सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सिक्का निष्काशनदेखि लाइसेन्सको व्यवस्था गर्न सांसदहरुको माग

शुक्रबार, २९ पुस २०७३, १६ : ०७
शुक्रबार, २९ पुस २०७३

काठमाडौँ - व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समयमा सांसदहरूले रु एक र दुईका सिक्का निष्काशनदेखि चाँडो सवारी चालक अनुमतिपत्र (लाइसेन्स) उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

उनीहरुले जुम्लाको चन्दननाथ मन्दिरबाट चोरी भएकामध्ये फेला पार्न बाँकी मूर्तिको खोजीमा लाग्नुपर्नेमा जोड दिएका थिए । यसैगरी सर्वसाधारणले सहजरुपमा लाइसेन्स नपाएकाले सरकारले चाँडो उपलब्ध गराउने व्यवस्था गर्न र किसानलाई धानको उचित मोल उपलब्ध गराउन पनि सरकारको ध्यानाकर्षण गराएका थिए ।

त्यसरी सरकारको ध्यानाकर्षण गराउनेमा सांसद बलबहादुर महत, वंशीधर मिश्र, भक्तबहादुर खपाङ्गी, भरतकुमार साह र ममता गिरी थिए।

नेपाली काँग्रेसका दीपकप्रसाद कुइँकेलले स्थानीय निर्वाचन यथाशीघ्र गराउने व्यवस्था हुनुपर्ने बताउँदै स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन पुनरवलोकन हुनुपर्ने माग गरे ।

नेकपा एमालेका भवानीप्रसाद खापुङले निजामती सेवाका कर्मचारीको सेवाकाल बढाउन नहुने अभिमत प्रकट गर्दै तेह्रथुमको सङ्क्रान्ति बजारका अग्निपीडितलाई सहयोग गर्न माग गरे ।

नेपाली काँग्रेसका सीता गुरुङले पनि उक्त बजारका अग्निपीडितलाई पर्याप्त राहत सामग्री उपलब्ध गराउन र विस्थापित परिवारलाई पुनर्वासको व्यवस्था अविलम्ब गर्न माग गरे ।

नेकपा माओवादी केन्द्रका सूर्यप्रकाश बालाराईले सरकार र विपक्षी मिलेर राष्ट्र विकासमा लाग्नुपर्नेमा जोड दिए ।

सङ्घीय समाजवादी फोरम नेपालका शिवजी यादवले किसानका समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्ने माग गरे।

राप्रपाका सांसद कान्ता भट्टराईले नेपालको राष्ट्रिय एकताका सूत्रधार पृथ्वीनारायण शाहको योगदानलाई राज्यले बिर्सन नहुनेमा जोड दिइन् ।

तराई मधेस लोकतान्त्रिक पार्टीका जङ्गीलाल रायले स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन नसच्याए तराईमा आन्दोलन हुने चेतावनी दिए ।

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले १४ प्रदेश उपयुक्त हुने बताउँदै नेपालको आन्तरिक मामिलामा वैदेशिक हस्तक्षेप अन्त्य गर्ने व्यवस्था हुनुपर्ने माग गरे।

तराई मधेस सद्भावना पार्टीका महिन्द्रराय यादवले स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनप्रति असहमति जनाउँदै स्थानीय तहका समस्या उक्त प्रतिवेदनले समाधान नगर्ने बताए।

नेपाल परिवार दलका एकनाथ ढकालले बूढीगण्डकी जलविद्युत् आयोजनाका पीडितलाई मुआब्जा वितरणमा असमानता रहेको भन्दै त्यसलाई पुनरवलोकन गर्नुपर्ने बताए ।

नेपा राष्ट्रिय पार्टीका लक्ष्मण राजवंशीले विदेशी कूटनीतिक नियोगले नै नेपालीलाई छात्रवृत्ति उपलब्ध गराउने घोषणा गर्नु मुलुकका निम्ति दुर्भाग्यको विषय भएकाले सरकारले त्यसतर्फ ध्यानदिनुपर्ने माग गरे ।

नेकपा एमालेका पाँचकर्ण राईले स्थानीय तह पुनःसंरचना आयोगले स्थानीय जनताको भावना विपरीत प्रतिवेदन पेस गरेकामा आपत्ति जनाउँदै उक्त प्रतिवेदन सच्याउन माग गरे ।

नेकपा माओवादी केन्द्रका कर्णबहादुर विकले काभ्रेका अजित मिजार र लक्ष्मी परियारको शव शिक्षण अस्पतालमा राखिएको धेरै समय भएकाले अन्त्येष्टिको व्यवस्था र दोषीलाई कारबाही गर्न विलम्ब गर्न नहुने बताए ।

नेकपा एमालेका गुरुप्रसाद बुर्लाकोटीले धादिङका वन क्षेत्रमा बसोबास गर्दै आएका सर्वसाधारणले दुःख पाएको भन्दै राज्यले तिनका समस्या समाधान गर्नुपर्नेमा जोड दिए । वनका कर्मचारीले स्थानीयवासी लाई दुःख दिएको उनको आरोप थियो ।

नेकपा माओवादी केन्द्रका सुरेन्द्रप्रसाद जयसवालले जनतान्त्रिक तराई मुक्ति मोर्चालगायत भूमिगत समूहबाट तराई क्षेत्रमा मारिएकाहरुका परिवारजनलाई राहत दिनुपर्ने माग गरे । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप