बुद्धजयन्ती र उभौली पर्वमा राष्ट्रपतिदेखि देउवाको यस्तो सन्देश
बुधबार, २७ वैशाख २०७४, ०९ : २७
काठमाडौँ, २७ वैशाख - राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको राष्ट्र गौरव र अमरज्योति गौतम बुद्धको २५६१ औं जन्मजयन्तीको अवसरमा सम्पूर्ण बौद्ध धर्मावलम्बीलगायत समस्त नेपालीहरु तथा शाक्यमुनि बुद्धको भ्रातृत्व, शान्ति, अहिंसा र करुणाप्रति विश्वास राख्ने स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण महानुभावमा शुभकामना व्यक्त गरेकी छन् ।
बुद्ध जयन्तीका उपलक्ष्यमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले सङ्घीय संरचनामा आधारित समावेशी, समानुपातिक एवम् लोकतान्त्रिक समाज तथा द्रूत र आर्थिक, सामाजिक विकास, दीगो शान्ति, सुशासन एवम् समृद्धितर्फ उन्मुख हाम्रो देशमा विविध जातजाति, भाषाभाषी र धार्मिक तथा सामाजिक सांस्कृतिक विविधताबीच एकता, सहिष्णुता र सद्भाव कायम गरी राष्ट्रिय एकतालाई सुदृढ एवम् सबल बनाउने अभियानमा गौतम बुद्धका उपदेश तथा मार्गदर्शन हामी सबैका लागि पे्ररणादायी एवम् अनुकरणीय रहेका बताएकी छन् ।
सन्देशमा भनिएको छ, “बुद्धदर्शनलाई जीवनमा आत्मसात् गर्दै स्थापित चार आर्य सत्यलाई अङ्गीकार गर्न सकेमा मात्र पनि हामीभित्र आन्तरिक शान्ति तथा भ्रातृत्व प्रर्वद्धन हुने निर्विवाद छ ।” राष्ट्रपति भण्डारीले नेपालको पवित्रस्थल लुम्बिनीमा जन्मनु भएका नेपालमाताका सुपुत्र गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाणको संयोग रहेको आजको पवित्र दिनमा बुद्धजयन्ती मनाइरहँदा सद्भाव, मेलमिलाप र सहअस्तित्व एवम् अहिसांवादी सिद्धान्तको पालना गर्न सवैलाई प्रेरणा मिलोस भन्ने कामना गरेकी छन् ।
यसैगरी, राष्ट्रपति भण्डारीले किराँत धर्मावलम्बीहरुको पवित्र एवम् महान् उभौली पर्वका अवसरमा सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली किराँत धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, सुस्वास्थ्य तथा समृद्धिको कामना गरेकी छन् ।
उभौली पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपतिले सामाजिक, सांस्कृतिक, भाषिक र जातीय विविधताका बिचमा अनुपम एकता रहेको हाम्रो देश नेपालको मौलिक संस्कृति सहितको एक प्रमुख समुदाय किराँतहरुको उभौली पर्वले नेपालीहरुवीच आपसी सद्भाव र सहिष्णुता कायम गर्दै सामाजिक एकता, शान्ति र मेलमिलापको वातावरण अभिवृद्धि गर्न प्रेरणा प्रदान गर्ने आशा लिएको उल्लेख छ ।
उपराष्ट्रपतिको शुभकामना सन्देश
यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको कार्यान्वयनार्थ सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको निर्वाचन तोकिएको मितिभित्रै सम्पन्न गर्नुपर्ने राष्ट्रिय आवश्यकता भएको बताएका छन् ।
दुई हजार ५६१ औँ बुद्ध जयन्ती तथा किराँत जातिको उभौली पर्वको अवसरमा शुभकामना सन्देश दिँदै उपराष्ट्रपति पुनले मुखैमा आएको निर्वाचनलाई सम्बन्धित सबै पक्षबाट उत्साहका साथ सफलतापूर्वक सम्पन्न गर्न सबै राजनीतिक दलहरुबीच सहमति र सहकार्यको विकल्प नरहेको बताए ।
शान्ति अहिंसाका प्रतिमूर्ति एवम् अग्रदूत भगवान् गौतम बुद्धको उपदेशलाई आत्मसाथ गर्न सकिए राष्ट्र र विश्वमा नै बन्धुत्व, सद्भाव र दिगो शान्तिको स्थापना हुन जानेछ भन्ने शुभकामना सन्देशमा उल्लेख छ ।
सभापति देउवाको सन्देश
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बुद्ध जयन्तीका अवसरमा आज बौद्ध धर्मावलम्बीलाई शुभकामना व्यक्त गर्दै बुद्धका उपदेशलाई सबैले पालन गरेर देशमा शान्ति कायम होस् र भइरहेको अन्याय, अत्याचार एवम् सबै प्रकारका दमनबाट सम्पूर्ण देशवासीले मुक्ति पाउन् भन्ने कामना गरेका छन् ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भई कार्यान्वयन र संस्थागत गर्ने क्रममा सबै प्रयत्नरत रहेको उल्लेख गर्दै उहाँले दिगो शान्तिबिना मुलुकको समग्र विकास सम्भव नभएकाले हिंसा, हत्या, अपहरण जस्ता मानव अधिकार विरोधी क्रियाकलाप अब सदाका लागि बन्द गरिनुपर्ने बताए ।
सन्देशमा भनिएको छ, “शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता गौतम बुद्धको उपदेशलाई सबैले मन, वचन र कर्मले पालन गरौँ, अशान्ति, हत्या र हिंसाको विरोध गरौँ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण