आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय
राजनीति

रवि–बालेन भेट : आत्मदाह घटनादेखि सुकुमबासी व्यवस्थापनबारे छलफल

तत्काल मन्त्रिपरिषद् पुनर्गठन नहुने
आइतबार, २८ असार २०८३, २१ : ५०
आइतबार, २८ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबिच आइतबार बिहान बुढानीलकण्ठमा भेटवार्ता भएको छ ।
  • उनीहरूबीच पछिल्लो विकसित घटनाक्रम, पार्टीको केन्द्रीय समिति पूर्णता, मन्त्रिमण्डल हेरफेर, बढ्दो निराशा र आत्मदाह घटनाबारे छलफल भएको छ ।
  • बैठकमा सुकुमबासी व्यवस्थापनमा मानवीय हिसाबले तत्काल व्यवस्था गरी सरकारले अघि बढ्नुपर्ने सुझाव लामिछानेले दिएका छन् ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबिच भेटवार्ता भएको छ । आइतबार बिहान सभापति लामिछाने निवास बुढानीलकण्ठमा दुई नेताबिच करिब तीन घण्टा छलफल भएको हो । 

उनीहरूबिच पछिल्लो विकसित घटनाक्रम, पार्टीको केन्द्रीय समिति पूर्णताको विषय र मन्त्रिपरिषद् हेरफेर,संविधान संशाेधनको विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले बताएको छ। 

सरकारलाई थप प्रभावकारी बनाउने, जनतामा बढ्दै गएको निराशालाई दीर्घकालीन रूपमा सम्बोधन गर्ने विषयमा छलफल भएको सचिवालय स्राेतले बतायाे। 

‘पार्टी सभापति र प्रधानमन्त्रीबिच यो नियमित भेटवार्ता हो । त्यही सिलसिलामा कहिले प्रधानमन्त्री निवास बालुवाटारमा, कहिले सभापति निवास बुढानीलकण्ठमा छलफल भइराख्छ । सरकारकालाई कसरी प्रभावकारी बनाउने, समाजमा बढ्दै गएको निराशालाई कसरी दीर्घकालीन समाधान गर्ने भन्ने विषयमा छलफल भयो,’दुई नेताबिच भएको छलफलबारे स्राेतले भन्याे, ‘पछिल्लो समय जुन आत्मदाहको घटना घटेको छ, आजको सरकारको कामले मात्र होइन, वर्षौँदेखिको फ्रस्टेसनको उपज हो। त्यसकै पछिल्लो परिणाम हो,गणेश नेपाली र आश्विन राउत लगायतको आत्मदाह प्रकरण । जे भए पनि क्षति भएको छ । परिवारमा पीडा थपिएको छ । त्यसलाई सरकारले गम्भीरतापूर्वक लिएको छ।’

प्रधानमन्त्रीको सचिवालयका अनुसार तत्काल मन्त्रिपरिषद् पुनर्गठन हुने छैन। यसैगरी पीएओलाई शक्तिशाली बन्दै गयो, मन्त्रालयमा हस्तक्षेप गर्‍यो भन्ने आरोप सत्य नभएको समेत स्रोतले बतायो । प्रधानमन्त्रीले शक्ति केन्द्रीकृत गर्न खोजेको नभई सम्बन्धित मन्त्रालयलाई शक्तिशाली बनाउने काममा लागिएको सचिवालय स्रोतले बतायो । 

यस्तै बैठकमा चितवनमा सम्पन्न प्रथम महाधिवेशनपछि पार्टी सभापति लामिछानेले ५१ जना मनोनीत गर्ने विषयमा पनि छलफल भएको थियो । बालेन समूहले नामावली नदिएर केन्द्रीय समिति विस्तार रोकिएको भन्ने जस्ता बाहिरी हलल सत्य नभएको सचिवालयको दाबी छ । 

‘दुई नेताबिच कुनै पनि किसिमको दरार आएको छैन, सभापति र प्रधानमन्त्रीबिचको समन्वयमा नै कामकारबाही अगाडि बढिरहेका छन्,’स्रोतले भन्यो । 

बैठकमा लामिछानेले सुकुमबासीको विषयमा समेत चासो राखेका थिए । लामिछानेले सुकुमबासी व्यवस्थापनमा मानवीय हिसाबले तत्काल व्यवस्था गरी सरकार अघि बढ्नुपर्ने सुझाव दिए । 

बैठकमा संविधान संशोधनको विषयमा समेत सामान्य छलफल भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप