शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तारकेश्वरमा त्रिपक्षीय भीडन्त, यस्तो छ माहोल

शनिबार, २३ वैशाख २०७४, १२ : ०५
शनिबार, २३ वैशाख २०७४

तारकेश्वर(नुवाकोट), बैशाख २३– स्थानीय तह चुनावको मिति नजिकिँदै जाँदा नुवाकोटको तारकेश्वरमा उम्मेद्वारहरुले घरदैलो अभियानलाई तीब्र पारेका छन् ।  तारकेश्वरमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच त्रिपक्षीय भीडन्त हुने देखिएको छ ।

तारकेश्वरमा माओवादी केन्द्रबाट राजेन्द्र न्यौपाने गाउँपालिका प्रमुखको उम्मेद्वार रहेका छन् भने नेपाली कांग्रेसबाट चोकराज शाक्य र नेकपा एमालेबाट रमेश वस्ती रहेका छन् ।

तीनै पार्टीका उम्मेद्वारले प्रसारप्रसार  तथा घरदैलो अभियानलाई तीब्र रुपमा अघि बढाइएको र एक–दुई दिनभित्रै गाउँगाउँ केन्द्रीत आमसभाहरु गरिने जनाएका छन् । नेपाली कांग्रेसका उम्मेद्वार चोकराज शाक्यले घरदैलो अभियानलाई तीब्र पारिएको भन्दै आगामी २४ गतेबाट गाउँगाउँमा सभाहरु गर्नेदेखि ‘अन्तिम’ प्रचारात्मक अभियान चलाइने बताए ।

यस्तै नेकपा माओवादी केन्द्रका उम्मेद्वार राजेन्द्र न्यौपानेले घरदैलो अभियानका क्रममा व्यापक जनसमर्थन पाएको भन्दै त्यसले चुनाव जित्ने आधार तय भएको बताए । माओवादीकै एजेण्डामा देश अहिलेको अवस्थामा आएको मतदाताको बुझाई आफूले पाएको उनको भनाई छ । यता शनिबार बिहान तारुकाको कोल्डाँडा आसपासमा घरदैलो गरेका एमाले उम्मेदवार रमेश वस्तीले अभियान उत्साहपूर्ण ढंगले चलिरहेको दाबी गरे । पार्टीभित्रैबाट असहयोग रहेको भन्ने जिज्ञासामा उनले, ‘टिकट लिने क्रममा केहि प्रतिश्पर्धा भएको भएपनि अहिले सबैजना एक ढिक्का भएर चुनावी प्रचार अभियानमा जुटिएको’ दाबी गरे । तारकेश्वरमा तीन पार्टीबीच त्रिपक्षीय भिडन्त हुने निश्चित भएपनि स्थानीयले नेकपा एमाले र नेपाली कांग्रेसमा  अन्तरघातको खतरा रहेको औंल्याएका छन् । तारकेश्वरमा टिकट विवादले उग्र रुप लिएपछि कांग्रेसबाट शिव अधिकारी र एमालेबाट विष्णु तारुकेले बागी उम्मेदवारी समेत दिएका थिए । यद्यपी उनीहरुले पार्टीभित्रबाट दवाव झेल्न नसकी अन्तिम समयमा उम्मेद्वारी फिर्ता लिएको बताइएको छ । तर, टिकट नपाएका एमालेका तारुकेसँगै रामहरि न्यौपाने, उषाकिरण तिम्सेनालगायतले पार्टीलाई सहयोग गर्नेमा शंका उत्पन्न भएको एमालेकै एक कार्यकर्ताले बताए ।

उनीहरुको आफ्नो क्षेत्रमा राम्रो प्रभाव रहेको र ती मतदातालाई प्रभावमा पारेको खण्डमा एमालेलाई ठूलो धक्का लाग्ने उनको भनाई छ । तर वस्ती भने यो कुरा मान्न तयार छैनन् । उनले भने, ‘टिकट लिने क्रममा असन्तुष्टि र विवादहरु भए होलान् तर अहिले हामीमा त्यस्तो कुनै समस्या छैन । उषाजीलगायत सबै अहिले सँगै घरदैलो अभियानमा लागेका छौं ।’

यस्तै माओवादी केन्द्रका उम्मेद्वार राजेन्द्रले आफूले जित्ने सुनिश्चित भएको देखेर विपक्षी दलले आफूप्रति अफबाह समेत फैलाएको बताएका छन् । तारकेश्वरको राजनीतिक माहोललाई नजिकबाट नियालिरहेका एक स्थानीय बुद्धिजिवीका अनुसार कांग्रेस र एमालेभित्र रहेको विवादका कारण सो मत माओवादीले पाउन सक्ने देखिएको र त्यसले उसलाई जित्ने सहज बाटो हुनेछ ।

उनका अनुसार बडा नम्बर १, ३ र ६ मा माओवादीको पकड रहेको छ भने ४ र ५ मा औसत रहेको छ । यस्तै वडा नम्बर २ मा भने एमाले बलियो देखिएको बुझिएको छ । वडा नम्बर दुईमा तत्कालिन तारुका गाविस अध्यक्ष रहेका एमालेका सम्मर बहादुर आलेको उम्मेदवारी परेकाले उनले विगतमा गरेका विकास निर्माणको काम समेतको आधारमा भोट पाउने देखिएको स्थानीयहरु बताउँछन् ।

तारकेश्वरको नेतृत्व लिने होडमा रहेका सबै उम्मेद्वारहरुले स्थानीय स्तरमा आवश्यक विकास निर्माणका कामहरुलाई नै चुनावी एजेण्डा बनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप