सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

धोनीले कप्तानी छाडेका हैनन्, छाड्न बाध्य पारियो : रिपोर्ट

शुक्रबार, २९ पुस २०७३, १९ : ०६
शुक्रबार, २९ पुस २०७३

नयाँ दिल्ली – महेन्द्रसिंह धोनीले स्वेच्छाले भारतको एकदिवसीय क्रिकेट टोलीको कप्तानबाट राजीनामा नदिएको भारतीय मिडियाले दाबी गरेको छ ।

सेलेक्टरहरुले धोनीलाई उक्त निर्णय लिन बाध्य पारेको हिन्दुस्तान टाइम्समा रिपोर्ट प्रकाशित भएको छ ।

गत बुधबार भारतीय क्रिकेट बोर्डले टी–२० र एकदिवसीय गरी दुई पटकको विश्वकप विजेता कप्तानले एकदिवसीय र टी–२० को कप्तानबाट राजीनामा दिने तर खेललाई जारी राख्ने घोषणा गरेको बताएको थियो ।

तर, स्रोतले भने सेलेक्सन कमिटीका प्रमुख एमएसके प्रसादले ३५ वर्षीय धोनीलाई रन्जी ट्रफीको सेमिफाइनलका क्रममा नागपुरमा भेटेर उक्त निर्णय लिन दबाब दिएको बताएको छ ।

बोर्डले निर्णय सार्वजनिक गरेपछि प्रसादले धोनीको निर्णयलाई स्वागत गर्दै उनले सही समयमा निर्णय लिएको बताएका थिए । उनले नयाँ कप्तान विराट कोहलीले टेस्टमा जस्तै एकदिवसीयमा पनि त्यस्तै सफलता दोहोराउने विश्वा व्यक्त गरेका थिए ।

स्रोतका अनुसार झारखण्डबाट रन्जी ट्रफी नखेलेको कारण बिसिसिआईका सदस्यहरु धोनीबाट रुष्ट थिए । जसले गर्दा उनले यसमा बोर्डको पनि समर्थन पाएनन्् ।

धोनीलाई बिसिसिआईका पूर्व प्रमुख एन श्रीनिवासनको निकट रहेको मानिन्थ्यो । जसले गर्दा सन् २०१४ मा इंग्ल्याण्डमा बेहोरेको लज्जास्पद पराएपछि धोनीलाई टेस्ट कप्तानबाट हटाउन खोजिँदा उनले जोगाएका थिए ।

पूर्व छनौटकर्ता मोहिन्दर अमरनाथ धोनीलाई हटाउन चाहन्थे तर श्रीनिवासनले उल्टै अमरनाथलाई नै हटाए ।

यता, छनौट समितिले भने सन् २०१९ को विश्वकपलाई ध्यानमा राखेर विराटलाई कप्तानमा रुपमा अगाडि बढाउने निर्णय गरेको बताइन्छ । त्यतिबेला धोनी ३९ वर्षका हुनेछन् । जसले गर्दा धोनीको स्थानमा विराट उपयुक्त कप्तान हुने उनीहरुले ठहर गरेका थिए ।

धोनीमाथि पनि दबाब बढ्दै गएको थियो । कोहलीले भारतलाई लगातार ५ वटा टेस्ट सिरिजमा जित दिलाएका थिए भने एकदिवसीय टोलीको खेल भने त्यति सफल भइरहेको थिएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप