सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

विश्वकप डेब्युमा ट्युनिसियाविरुद्ध दुई गोल गरेका स्विडिस खेलाडी अयारीले किन खुसीयाली मनाएनन् ?

सोमबार, ०१ असार २०८३, १२ : ४५
सोमबार, ०१ असार २०८३

सारांश

  • स्विडेनका २२ वर्षीय यासिन अयारीले विश्वकप डेब्युमा ट्युनिसियाविरुद्ध दुई गोल गरे.
  • ट्युनिसियाली मूलका अयारीले पहिलो गोल गरेपछि 'सुजुद' गर्दै प्रार्थना गरे, तर दोस्रो गोलमा खुसीयाली मनाए.
  • अयारीले बाल्यकालदेखि खेल्दै आएको देश स्विडेनको प्रतिनिधित्व गर्ने निर्णय लिएका थिए.

मोन्टेरे । स्विडेनका लागि विश्वकपमा डेब्यु गरिरहेका २२ वर्षीय यासिन अयारीले फुटबलको सबैभन्दा ठुलो मञ्चमा यस्तो शानदार सुरुवात होला भन्ने सपनामा मात्रै चिताएका थिए होलान्।

मोन्टेरेमा भएको समूह ‘एच’ को खेलको पहिलो हाफको सातौँ मिनेटमै ट्युनिसियाको पोस्टको माथिल्लो कुना छिचोल्दै सानदार भलीमार्फत गोल गरेर अयारीले उत्तर अफ्रिकी प्रतिद्वन्द्वीविरुद्ध आफ्नो स्क्यान्डिनेभियन टोलीको खाता खोले।

तथापि, कलिला अनुहार भएका यी मिडफिल्डरले विश्वकप डेब्यु गर्ने अन्य युवा खेलाडीले जस्तो गोलको खुसीयाली मनाएनन्। बरु उनले आफ्ना दुवै हात उठाए अनि ‘सुजुद’ (मुस्लिमहरूले गर्ने प्रार्थनाको एक तरिका) गर्दै मैदानमा निहुरिए।

Yasin Ayari 2

यसको कारण के हो त? उनको रगतमै रहेको ट्युनिसियासँगको गहिरो सम्बन्ध नै यसको कारण हो। यही सम्बन्धका कारण चार वर्षअघिसम्म पनि उनी विपक्षी टोलीबाट खेल्ने सम्भावना थियो।

अयारी उत्तर अफ्रिकी मूलका हुन्। उनका बुवा ट्युनिसियाका हुन् भने आमा मोरक्कोकी हुन्, तर उनको जन्म स्विडेनमा भएको हो। १८ वर्षको उमेरमा यी होनहार फुटबलरले आफ्ना आमाबुवाको देशको साटो आफू जन्मेको देशको प्रतिनिधित्व गर्ने निर्णय लिए र उनका बुवाले पनि सो निर्णयलाई समर्थन गरे।

अयारीका बुवा अज्जोउजले स्विडिस पत्रिका ‘आफ्टोनब्लाडेट’ सँग भनेका थिए, ‘म चाहन्थेँ, उसले स्विडेनका लागि खेलोस्।’ उनले थपे, ‘उसलाई आफ्नो हेरचाह गर्ने देशलाई केही फिर्ता दिइरहेको छु भन्ने महसुस हुनुपर्छ।’

Yasin Ayari

स्क्यान्डिनेभियन देशमा बसाइँ सरेका अज्जोउजले आफ्नो छोरालाई ट्युनिसियाली टोलीबाट खेल्ने प्रस्ताव आएको खुलासा गरे पनि बुवा वा छोरा कसैले त्यसलाई विकल्पको रूपमा नलिएको बताए।

अयारीले सात वर्षको उमेरमा आफ्नै गृहनगर सोल्नाको ‘रासुन्डा’ क्लबको युवा टोलीबाट फुटबल खेल्न सुरु गरेका थिए। त्यसपछि उनी स्क्यान्डिनेभियन फुटबल जायन्ट ‘एआईके’ मा आबद्ध भए, जहाँबाट उनले सन् २०२० मा सिनियर टोलीमा डेब्यु गरेका थिए।

यी आक्रामक मिडफिल्डरलाई सन् २०२३ मा इङ्लिस प्रिमियर लिग क्लब ब्राइटन एन्ड होभ आल्बियनले अनुबन्ध गरेको थियो। सोही वर्ष उनले स्विडेनको राष्ट्रिय टोलीबाट पनि डेब्यु गरेका थिए।

ट्युनिसियाको रातो र सेतो जर्सीको साटो स्विडेनको पहेँलो र नीलो जर्सी लगाउने आफ्नो निर्णयबारे प्रस्ट पार्दै अयारीले आफूले बाल्यकालदेखि नै खेल्दै आएको देशको प्रतिनिधित्व गरिरहनु ‘स्वाभाविक मात्र’ भएको बताए।

गत डिसेम्बरमा २०२६ को विश्वकप ड्र सार्वजनिक हुँदा आफ्नै बुवाको देशविरुद्ध खेल्नुपर्ने विडम्बना अयारीले पनि राम्ररी बुझेका थिए।

‘हामी उनीहरूसँगै एउटै समूहमा पर्नु निकै अचम्मको कुरा थियो,’ उनले भनेका थिए।

ट्युनिसियामाथि स्विडेनको सानदार जितमा यी युवा प्रतिभा उत्कृष्ट खेलाडी बने। ९५ औँ मिनेटमा अर्को व्यक्तिगत गोल गर्दै उनले आफ्नो टोलीको दबदबापूर्ण प्रदर्शनलाई निष्कर्षमा पुर्‍याए।

ट्युनिसियाको पेनाल्टी बक्सको छेउमा बल पाएका अयारीले त्यसलाई पोस्टको अर्को कुनामा प्रहार गर्दै आफ्नो विश्वकप डेब्यु खेलमै दोस्रो गोल गरे।

यसपटक भने उनले खुसीयाली मनाए र उत्साहित स्विडिस दर्शकहरूको तालीको स्वागत गरे।

Yasin Ayari 3

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप