यस्ता व्यक्तिको बिग्रिन्छ कलेजो
कलेजो हाम्रो शरीरको एक महत्वपूर्ण र संवेदनशील अंग हो । कलेजो बिग्रिएमा शारीरिक प्रक्रियामा जटिलता आउँछ । कलेजोले आफ्नो भूमिका छोड्दै गएपछि हामीले खाएको पोषण शरीरमा लाग्न पाउँदैन । बिग्रिदै गरेको कलेजोको वेलैमा उपचार गरे काममा ल्याउन सकिन्छ । तर, अन्तिम अवस्थामा पुगिसकेपछि कुनै सीप लाग्दैन । यतिखेर एउटै उपाय हुन्छ, ट्रान्सप्लान्ट । त्यसैले कलेजोमाथि खेलाँची नगर्न विज्ञहरूले सुझाब दिइरहन्छन् । आखिर कस्ता व्यक्तिको कलेजो बिग्रिने खतरा बढी रहन्छ ? कलेजोरोग विशेषज्ञ प्रा.डा. अनिल मिश्रले जानकारी दिएका छन् :
जँड्याहा
जँड्याहा व्यक्तिको कलेजो खराब हुने सम्भावना निकै बढी हुन्छ । त्यसो त अल्कोहलले शरीरमा औषधिको काम पनि गर्छ । ठीक मात्रामा खाए शरीरले अल्कोहलबाट औषधिको मात्रा प्राप्त गरिरहेको हुन्छ । तर, अत्यधिक मदिरापान गर्ने जँड्याहालाई भने बेफाइदा गर्छ । अत्यधिक मदिरापान गर्नेको कलेजो बिग्रिने ८० प्रतिशत सम्भावना रहन्छ ।
लागुऔषध दुव्र्यसनी
लागुऔषध दुव्र्यसनीको पनि कलेजो चाँडै ड्यामेज हुने खतरा रहन्छ । इन्जेक्सनबाट शरीरमा लागुपदार्थ लिने यस्ता व्यक्तिमा हेपाटाइटिस बी र सी संक्रमणको सम्भावना अत्यधिक हुन्छ । यस्तो संक्रमण नै कलेजो ड्यामेज हुने कारण बन्छ । हेपाटाइटिस बी र सी कलेजो बिगार्ने दीर्घरोग हुन् ।
कुपोषित
मालन्युट्रिसन अर्थात् आवश्यक पौष्टिक खाना खान नपाएका व्यक्तिको पनि कलेजो बिग्रिने सम्भावना बढी हुन्छ । खान नपाएर कुपोषित व्यक्तिले कलेजो गुमाउनुपर्ने खतरा हाम्रोजस्तो गरिब देशमा बढी हुन्छ ।
आइरन बढी भएका कतिपय अवस्थामा
शरीरमा आइरनको उत्पादन ह्वात्तै बढ्नसक्छ । शरीरमा धेरै आइरन उत्पादन हुनुलाई हेमोक्रोमाटोसिस भनिन्छ । यस्तो अवस्थामा कलेजो बिग्रिने गर्छ । त्यसो त आवश्यक हेमोग्लोबिन निर्माण गर्न शरीरलाई आइरन आवश्यक पर्छ, तर धेरै भयो भने केलेजोका लागि फाइदाजनक हुँदैन । त्यसैले वेला–वेलामा शरीरमा आइरनको मात्रा जाँच गराइराख्नुपर्छ ।
ओभरडोज औषधि खाएमा
ओभरडोज औषधि पनि कलेजो बिगार्ने एउटा प्रमुख कारण हुने गर्छ । त्यसो त सबैखाले औषधिमाभन्दा पनि विशेष केही औषधिको हकमा यो लागू हुन्छ । दुखाइ र ज्वरो कम गर्ने कतिपय औषधि ओभरडोज भयो भने सीधै कलेजोमा असर गर्छ । अन्जानमै यसले कलेजो खाइदिन सक्छ ।
कलेजो बिग्रिए के हुन्छ ?
हामी धेरैलाई आफ्नै शरीरका पाटपुर्जाबारे चासो लाग्दैन । शरीरका महत्त्वपूर्ण र संवेदनशील अंगले गर्ने काम के हो ? कस्तो अवस्थामा बिग्रिने खतरा रहन्छ भन्ने खोजी धेरैलाई हुँदैन । यो हाम्रो ठूलो कमजोरी हो । कलेजो यस्तो महत्त्वपूर्ण अंग हो जसले खाएको खाना पचाएर शरीरमा पोषण दिन भूमिका खेल्छ । हाम्रो शरीरको २२ फिट लामो आन्द्राभित्र हुने सम्पूर्ण पाचनक्रिया मिलाउने काम कलेजोले नै गर्छ । कलेजो बिग्रियो भने कब्जियत तथा अपचको समस्या निम्तिन्छ । शरीरमा जन्डिस देखिनु, हातगोडा सुन्निनु, बान्ता हुनु, अस्वाभाविक तौल घट्दै जानुजस्ता लक्षण कलेजो बिग्रिएको संकेत हो । कलेजो बिग्रिएसँगै पाचनक्रियामा गडबडी हुँदा डकार आउने, पेट फुल्ने/ढुस्स हुने, ग्यास बन्ने समस्या देखिन थाल्छ । कहिलेकाहीँ भने लक्षण नै नदेखिन पनि सक्छ । रक्त परीक्षण गरेर मात्रै कलेजोको अवस्था बुझ्न सकिन्छ ।
बिग्रिएको कलेजो सपार्न सकिन्छ ? कलेजो पूरा ड्यामेजको अवस्थामा पुगेको छैन भने थप बिग्रिन नदिएर भूमिकामा ल्याउन सकिन्छ । अल्कोहलले बिग्रिँदै गरेको कलेजो पुरानै अवस्थामा फर्काउन सकिन्छ । औषधिले समस्यालाई समाधान गर्छ । तर, मदिरापान गर्न नछाडे या जटिल अवस्थामा पुगेमा कलेजो सपार्न सकिँदैन । धागोको रेसाजस्तो कडा हुने अर्थात् फ्याब्रोसिस अवस्थामा पुगेपछि कलेजोलाई उसको कर्ममा फर्काउन गाह्रो हुन्छ । यद्यपि, केही समयका लागि रोकथाम भने गर्न सकिन्छ । कलेजोले कामै गर्न नसकेपछि त ट्रान्सप्लान्टको विकल्प छैन । त्यसैले वेलावेलामा रगत परीक्षण गरेर कलेजोको अवस्था बुझिराख्नु नै एक मात्रै उत्तम उपाय हुन्छ ।
नयाँ पत्रिका दैनिकबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी वास्तु सम्मेलन सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न
-
गणेशकी श्रीमतीले काठमाडौँबाटै लिइन् नागरिकता
-
बागलुङ बजारका धारामा दशकौँदेखि धमिलो पानी
-
१० बजे १० समाचार : गणेश नेपालीको परिवारसँग ९ बुँदे सहमति, संविधान संशोधनमा बिच्किए पुराना दल
-
रवि–बालेन भेट : आत्मदाह घटनादेखि सुकुमबासी व्यवस्थापनबारे छलफल
-
फेरान टोरेसको पीएसजी स्थानान्तरण चर्चा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण