बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

खुलामन्चमा बसपार्कसँगै पसल सर्दा समस्या

शुक्रबार, ३१ वैशाख २०७३, ०९ : ०६
शुक्रबार, ३१ वैशाख २०७३

काठमाडौँ– भृकुटीमण्डपस्थित पुरानो बसपार्कबाट आउने जाने सवारीसाधनलाई टुँडिखेल खुलामञ्चमा सारेसँगै व्यापारीले पसलसमेत सार्दा बसपार्कमा समस्या भएको छ ।

काठमाडौँ स्तम्भ (टावर) निर्माणको काम सुरु गर्नका लागि गत वैशाख २२ गते बुधबारदेखि पुरानो बसपार्कमा रहेको पार्किङ खुलामञ्चमा सारिएको थियो । यातायातका साधन सारेसँगै व्यापारीले खुलामञ्चमा पसल सारेका र सानो स्थान भएको हुँदा गाडी आवतजावत गर्नसमेत समस्या भएको चालक बताउँछन् ।

थानकोटदेखि बसपार्कसम्म बस चलाउने चालक रमेश कार्कीका अनुसार सानो ठाउँ छ त्यसमा पनि व्यापारीले विभिन्न किसिमको पसल राख्दा पार्किङ गर्ने स्थानको समस्या छ, यसमा महानगरको ध्यान जान आवश्यक छ ।

त्यसैगरी, लामो समयदेखि नयाँ बानेश्वरदेखि पुरानो बसपार्कको रुटमा माइक्रो चलाउँदै आउनुभएका विनोद खड्काका अनुसार सानो ठाउँमा पनि विभिन्न किसिमका पसल राख्दा यातायातका साधन आवतजावत गर्न निकै समस्या भएको छ । बसपार्कमा त ठाउँ ठूलो थियो, पसल राख्दा पनि त्यति समस्या थिएन, उनले भने ।

चालकले स्थानको अभाव भनिरहँदा खुलामञ्चमा पानीपुरी र चटपटेको व्यापार गर्दै आएका रामेछाप, सैलुङकी राममाया तामाङले भने बसपार्कमा गर्दै आएको व्यापार यस स्थानमा सारेकी हुँ, केही काम गरी खानै प¥यो, के गर्नु ? भने ।

“बसपार्कमा जति नै आम्दानी गर्दै आएकी छु, अहिले दैनिक रु एक हजार ५०० देखि रु दुई हजारसम्म आम्दानी गर्ने गरेको छु, त्यसमा करिब रु आठ सय नाफा बच्छ, यसले परिवारको खर्च धान्न सहयोग पुगेको छ”, राममायाले भनिन् ।

त्यसैगरी, सोही स्थानमा फलफूलको व्यापार गर्दै आउनुभएका महेश यादवले पनि बसपार्कमा जति नै आम्दानी गर्दै आएको बताए ।

यसैबीच, महानगरपालिकाले अन्य स्थानमा रहेका सडक छेउका पसल हटाउँदै आएको र खुलामञ्चमा रहेका सबै पसल तत्काल हटाउने जनाएको छ । हाल झन्डै २० वटा जति विभिन्न पसल खुलामञ्चमा सारिसकेको छ, जुन पसल यसभन्दा अघि पुरानो बसपार्कमा राखिने गरेको थियो ।

काठमाडौँ टावरको निर्माण अवधिभर यातायातका साधन खुलामञ्चबाट नै आवतजावत गर्ने कामपाको भनाइ छ । पार्किङ सारेसँगै स्तम्भ निर्माणको काम सुरु गरिने निर्माणको जिम्मा पाएको जलेश्वर, स्वच्छन्द र विकोइका प्रबन्धक मनोज भेटुवालका अनुसार यातायातका साधनलाई खुलामञ्च सारेसँगै काठमाडौँ टावर निर्माणको काम सुरु भइसकेको छ ।

रु तीन अर्ब ५० करोडको लागतमा निर्माण गरिने बाह्रतले काठमाडौं स्तम्भको निर्माण कार्य १८ महिनामा सक्ने लक्ष्य निर्माण कम्पनीले लिएको छ । स्तम्भले ओगट्नेमध्ये २० प्रतिशत स्थान पार्किङका लागि छुट्याइने बताइएको छ । सो भवनमा व्यवस्थित सिनेमा हल, पौडीपोखरी, रेस्टुराँ, बैंक तथा काठमाडौं महानगरपालिकाको वडा कार्यालय रहनेछ ।

निर्माणको जिम्मा पाएको कम्पनीले आफ्नो लगानीमा भवन निर्माण गरी ३० वर्षसम्म चलाउने, त्यसपछि काठमाडौँ महानगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने सम्झौता भएको बताइएको छ ।

सामुदायिक कुकुर व्यवस्थापन हुने

यसैबीच, काठमाडौँ महानगरपालिकामा २१ हजार ८५६ वटा सामुदायिक कुकुर रहेको र तिनीहरुलाई व्यवस्थापन गरिने बताइएको छ ।

उक्त कुकुरमध्ये सात हजार ४३१ पोथी कुकुर रहेका छन् भने अन्य सबै भाले कुकुर रहेको एक तथ्याङ्कमा उल्लेख गरिएको छ ।

सामुदायिक कुकुर व्यवस्थापनका लागि कामपा, ह्युमन सोसाइटी इन्टरनेसनल र द जेन गुडल इन्स्टिच्युटको सहकार्यमा सो यकिन तथ्याङ्क पत्ता लगाइएको हो । अहिले महानगरमा देखिएका कुकुरमध्ये १०१ कुकुर कुपोषणबाट र एक हजार १५९ कुकुर छालाजन्य रोगबाट ग्रसित भएको कामपाका जनस्वाथ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार मानिस र कुकुर बीचको सम्बन्धका कारण रोगी कुकुरमा रहेको रोग सर्न सक्ने भएको हुँदा महानगरले सहरी सामुदायिक कुकुरको व्यवस्थापनको कार्यलाई अघि बढाएको हो । तथ्याङ्कमा रोगी देखिएका कुकुरलाई उपचार गर्ने पनि कामपाको योजना रहेको छ ।

यसैबीच, केही समयअघि सिंहदरबारको कुकुर व्यवस्थापनको काम भने कामपाले सम्पन्न गरिसकेको जनाएको छ । कुकुर व्यवस्थापन गर्नका लागि कामपाका ३५ वडालाई आठवटा क्षेत्रमा विभाजन गरी काम गरेको कामपाले जानकारी गराएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप