शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

नगर निर्वाचनका उम्मेदवारलाई जनताले खुवाए माटोको कसम

बुधबार, २७ वैशाख २०७४, ०८ : ५७
बुधबार, २७ वैशाख २०७४

काठमाडौँ, २७ वैशाख । कागेश्वरी मनोहरा नगरपालिकाका स्थानीयवासीले नगर निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिएका राजनीतिक दलका नेतालाई भ्रष्टाचार नगरी विकास निर्माणमा लाग्न माटोको कसम खुवाएका छन् ।

काठमाडौँ रोबस्ट क्लबले आज भद्रवासमा आयोजना गरेको उम्मेदवारसँग परिचयात्मक एवम् अन्तक्र्रिया कार्यक्रममा स्थानीयवासीले दलका नेताहरु चुनावमा मत माग्न आउँदा सबै काम गर्छौं भनी वाचा गर्ने तर जितिसकेपछि प्रतिबद्धता बिर्सिएर व्यक्तिगत स्वार्थपूर्तिमा लाग्ने गरेको गुनासो गरेका थिए ।

स्थानीय श्रीराम सापकोटाले दलका नेताहरुले भ्रष्टाचार र कुशासन रोक्न नसक्दा स्थानीय तहसम्म संस्थागत बनेको बताए। नेताको प्रभावका कारण सामुदायिक विद्यालयका शिक्षकहरुले जागिर खान विद्यालय जाने तर आफ्ना बालबालिकालाई निजी विद्यालयमा पढाउने गर्दा सामुदायिक विद्यालयको गुणस्तर खस्किएकोमा स्थानीयवासीले नेताहरुको आलोचना गरेका थिए ।

शिक्षक राजनीतिक दलमा क्रियाशील भएकैले जे गरे पनि कारबाही नहुने गर्दा भद्रवासको आदर्श उच्च माध्यमिक विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै गएको स्थानीय ताराशरण कालिकाले बताए । विद्यालय एउटा दलको पार्टी कार्यालय बनेको उनको भनाइ थियो ।

सो अवसरमा नेकपा माओवादी केन्द्रका कागेश्वरी मनोहरा नगरपालिका प्रमुखका उम्मेदवार महेश्वर फुयाँल, राष्ट्रिय जनमोर्चाका नगर प्रमुख उम्मेदवार राजेन्द्र पुडासैनी, नेपाली काँग्रेसबाट नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्षका उम्मेदवार हरिशरण ढकाल, नेकपा एमालेका ३ नम्बर वडा अध्यक्षका उम्मेदवार राममणि पुडासैनी, जनमोर्चाका ४ नम्बर वडा अध्यक्षका उम्मेदवार सङ्गम नगरकोटीलगायतले माटो हातमा लिएर जन भावना विपरीतका काम नगर्ने र विकास निर्माणका काममा ध्यान दिने कसम खाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप