शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

शनिबार, ०२ साउन २०८३, १८ : ०८
शनिबार, ०२ साउन २०८३

सारांश

  • भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नम्बर ५ स्थित एसएस चोकमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
  • दुर्घटनामा परी उदयपुरका १६ वर्षीय कबिर कार्कीको उपचारका क्रममा मृत्यु भएको हो।
  • दुर्घटनामा गम्भीर घाइते भएकी १९ वर्षीया अलिया विकको मध्यपुर थिमी अस्पतालमा उपचार भइरहेको छ।

भक्तपुर। भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नम्बर ५ स्थित एसएस चोकमा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। शनिबार दिउँसो सो दुर्घटना भएको हो।

एसएस कलेजबाट बाटो क्रस गरी बागमती पेट्रोल पम्पतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१२ प २९०५ नम्बरको मोटरसाइकल र नयाँथिमी चोकबाट राधेराधेतर्फ जाँदै गरेको बा.प्र.०२–०२२ प २९०६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए। दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि मध्यपुर थिमी अस्पताल भक्तपुर लगिएको थियो। 

उपचारकै क्रममा दिउँसो १४ः२५ बजे बा.प्र.०२–०२२ प २९०६ नम्बरको मोटरसाइकल चालकको मृत्यु भएको हो। मृत्यु हुनेमा उदयपुर कटारी नगरपालिका वडा नम्बर २ घर भई हाल काठमाडौँ तीनकुने बस्ने १६ वर्षीय कबिर कार्की रहेका छन्।

सोही मोटरसाइकलको पछाडि सवार काठमाडौँ सिनामंगल बस्ने १९ वर्षीया अलिया विक गम्भीर घाइते भएकी छन्। उनको सोही अस्पतालमा उपचार भइरहेको छ।  अर्को प्रदेश ३–०२०१२ प २९०५ नम्बरको मोटरसाइकलका चालक खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर २ घर भई हाल भक्तपुर बालकोट पानी ट्याङ्की बस्ने २४ वर्षीय मनिष राई भने डिस्चार्ज भएका छन्। डिस्चार्ज भएलगत्तै उनलाई प्रहरी वृत्त थिमी भक्तपुरको नियन्त्रणमा राखिएको छ।

सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक कुमार कार्कीले दुर्घटनामा परेका दुवै सवारी साधनलाई जिल्ला ट्राफिक प्रहरी परिसर चुनदेवी भक्तपुरको नियन्त्रणमा राखेर घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जानकारी दिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप