शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

सरकारले सरकारसँग गर्ने कारोबारमा कमिशन खाने कुरा हुँदैन – कुलमान घिसिङ

बुधबार, २७ वैशाख २०७४, १८ : २५
बुधबार, २७ वैशाख २०७४

काठमाडौँ, वैशाख २७ –नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले भारत सरकारले आफ्ना ग्राहकलाई जति रुपैयाँमा लिड बल्ब दिइरहेको छ त्यतिमै नेपाल सरकारले पनि आफ्ना ग्राहकलाई उपलब्ध गराए भनि त्यसमा कमिशनको कुरा आउन नसक्ने स्पष्ट पारेका छन् ।

‘भारत सरकारले ६५ भारुमा त्यहाँका जनतालाई लिड बल्व दिइरहेको छ, नेपाल सरकारले पनि त्यतिमै यहाँका जनतालाई उपलब्ध गराउने हो,’ रातोपाटी अनलाइन टिभीमा प्रत्यक्ष कुराकानी गर्दै घिसिङले भने, ‘चारसय रुपियाँमा प्रयोगमा ल्याउने बल्व नेपाल सरकारले एकसय ४० रुपियाँमा उपलब्ध गराउन लागेको हो ।’

उनले भने, ‘नेपाली जनतालाई बाँड्न ल्याएको लिडमा पैसा खाने अवस्था छैन, विद्युत प्राधिकरणमा खाने धेरै ठाउँ छ तर हामी त्यता गएनौँ बरु त्यसभित्रका माफियालाई समाप्त पार्यौ ।’

भारतले नेपाललाई मात्र होइन त्यति नै रुपियाँमा श्रीलंका लगायतका विभिन्न देशहरुलाई पनि उपलब्ध गराइरहेको बताउँदै निर्देशक घिसिङ्गले भने, ‘सरकारले सरकारसँग गर्ने कारोवारमा कमिशन खाने ठाउँ हुँदैन यो सबैले बुझेको कुरा हो, यदी कमिशन खाने कुरा भयो भने नेपालभन्दा पहिले भारतका कर्मचारीहरु जेल जान्छन् ।’

प्राधिकरणले व्यवसायमा पनि हात हाल्न लागेको हो भन्ने प्रश्नमा उनले भने, ‘प्राधिकारणले बल्ब व्यवसाय गर्दैन । हामीले नेपालका ३५ लाख ग्राहकलाई आकर्षित गर्नका लागि यो अफर ल्याएको हौँ । यदि हामीले घर–घर पुर्यायौँ भने अवश्य पनि घरमा लगाएका कम गुणस्तकारका बल्वलाई हटाएर हामीले उपलब्ध गराएको गुणस्तरीय भएको लिड बल्ब लगाउनेछन् ।’ यसले विद्युत खपत कम हुने उनको दाबी छ ।

एक रुपियाँ लगानी नगरिकन लोडसेडिङ अन्त्य भएको बताउँदै उनले लोडसेडिङ अन्त्यका लागि यसअघिका सरकारले विभिन्न विकल्पमा लगानी गर्न चाहेको तर आफूले विना लगानी लोडसेडिङ अन्त्य गराएको स्मरण गराए ।

अर्को प्रसङ्गमा उनले यसलाई लोडसेडिङ अन्त्य भएको मान्न नसिकने र अल्पकालिन व्यवस्था मात्र भएको बताए । यसमा पूर्ण सफलताका लागि अहिले धेरै काम गर्न बाँकी रहेको उनले बताए ।

उनले भने, ‘सबै कुरा एकैचोटी चेन्ज गर्न टाइम लाग्छ ।’

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग भिडियो अन्तर्वार्ता

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप