बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

मधेसी गठबन्धनको आन्दोलनमा एमाओवादी नेताको समर्थन

शुक्रबार, ३१ वैशाख २०७३, १४ : ०४
शुक्रबार, ३१ वैशाख २०७३

काठमाडौं – मधेसी र जनजाति पार्टीको संघीय गठबन्धनले जेठ २ गतेदेखि गर्न लागेको काठमाडौं केन्द्रीत आन्दोलनमा एमाओवादी नेता गोपाल किराँतीले समेत समर्थन जनाएका छन् । शुक्रबार गठबन्धनले आयोजना गरेको पत्रकार सम्मेलनमा किराँती पनि उपस्थित भएर ऐक्यबद्धता जनाएका हुन् ।

यसअघि पनि किराँतीले पटक–पटक मोर्चाका नेताहरुलाई भेटेर आन्दोलनको बारेमा छलफल गरेका थिए । एमाओवादी स्थायी कमिटी सदस्य गोपाल किराँतीले किराँत संघर्ष समितिबाट गठबन्धनको काठमाडौंकेन्द्रित आन्दोलनमा सक्रिय सहभागी हुने बताइएको छ ।

किराँती ओली गठबन्धनको सरकार जतिसक्दो चाँडो ढाल्नुपर्ने लबिङमा समेत रहेका छन् ।

बैठक बहिस्कार गर्नेहरु पत्रकारसम्मेलनमा उपस्थित

गठबन्धनको संयोजक चयनको विषयमा विवाद देखिएपछि गठबन्धनको बैठक बहिस्कार गर्दै आएका तराई मधेस लोकतान्त्रिक पार्टी र सद्भावना पार्टीका नेताहरु समेत आजको पत्रकार सम्मेलनमा उपस्थित बनेका छन् ।

तमलोपाका तर्फबाट हृदेश त्रिपाठी पत्रकार सम्मेलनमा उपस्थित छन् भने सद्भावनाका अध्यक्ष राजेन्द्र महतो नै उपस्थित भएका छन् । तमलोपा अध्यक्ष महन्थ ठाकुर स्वास्थ्य उपचारको लागि भारतमा रहेका छन् ।

उपेन्द्रले राजेन्द्रलाई तानेर नजिकै बसाए

मधेसी मोर्चामा सँधै एकअर्काको प्रतिस्पर्धीका रुपमा हेरिएका उपेन्द्र यादव र राजेन्द्र महतोबीच आजको पत्रकारसम्मेलनमा राम्रो ‘केमेस्ट्रि’ देखिएको थियो ।

पत्रकार सम्मेलनमा केही बेर ढिला आएका राजेन्द्र महतोलाई यादवले नजिक बोलाए र तानेर आफ्नै नजिक राखे । उनले महतोलाई आफ्नै नजिक राख्न अरु नेताहरुलाई सर्न आग्रह समेत गरे ।

यसो त सद्भावनाले पनि गठबन्धन बैठक बहिस्कार गरेपछि यादवले एक हुल नेता महतोको घरमा फकाउन पठाएका थिए । दुवै नेताबीच लामो समयदेखि लभ–हेटको सम्बन्ध रहँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप