बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

चीनमा भएको समझदारीबारे प्रधानमन्त्री र चिनियाँ सञ्चारमन्त्रीबीच छलफल

शुक्रबार, ३१ वैशाख २०७३, ११ : २६
शुक्रबार, ३१ वैशाख २०७३

काठमाडौं – नेपाल भ्रमणमा रहेका चीनका सञ्चारमन्त्री काई फुचाओले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा दुईहरुबीच द्विपक्षीय सम्बन्ध, आपसी हित र दुई देशबीचका सञ्चार माध्यमहरुको सहकार्य र विकास तथा पत्रकारहरुको भ्रमण आदान प्रदान लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।

भेटका अवसरमा चीनका सञ्चारमन्त्रीले चीन र नेपाल दुई असल छिमेकी भएको र दुई देशको सम्बन्ध ऐतिहासिक रहेको उल्लेख गर्दै चीनको सिसि टिभीले सात श्रृंखला लामो 'नेपाल जाऔं' भन्ने वृतचित्र निर्माण र प्रसारण गरेर नेपालप्रति चिनियाहरुको आकर्षण बढाएको बताए ।

उनले गत वर्ष चैत्रमा प्रधानमन्त्रीले गर्नुभएको चीन भ्रमणका बेला दुई देशबीच भएका सम्झौता र समझदारीको व्यबहारमा कार्यान्वयन गर्नका लागि पनि आफ्नो भ्रमण केन्द्रित रहेको बताए ।

उनले प्रधानमन्त्री ओलीको चीन भ्रमणका बेला चीनका राष्ट्रपतिसँग भएको भेटवार्ताले भविष्यमा दुई देशको सम्बन्धलाई थप विस्तार र विकास गर्न मद्दत पुगेको पनि बताए ।

चीनका सञ्चारमन्त्रीले दुई देशका सञ्चार क्षेत्रको विकास, नेपालको सञ्चार क्षेत्रको पूर्वाधार विकासमा सहयोग, तालिम र भ्रमण आदान प्रदान गर्न चीन सरकार नेपाल सरकारसँग सहकार्य गर्न तत्पर रहेको बताए ।

प्रधानमन्त्री ओलीले चीनका सञ्चारमन्त्रीको नेपाल भ्रमणले दुई देशको सम्बन्ध विकासमा थप सहयोग पुगेको उल्लेख गर्नुहुँदै सूचना प्रविधिको क्षेत्रमा चीनले गरेको प्रगतिको अनुभव र सहयोगबाट नेपालको आधुनिकिकरणमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्रीले नेपालमा पर्यटनको ठूलो सम्भावना रहेकोले चीनियाँ सञ्चार माध्यमहरुमार्फत चीनियाँ पर्यटकहरुलाई नेपाल भ्रमणमा प्रेरित गर्न आग्रह गर्नुभयो । उनले भने– हामी चीनको विकास र अनुभवबाट लाभ लिन चाहन्छौ । हामी चीनसँग सहकार्य र सहयोगको थप अपेक्षा गर्दछौ ।

प्रधानमन्त्रीले विभिन्न माध्यमबाट नेपाल चीनबीचको कनेक्टिभिटी रहेको र हिजो मात्र नेपाल र चीनबीच अप्टिकल फाइबरको सञ्जाल स्थापित भएको बताए ।

प्रधानमन्त्रीले आफ्नो चीन भ्रमणका बेला भएका सम्झौता र समझदारीको कार्यान्वयन गर्न मन्त्रीपरिषदले एक उच्चस्तरीय कार्यदल गठन गरेको जानकारी पनि चीनिया सञ्चारमन्त्रीलाई गराए । उनले भूकम्पका बेला चीन सरकारले पु¥याएको सहयोग र अहिले पुनर्निर्माणमा पु¥याइरहेको सहयोगको प्रशंसा पनि गरे ।

प्रधानमन्त्रीले चीनले लिएको वान बेल्ट वान रोडको नीतिले चीनको आफ्नो मात्र होइन, छिमेकीहरुको समेत विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्रीले निकट भविष्यमा चीनका महामहिम राष्ट्रपतिलाई नेपालमा स्वागत गर्न नेपाल सरकार र नेपाली जनता प्रतिक्षारत रहेको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप