बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

हुलाक सेवा निष्प्रभावी : १९ हजार कर्मचारी कामविहीन

शुक्रबार, ३१ वैशाख २०७३, १५ : ५०
शुक्रबार, ३१ वैशाख २०७३

भक्तपुर– एकताका नेपालको सञ्चारसाधनमध्येको महत्वपूर्ण मानिने हुलाक सेवा हिजोआज निष्प्रभावी बन्दै गएको छ । त्यसताका हुलाकीको बाटो हेर्दै चिट्ठीपत्रको प्रतीक्षामा बस्ने मानिस हिजोआज मोबाइलमा रिङटोनको आवाज सुन्न हतारिएका छन् । सम्बन्धित व्यक्तिको रुचिअनुसार मोबाइल, फेसबुक, भाइबरलगायतका सामाजिक सञ्जालको व्यापक प्रयोगले हुलाक सेवाप्रति मानिसको रुचि घट्दो छ । सरकारले अति आवश्यकीय सेवामा राखेको हुलाक सेवामा जनशक्ति भने धेरै छन् । तर, भएको जनशक्तिलाई न धेरै काम छ न समय अनुकूल प्रविधिक ज्ञान दिने व्यवस्था मिलाएको छ । प्रविधिले ल्याएको परिर्वतनसँगै मोबाइल सेवा विस्तारले चिट्ठीपत्र पठाउने काम घट्दो रहेको जिल्ला हुलाक कार्यालय भक्तपुरकी प्रमुख सुभद्रा सुवेदीले जानकारी दिइन् । सुवेदीले भनिन्, ‘मोबाइल र सामाजिक सञ्जाल प्रयोगकर्ता बढेसँगै चिट्ठीपत्र लेख्ने नयन्यमात्रामा भए पनि संस्थागत भने यथावत् रहेको छ ।’ हुलाक सेवामा कार्यरत कर्मचारीलाई समयानुकूल बनाउन आवश्यकीय सीप र ज्ञान दिन नसकेको हुलाकका कर्मचारीको गुनासो छ । मुलुक गणतन्त्रात्मक भए पनि हुलाक भने उही पञ्चायतकालीन हुलाक ऐन–२०१९ अनुसार चलेको छ । उही परम्परातग शैलीमा हुलाक सेवा सञ्चालान हुँदा आममानिसले हुलाक सेवालाई बिर्संदै गएका हुन् ।

आमनेपालीबीच खबर आदन–प्रदान गर्ने महत्वपूर्ण सरकारी निकायलाई आवश्यक बजेटसमेत विनियोजन गर्न सरकारले आनाकानी गर्दा कतिपय संस्थागत कामसमेत गर्न समस्या भएको जिल्ला हुलाक कार्यालय भक्तपुर प्रमुख सुवेदीले बताइन् । समयअनुसार सेवालाई परिमार्जित गरी भएका जनशक्तिबाट उत्कृष्ट सेवा लिन प्राविधिक ज्ञान दिने व्यवस्था नगर्नु राज्यको कमजोरी भएको कर्मचारीहरू बताउँछन् । हिजोआज हुलाक कार्यालयले टिकट बिक्रीबाहेक कतिपय जिल्ला कार्यालयमा टेलिसेन्टर सेवा, बचत बैंक सेवा, गोश्वरा हुलाक कार्यालयले पार्सल सेवालगायतका सेवा प्रदान गर्दै आइरहे पनि सबै सर्वसाधारण जानकार छैनन् । कति छन्– नेपालमा हुलाक कार्यालय ? नेपालमा हाल पाँच क्षेत्रीय हुलाक, ७० जिल्ला हुलाक कार्यालय, आठ सय ४२ इलाका हुलाक र ३ हजार ७४ अतिरिक्त हुलाक कार्यालय रहेका छन् । कति छन्– हुलाक सेवा विभागमा कर्मचारी ? हुलाक सेवा विभागमा स्थायी र सहसचिवस्तरदेखि अतिरिक्त हुलाक सेवासम्ममा करिब १९ हजार कर्मचारी कार्यरत छन् । जसमा स्थायी कर्मचारी हुलाक सेवा विभागमा सहसचिव २, उपसचिव १३, शाखा अधिकृत वा सोसहर एक सय १६ जना रहेका छन् । यसैगरी, सहायक तहमा नायव सुब्बा तीन सय ३१, खरिदार एक हजार चार सय २७, कम्प्युटर अधिकृत ६२, हल्कारा श्रेणीविहीन दुई हजार ६ सय तीन, हुलाकी तीन हजार ६ सय ५३, सवारीचालक १९, कार्यालय सहयोगी तीन सय ४९ अन्य ४० जना गरी स्थायी कर्मचारी आठ हजार ६ सय पाँचजना रहेका छन् । अतिरिक्त हुलाक सेवामा श्रेणीविहीन हुलाक प्रतिनिधि तीन हजार ७४, पत्र वितरक तीन हजार २४, डाँकवहाक चार हजार सात सय ६० गरी १० हजार आठ सय ५८ जना रहेका छन् । (तस्बिर सौजन्य : हुलाक सेवाको वेबसाइट)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप