सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

एकैसाथ तीन कृति विमोचन गर्दै प्रधानमन्त्रीले भने, 'नेताहरु सफल साहित्यकार बन्दै गएको देख्दा डाहा लाग्यो'

शुक्रबार, २९ पुस २०७३, १७ : ३५
शुक्रबार, २९ पुस २०७३

काठमाडौँ -  साहित्यकार बाबा बस्नेतका कवितासङ्ग्रह ‘युद्धको बाँसुरी’ र गीति एल्बम ‘बिहानी’ तथा सरला शर्माको संस्मरणात्मक कृति ‘स्मृतिका छालहरु’ आज यहाँ विमोचन गरिएको छ ।

नेपाल देशभक्त गणतान्त्रिक मञ्चले आज यहाँ आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ती कृति विमोचन गर्दै साहित्यबाट प्रेरित नभएको राजनीति र राजनीतिक उद्देश्य कत्ति पनि नभएको साहित्य लङ्गडो हुने विचार व्यक्त गरे ।

प्रधानमन्त्री दाहालले राजनीतिक नेताहरु सफल साहित्यकार बन्दै गएको भन्दै आफूलाई डाहा लाग्ने गरेको अनुभूति पनि सुनाऐ । विमोचन गर्दै उनले आफनैं पार्टीका नेता दिनानाथ शर्माले समेत एक पछिअर्को साहित्यिक कृति निकालेको उल्लेख गर्दै आफूलाई पनि त्यतै लागुजस्तो लाग्ने गरेको पनि खुलाए ।

प्रधानमन्त्री दाहालले राष्ट्र, जनता र सामाजिक न्यायको निम्ति माओवादी आन्दोलन भएको र त्यसबारे साहित्यिक कृतिहरु प्रकाशित हुँदै जानु आफनो लागि गौरवको विषय भएको दावी पनि गर्नु भयो । कविता संग्रहमा माओवादी आन्दोलनको औचित्य पुष्टि गर्ने प्रयास गरिएको छ ।

उनले माओवादी आन्दोलनको आदर्शलाई आत्मसात् गर्नेहरु मात्र निरन्तर आन्दोलनमा रहेको धारणा व्यक्त गर्दै केही पाउँछु र लिन्छु भन्ने स्वार्थले आन्दोलनमा प्रवेश गरेका व्यक्ति पछि बिस्तारै बाहिरिँदै गएको बताए ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का नेता दीनानाथ शर्माले राजनीति अघि बढाउन कलासाहित्यको भूमिका महत्वपूर्ण रहेको औँल्याए ।

कार्यक्रममा मञ्चका महासचिव राजु आचार्य, कवि प्रथालगायतले साहित्यले समाजको समसामयिक वस्तुस्थितिको अवगत गराउनाका समाजमा विद्यमान विकृति उजागर गर्न मद्दत पुग्ने बताए ।

कार्यक्रममा समाजका विविध क्षेत्रमा योगदान पु¥याएबापत नवीन जोशी, जयबहादुर चन्द, अस्मिता सुमार्गी, तेजेन्द्र खड्का, सुनिल कटुवाल, अनिल ढुङ्गाना, उत्तमकुमार परियार र जितबहादुर विकलाई सम्मान गरिएको थियो ।

त्यस्तै समाज रुपान्तरणका लागि माओवादी केन्द्र्रसँग आबद्ध रही साहित्य, कला र पत्रकारिताका क्षेत्रबाट योगदान गर्ने करिब २५ नारी व्यक्तित्वलाई पनि सम्मान गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप