शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

जलविद्युत् प्रभावितलाई ३३ करोड मुआब्जा

बुधबार, २७ वैशाख २०७४, ०९ : २४
बुधबार, २७ वैशाख २०७४
दमौली, वैशाख २७ -  तनहुँको व्यास नगरपालिका–५ पाटनमा निर्माण हुने १४४ मेगावाट क्षमताको तनहँु जलविद्युत् आयोजनाका प्रभावित बसिन्दालाई रु ३२ करोड ९५ लाख चारहजार ८७१ मुआब्जा वितरण गरिएको छ । १७० जना प्रभावितलाई सो रकम मुआब्जा वितरण गरिएको हो । जिल्ला प्रशासन कार्यालय तनहुँकी लेखापाल राधिका गौतमले प्रभावित क्षेत्रका बासिन्दालाई मुआब्जा दिने काम भईरहेको बताए । जग्गाको अवस्था हेरेर प्रतिरोपनी रु दुई लाखदेखि रु आठ लाखसम्म मुआब्जा दिइएको उनले जानकारी दिए । आयोजनाको बाँधस्थल साबिक काहुँ शिवपुर, जामुने, कोटदरबार, रिसिङ, रानीपोखरी, भिमादलगायत गाविसका बासिन्दालाई मुआब्जा उपलब्ध गराइएको बताइएको छ । त्यस क्षेत्रका बासिन्दाका लागि रु ६५ करोड ७० लाख मुआब्जा वितरण गरिने प्रजिअ फणिन्द्रमणि पोख्रेलले बताए । आयोजनाले एक हजार २५० रोपनी जग्गाका धनीलाई मुआब्जा रकम वितरण गर्ने जनाएको छ । आयोजनाले ४ वर्षअघि झापुटारका प्रभावित क्षेत्रका बासिन्दालाई प्रतिआना रु एक लाखदेखि रु तीन लाखसम्म मुआब्जा दिएको थियो । त्यतिबेला आयोजनाले १३८ रोपनी जग्गा प्राप्त गर्दा रु ४२ करोड मुआब्जा वितरण गरेको जनाएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप