घर निर्माण गर्दा सोचेअनुरूप कोठा किन हुँदैन ?
हेमा लामा, बौद्ध फर्निचर
जीवनको अति आवश्यक तथा महत्वपूर्ण आवश्यकता हो घर । सबैको चाहना हुन्छ आफ्नो घर सुन्दर, आकर्षक तथा व्यवस्थित होस् । सोही चाहना पूरा गर्न विभिन्न उपाय अपनाउने गरिन्छ । तर, पनि कहिलेकाहीँ विविध कारणले गर्दा घर आफ्नो चाहनाअनुसार बन्दैन । जसले गर्दा खल्लो महसुस पनि हुन्छ । त्यसैले घरको नक्सा बनाउने कार्यदेखि अन्तिम फिनिसिङ नगरुन्जेलसम्म इन्जिनियर, आर्किटेक्चर र इन्टेरियर डिजाइनर तथा आफ्नो पनि उपयुक्त संयोजन आवश्यक हुन्छ । हामी नक्सा तयार गर्ने क्रममा बाहिरी डिजाइनलाई मात्र आकर्षक बनाउन ध्यान दिन्छौँ । इन्टर्नल स्पेस म्यानेजमेन्टमा ध्यान नदिँदा कोठा, प्यासेज, भर्याङ तथा झ्यालढोका उपयुक्त आकारका नबन्न सक्छन् । सोही कारण नक्सा बनाउने क्रममा नै बाहिरी तथा भित्री दुवै डिजाइनमा ध्यान दिनुपर्छ । त्यस्तै घरका अन्य सदस्यहरूसँग पनि सरसल्लाह गरेर सबैलाई सहज र आवश्यक पर्ने कोठा बनाउनुपर्छ । घरको निर्माण आफ्नो इच्छा तथा चाहनाअनुसार हुन नसक्नुका केही कारण यस्ता छन्:
जग्गाको पूर्व दक्षिण भेगमा लामो समयसम्म घाम लागिरहने हुँदा सो क्षेत्रलाई बढी उपयोग गर्नुपर्छ । यदि हामी वास्तुशास्त्रमा विश्वास गर्छौं भने नक्सा कोर्ने वेलामा नै यस विषयमा विशेष ध्यान दिनुपर्छ । घर निर्माण गर्दा लगानी मात्र गरेर हुँदैन । सम्बन्धित विषयमा आफ्नो ज्ञान र आफूसँग भएको समय पनि महत्वपूर्ण हुन्छ । आफैँले घर बनाउने निर्णय गरिसकेपछि सर्वप्रथम एक कुशल वा दक्ष निर्माण व्यवसायीको समूहलाई जिम्मा दिनु सजिलो हुन्छ । हिजोआज सहज र सस्तो हुने होडबाजीमा सबै क्षेत्रमा विज्ञ नभएका ठेकेदारलाई घर बनाउन जिम्मा दिने प्रचलन छ । यसो गर्दा घर निर्माणमा धेरै त्रुटि हुन सक्छन्, जस्तै: एकै व्यक्तिले कार्पेन्टर, पेन्टिङ र प्लम्बिङको काम गर्दा कुनै पनि काममा फिनिसिङ नआउन सक्छ । घर निर्माण सम्पन्न भइसकेपछि घरलाई विभिन्न पेन्टले रंग्याएको देखेर दंग पर्छौं । तर, प्राविधिक रूपमा धेरै त्रुटि रहन सक्छन् । त्यसैले घरधनी आफैँले पनि समय–समयमा स्थलगत निरीक्षण गर्नुपर्छ ।
घरको प्यासेज वा ढोकाहरू सानो बनाएमा ठूला सामान ओसारपसार गर्न तथा दैनिक कार्यमा पनि असहज हुन्छ । कहिलेकाहीँ भर्याङको चौडाइ पनि घरको तलाअनुसार फरक भएको पाइन्छ, जस्तै: ग्राउन्डफ्लोरमा ४२ इन्च हुँदै टपफ्लोर ४८ इन्चसम्म पुगेको भेटिएको छ । साथै खुड्किला अर्थात् RISER को उचाइ पनि चाहिनेभन्दा बढी राखिएको पाइन्छ । यसको उचाइ सामान्यतया ७ इन्चको भए राम्रो मानिन्छ । किचेन बनाउने क्रममा पनि किचेनको ग्रेनाइटको लेभल मिलेको हुँदैन । ग्रेनाइटको फ्लोर सिंकतर्फ भिरालो हुनुपर्नेमा अगाडिपट्टि भिरालो बनाएको पाइन्छ । जसले गर्दा पानी आफू भएतिर आउँछ । किचेनमा धुवा जाने सिस्टम, प्लम्बिङ सिस्टम, इलेक्ट्रिक सिस्टम आफ्नो आवश्यकताअनुसार छ वा छैन भन्ने विषयमा घरधनी आफैँले निरीक्षण गर्नुपर्छ । किचेन, बाथरुम वा पानीको बढी प्रयोग हुने स्थानमा फर्निचरहरू वाटरप्रुफ लगाउनुपर्छ । कोठामा फर्निचर राख्ने क्रममा कहिलेकाहीँ फ्लोर लेभल नमिल्दा समस्या हुन्छ । त्यसैले कोरामसिनो गर्ने क्रममा नै फ्लोरलेभल चेक गर्नुपर्छ । बाहिरी आवरणमा पर्ने ढोकाहरू घामपानीलेअसर नगर्ने वेदरप्रुफ हुनुपर्छ । त्यस्तै, कोठामा झ्यालको डिजाइन गर्दा उचित स्थान चयन गर्नुपर्छ । उज्यालो वा आकर्षक बनाउन मात्र ध्यान जाँदा फर्निचर राख्ने क्रममा झ्याल छेकिन सक्छ । आधुनिकताले छोएसँगै हिजोआज वासिङ मेसिनको प्रयोग बढेको छ । त्यसैले अहिले प्रयोग नगरिए पनि भविष्यलाई मध्यनजर गर्दै लन्ड्रिरुमको व्यवस्था गर्नुपर्छ । कतिपयले देखासिकी वा अरूको कुरा सुनेर घरको बाहिरी डिजाइनमा अनावश्यक बुट्टाहरू राख्ने गर्छन् । सोहीअनुसार भित्री सजावटमा सामञ्जस्यता नहुुँदा घर आकर्षकभन्दा कुरूप देखिएर लगानी पनि खेर जान्छ । घर सजावटको समय आएपछि देखासिकी बजारमा जे पाइन्छ त्यही ल्याउने गर्नु हुँदैन । त्यसैले अधिकतम समय निकालेर आफ्नो बजेटलाई समेत हेरेर आवश्यक सामग्री मात्र खरिद गर्नुपर्छ । सोही क्रममा फ्लोरिङ, फर्निसिङ, फर्निचर, पर्दा र अन्य सामग्रीको सेटिङ मिलाउन सके धेरै राम्रो हुन्छ । अतः घर निर्माण गर्ने निर्णय गरिएको छ भने व्यक्ति आफैँले घरको नक्सा बनाउँदादेखि अन्तिमसम्म संयम भएर अधिक समय निकाल्नुपर्छ । यसरी हरेक पक्षमा अध्ययन र निरीक्षण गरिएमा आफ्नो बजेटभित्रै बसेर आकर्षक र सुन्दर घर बनाउन सकिन्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौलापुरमा प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै प्रधानमन्त्री बालेनको पुतला दहन
-
प्रधानमन्त्रीसँग निर्माण व्यवसायीको गुनासो : म्याद थप, भुक्तानी र ठेक्का व्यवस्थापन चुनौती
-
विश्वकप क्वार्टरफाइनल अघि फ्रान्स र मोरक्को दुवै मारमा
-
स्ट्रेट अफ होर्मुजमा जहाज आवागमन ठप्प
-
प्रतिनिधि सभाकाे शून्य समयमा कसले के भने ?
-
निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण