बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

ट्रम्पको घोषणा : युक्रेनलाई प्याट्रियट क्षेप्यास्त्र अवरोधक उत्पादनको अनुमति दिइने

बिहीबार, २५ असार २०८३, १४ : १६
बिहीबार, २५ असार २०८३

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई प्याट्रियट क्षेप्यास्त्र अवरोधक उत्पादन गर्न लाइसेन्स दिइने घोषणा गरेका छन्।
  • टर्कीको राजधानी अङ्कारामा आयोजित नाटो शिखर सम्मेलनका क्रममा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको भेटमा ट्रम्पले यो अनुमतिबारे बताएका हुन्।
  • ट्रम्पले प्याट्रियट प्रणालीलाई प्रतिरक्षात्मक हतियार बताउँदै युक्रेनले छोटो समयमै आफ्नै अवरोधक उत्पादन सुरु गर्न सक्ने विश्वास व्यक्त गरे।

वाशिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई अमेरिकी ‘प्याट्रियट’ क्षेप्यास्त्र अवरोधक (इण्टरसेप्टर) उत्पादन गर्न लाइसेन्स प्रदान गरिने घोषणा गरेका छन्। लामो समयदेखि यस्तो अनुमति माग्दै आएको युक्रेनका लागि यसलाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

टर्कीको राजधानी अङ्कारामा आयोजित नाटो शिखर सम्मेलनका क्रममा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको भेटमा ट्रम्पले अमेरिका युक्रेनलाई प्याट्रियट प्रणाली उत्पादनको अनुमति दिन तयार रहेको बताएका हुन्।

‘हामी तपाईंहरूलाई प्याट्रियट उत्पादन गर्न लाइसेन्स दिनेछौं। यो निकै राम्रो कुरा हो। त्यसपछि हामीले पर्याप्त हतियार दिएनौं भनेर गुनासो गर्नुपर्ने अवस्था रहनेछैन,’ ट्रम्पले भने।

उनले प्याट्रियट प्रणालीलाई आक्रमणकारी नभई प्रतिरक्षात्मक हतियार भएको उल्लेख गर्दै यस्ता हतियारलाई प्राथमिकता दिने बताए। यद्यपि, लाइसेन्स कार्यान्वयन, उत्पादन प्रक्रिया र समयसीमाबारे भने उनले थप विवरण खुलाएनन्।

यो भेटघाट ट्रम्पले विगतमा जेलेन्स्कीप्रति व्यक्त गरेका कडा अभिव्यक्तिभन्दा फरक रहेको विश्लेषण गरिएको छ। यसअघि ट्रम्पले जेलेन्स्कीलाई ‘कृतघ्न’ भन्दै आलोचना गरेका थिए। तर अङ्कारामा उनले आफू र जेलेन्स्कीबीच अहिले धेरै राम्रो सम्बन्ध रहेको बताए।

ट्रम्पका अनुसार रुस र युक्रेन दुवै युद्ध अन्त्य गर्न इच्छुक छन्। उनले सोही दिन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि वार्ता गर्ने जानकारी दिए।

‘हामीले धेरै युद्ध समाधान गरेका छौं। यो युद्ध समाधान गर्न सजिलो होला भन्ने लागेको थियो, तर पुटिन पनि कठिन व्यक्ति हुन् र जेलेन्स्की पनि,’ ट्रम्पले भने।

जवाफमा जेलेन्स्कीले युद्ध अन्त्यका लागि आवश्यक सबै प्रयास गर्ने विश्वास व्यक्त गरेका थिए।

उता, रुसको विदेश मन्त्रालयले नाटो शिखर सम्मेलनबाट युक्रेनलाई थप सैन्य सहायता दिने निर्णयको आलोचना गर्दै त्यसले विनाशकारी परिणाम निम्त्याउन सक्ने चेतावनी दिएको छ।

वार्तासम्बन्धी जानकार स्रोतहरूका अनुसार प्याट्रियट अवरोधकको उत्पादन प्रारम्भिक चरणमा जर्मनी वा अन्य युरोपेली मुलुकमा हुन सक्ने सम्भावना छ। यसले रुसबाट युक्रेनभित्र रहेका उत्पादन केन्द्रमाथि आक्रमण हुने जोखिम कम गर्ने विश्लेषण गरिएको छ।

पत्रकारहरूले अमेरिकाले तत्काल थप प्याट्रियट अवरोधक युक्रेन पठाउनेबारे सोध्दा ट्रम्पले केही प्रणाली तत्काल उपलब्ध गराउन सकिने बताएका थिए। उनले अमेरिकासँग पनि प्याट्रियट प्रणाली सीमित मात्रामा रहेको र आफ्नै सुरक्षाका लागि पनि ती आवश्यक रहेको बताए।

साथै, आवश्यक प्रविधि उपलब्ध गराइएपछि युक्रेनले छोटो समयमै आफ्नै प्याट्रियट अवरोधक उत्पादन सुरु गर्न सक्ने विश्वास पनि ट्रम्पले व्यक्त गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप