शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

महिला उम्मेदवार विजय भएपछि महिला वर्गमा उत्साह

शुक्रबार, ०५ जेठ २०७४, ०८ : ४९
शुक्रबार, ०५ जेठ २०७४
रसुवा - रसुवाको दक्षिणी क्षेत्रको कालिका गाउँपालिकाको अध्यक्ष पदमा महिला उम्मेदवार विजय भएपछि महिला वर्गमा उत्साह बढेको छ । घरेलु काममा मात्र सीमित हुने महिलाले राजनीतिक तहको नेतृत्व सम्हालेपछि अबका दिनमा घरेलु रोजगारीका कार्यक्रम आउनेमा आशावादी रहेको स्थानीय महिलाले बताएका छन् । स्थानीय तहअन्तर्गत गत वैशाख ३१ गते सम्पन्न निर्वाचनको नतिजाबाट एक गाउँपालिका अध्यक्ष र चार महिला उपाध्यक्ष पदमा विजय हासिल गरेपछि महिला सशक्तीकरणमा टेवा पुगेको र भूकम्पले बिगारेको संरचना अब नमुनाका रुपमा गुणस्तरीय तवरले निर्माण हुनेमा आशावादी रहेको मतदाताको भनाइ पाइन्छ । कालिका गाउँपालिकामा एक हजार ४५८ मत प्राप्त गरी विजयी हुनुभएकी सीतादेवी पौडेल अधिकारीले रासससँग कुराकानी गर्दै पहिलो प्राथमिकता घरेलु हिंसाको अन्त्य, दोस्रो प्राथमिकता चुलोचौकामा सीमित हुने महिलालाई घरेलु रोजगारीका कार्यक्रम ल्याई आयवृद्धिमा अभिप्रेरित गराउने, खानेपानीको स्रोत खोजी शुद्ध पानीको व्यवस्थापन, एक घर एक शौचालय निर्माण, गाउँगाउँमा सडक विस्तार तथा कालोपत्र, मठमन्दिर, गुम्बा, ऐतिहासिकस्थलको विशेष मर्मतसम्भार, कालिका सामुदायिक अस्पताल व्यवस्थापन र सञ्चालन, हरेक बालबालिकालाई अनिवार्य विद्यालय तथा विद्यालय सुदृढीकरणलाई प्राथमिकता दिई अगाडि बढ्ने बताए । यस्तै, ग्रामीण समुदायमा आइपर्ने टड्कारो आवश्यकता परिपूर्ति, पहिरो रोकथाम, वन वनस्पति, जैविक विविधताको संरक्षण गर्न घरका आसपास एवम् खाली ठाउँमा वृक्षरोपणलाई बढावा दिई अगाडि बढ्ने र अब केही दिनमै कार्यक्रमको खाका बनाई प्राथमिकीकरण तोक्ने र विकास निर्माणमा गएका पेस्की र कामको लेखाजोखा गरी कालिका गाउँपालिकालाई भ्रष्टाचारमुक्त क्षेत्र बनाउने उनले बताए । यस्तै, गाउँपालिकाको उपाध्यक्ष पदमा पनि चारजना महिला नै विजयी भएका छन् । यसरी विजय प्राप्त गर्नेमा नौकुण्डबाट एक हजार ६०९ मत प्राप्त गरी सृजना तामाङ, एक हजार ८७८ मत प्राप्त गरी उत्तरगयामा चमेली गुरुङ, गोसाइँकुण्डमा एक हजार ७४० मत ल्याई कारग्याल्पो श्रेष्ठ र पार्वतीकुण्ड गाउँपालिकामा ६६५ मत ल्याई नवीना तामाङ विजयी भएको छ । अध्यक्ष तथा उपाध्यक्ष सबै नेकपा ९एमाले०का उम्मेदवार छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप