सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मुगुमा धामी झाँक्रीको अभियान, छाउगोठ मुक्त सवै गाउँ

शुक्रबार, २९ पुस २०७३, ११ : ३५
शुक्रबार, २९ पुस २०७३

मुगु–मुगुको पिना गाविसका महिलाहरु चार बर्ष पहिलेसम्म महिनावारी (रजश्वला) हुँदा छाउगोठ पस्न बाध्य थिए । गाउँका गुरु, पुरोहित, धामी झाँक्री वा पढेलेखेका व्यक्ति नै किन नहुन्, सबैका घरमा घरमा थिए ‘छाउगोठका कथा ।’

तर अहिले मुगुमा छाउगोठको त्यो कथा फेरिएको छ । छाउगोठ यहाँका मान्छेको दिमागबाट पूर्ण रुपमा नहटेपनि यसको चलन भने अवस्य घट्दै गएको छ । छाउगोठ बसेर आधा जीवन बिताइसकेकी पिना–५ की देवीसरा भाम भन्छिन्, ‘पहिले छाउगोठ बस्दा निकै दुख भयो । समयमा खाना खान पनि पाइएन । भोकभोकै बन गएर फर्किन पथ्र्यो । तर अहिले समय फेरिएको छ । महिनावारी हुँदा छाउगोठमा राख्न हुन्न भन्ने धेरैले बुझिसकेका छन् ।’

महिनावारी हुँदा महिलालाई छाउगोठमा राख्न नपाउने कानूनी प्रावधान छ । यसकै लागि मध्य तथा सुदुर पश्चिमका गाउँगाउँमा थुपै्र सरकारी र गैर सरकारी निकायले काम पनि गर्छन् । तर उनीहरुको काम कागजमै सिमित बनेका प्रशस्तै उदाहरण छन् । कति गाउँमा छाउगोठ भत्काउने अभियान नचलेका पनि होइनन् तर अधिकांश यस्ता अभियान अभियानमै मात्र सिमित छन् । यसखाले अभियानमा गाउँका जान्ने बुझ्नेले नै सहयोग गर्दा बढि प्रभावकारी हुन्छ भन्ने कुरा मुगुको पिना गाविस उदाहरणीय बनेको छ ।

पिना गाविसमा शुरु भएको छाउगोठ मुक्त अभियानमा अहिले त्यहाँका धामीझाँक्रीहरु समेत लागि परेका छन् ।

स्थानीय धामी वीरसिंह नेपाली भन्छन्, ‘हामीमा परिवर्तन नआइ अरुमा परिवर्तन आउँन गाह्रो छ गाउँमा । छाउगोठमा महिलाहरुलाई राख्दा बलत्कारका धेरै घटनाहरु भए । बाउ बिनाका बच्चा पनि जन्मिए । त्यसैले अहिले सबैले घरभित्रकै एउटा कोठामा महिनावारी भएका महिलाहरुलाइ राख्ने व्यवस्था गरेका छन् । हामीले समय अनुसार चल्दै पुराना नराम्रा कुराहरुलाई हटाउँदै जानुपर्छ ।’

केहीवर्ष अघिसम्म महिनावारी हुँदा महिलालाई घरमा राख्ने कुराको धामीझाँक्रीले नै विरोध गर्थे । तिनै धामीझाँक्री अहिले गाउँमा सन्देशमूलक कार्यक्रम गर्दै हिंड्न् थालेका छन् ।

निश्चित उमेर भएपछी हुने महिनावारी एक प्राकृतिक प्रक्रिया हो भन्ने बुझाउन लागिपरेका धामीझाँक्रीहरुले छाउपडी निगरानीको लागि भनेर गाविसमा निगरानी समिती नै गठन गरेका छन् । गाउँका सबै धामीहरु यस समितिका सदस्य छन् ।

ठूला धार्मिक मूल्य मान्यता बोकेका ठाउँमा पनि महिनावरी भएका बेला दर्शन गर्दा केहि नहुने रहेछ भन्ने थाहा पाएपछी यस्तो बेलामा छुवाछुत गर्नु हुदैन भन्नेतर्फ लागेको बताउँछन् निगरानी समितीका अध्यक्ष तिर्थ बहादुर भाम ।

धामीहरु नै छाउपडी प्रथा न्यूनिकरणमा लागेपछि पिना गाविसमा अहिले छाउगोठ बस्ने महिलाको संख्या घटेको छ । बिगतमा आफुले पाएको दुःख सम्झँदै स्थानीय जानदेवी मल्ल भन्छिन्, ‘ पहिले गोठमा गाइ बाख्रासँग बस्नुपथ्र्यो । खरानीले लुगा धोइन्थ्यो । फोहोरको कारण रोग लाग्ने गथ्र्यो । अहिले त्यस्तो छैन । साबुन प्रयोग गर्छौं र सरसफाईमा ध्यान दिएका छौं । बल्ल हाम्रा सुखका दिन सुरु भए ।’

महिनावरी भएका बेला गरिने विभेदले किशोरी तथा महिलाहरुमा विभिन्न खालका नकारात्मक असर पर्ने अध्ययनहरुले देखाएका छन् । पिनाका महिला अहिले महिनावारी भएको बेला चुलोचौको त गर्दैनन् तर, घरभित्र आराम गरेर बस्न पाएका छन् । मुगुको पिनामा जस्तै अन्य गाउ र जिल्लामा पनि यस्तै सचेतना जगाउन सके छाउपडीको समस्या निर्मुल पार्न सहयोग पुग्नेमा विश्वस्त छन् पिनाबासी । भन्छन्– ‘ समाज परिवर्तनका लागि आफैबाट सुरुवात गर्नुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप