सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

मोदीलाई कालोमोसो दल्न २५ लाख पुरस्कारसहितको फतवा

शुक्रबार, २९ पुस २०७३, १५ : ५०
शुक्रबार, २९ पुस २०७३

कोलाकता – रातो दाह्री र कपताल उनको पहिचान हो । कोलकाताका नुर उर रहमान बर्काती तिखो बोली र कडा अडानका कारण पनि चर्चित छन् ।

शहरको चर्चित तिपु सुल्तान मस्जिदका प्रमुख बेलाबेला आफूले जारी गर्ने फतवा वा धार्मिक निर्देशन/उर्दीका कारण पनि हेडलाइनमा आउने गरेका छन् ।

गत हप्ता जारी गरेको यस्तै एक फतवाको कारण उनी अहिले चर्चामा छन् । उनले अन्य कोही नभएर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध फतवा जारी गरेका हुन् ।

मोदीको नोटबन्दीका कारण जनताले दुःख पाएको र गरिबीतर्फ धकेलिएको भन्दै बर्कातीले मोदीको मुखमा कालोमोसो दल्नेलाई २५ लाख भारु इनामसहितको फतावा जारी गरेका छन् ।

उनको यो फतवाले निकै विवाद सृजना गरिरहेको छ । मोदीको पार्टी भारतीय जनता पार्टीले प्रहरीमा उजुरी समेत दर्ता गर्दै उनलाई तत्काल पक्राउ गर्न माग गरेको छ ।

तर, बर्कातीलाई यसले कुनै फरक परेको छैन । ‘बंगालका फतवा म्यान’ भनेर चिनिएका उनी अझै आफ्नो अडानमा कायम छन् ।

‘म मोदीविरुद्ध जारी गरेको मेरो फतवामा अडिग छु... उनी बैंक र एटिमको लाइनमा बस्दा मृत्यु भएका १२७ जनाको हत्याको जिम्मेवार छन्,’ हिन्दुस्तान टाइम्ससँग कुरा गर्दै उनले भने ।

बरु, फतवा जारी गरेपछि विभिन्न सहरबाट आफूलाई धन्यवादको सन्देश आएको उनी दाबी गर्छन् ।

मोदीलाई निशाना बनाउनअघि उनले पश्चिम बंगालका बिजेपी अध्यक्ष दिलिप घोषलाई निशाना बनाएका थिए । पश्चिम बंगालका मुख्यमन्त्री ममता बेनर्जीविरुद्ध गरेको टिप्पणीका लागि उनीविरुद्ध फतवा जारी गरिएको थियो । ‘घोषलाई ढुंगाले हानेर बंगालबाट खेदाउनुपर्छ,’ तिपु सुल्तान मस्जिदको प्रमुखका रुपमा तीन दशक बिताएका बर्काती भन्छन् ।

यसअघि उनको निशानामा सलमान रुसदी, तस्लिमा नसरिन, तारेक फथेहलगायत परिसकेका छन् ।

नसरिनविरुद्ध त उनले सन् २००४, २००६ र २००७ गरी तीनपटक फतवा जारी गरिएको थियो । हरेक पटक बर्कातीले उनको टाउको मूल्य बढाएका थिए ।

पश्चिम बंगालमा ३० प्रतिशत मुस्लिम समुदाय रहेको कारण भोट बैंक बचाउन त्यहाँको सरकारले बर्कातीको फतवालाई नजरअन्दाज गर्दै आएको छ । बरु, कोलाकता प्रहरीले उनलाई २४ सै घण्टा सुरक्षा दिइरहेको हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप