्धामा अघि बढिरहेको छ । विज्ञान, प्रविधि र ज्ञानको क्षेत्रमा निरन्तर अभ्यास आवश्यक हुन्छ । यस्तो अवस्थामा दुई दिन बिदा दिएर विद्यार्थीको अध्ययन समय घटाउनु भनेको आजको तीव्र प्रतिस्पर्धामा अघि बढिरहेको विश्वबाट विद्यार्थीलाई टाढा पुर्याउनु जस्तै हो । विज्ञान, प्रविधि युगमा विद्यार्थीको भविष्यका लागि यो दुई दिने बिदा प्रत्युत्पादक बन्न सक्छ ।
निष्कर्ष
विद्यालय केवल पढाइ गर्ने स्थान मात्र होइन, अनुशासन, समय व्यवस्थापन र सामाजिक व्यवहार सिकाउने केन्द्र पनि हो । शिक्षा राष्ट्रको विकास, चेतना र सभ्यताको आधार हो भने विद्यालय विद्यार्थीको व्यक्तित्व निर्माण गर्ने महत्त्वपूर्ण संस्था हो ।
नेपालको वर्तमान शैक्षिक अवस्था, ठुलो पाठ्यभार, सीमित शैक्षिक पूर्वाधार तथा अनियमित विद्यालय सञ्चालनको अवस्थालाई हेर्दा दुई दिने बिदाले कार्य घण्टा र पाठ्यक्रम व्यवस्थापनमा गम्भीर चुनौती सिर्जना गरेको छ । यसले शिक्षणको गुणस्तर, पाठ्यक्रम सम्पन्नता, सिकाइको निरन्तरता तथा विद्यार्थीको शैक्षिक उपलब्धिमा नकारात्मक असर पार्ने सम्भावना देखिन्छ ।
वर्तमान शैक्षिक अवस्था, सामाजिक संरचना, आर्थिक अवस्था तथा विद्यार्थीहरूको व्यावहारिक वास्तविकतालाई हेर्दा हाल विद्यालयमा दिइरहेको दुई दिने बिदा त्यति व्यावहारिक, सकारात्मक र उपयुक्त देखिँदैन ।
(लेखक रुपन्देहीका शैक्षिक अगुवा हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण