शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कम भोट आएपछि यस्तो आयो माओवादीका काठमाडौं मेयर उम्मेदवार सर्वोत्तम डंगोलको प्रतिक्रिया

शनिबार, ०६ जेठ २०७४, १६ : ०७
शनिबार, ०६ जेठ २०७४

काठमाडौं, जेठ ६– माओवादी केन्द्रको तर्फबाट काठमाडौं महानगरको मेयरको टिकट लिएर चुनावी मैदानमा हाम्फालेका सर्वोत्तम डंगोल जितको सिन्दुर लगाउन नपाउनेमा ढुक्क भैसकेका छन् ।

यद्यपी महानगरको मतपरिणामा जारी छ । समाचार सामग्री तयार पार्दासम्म ३ हजार मतबाट उकालो लागेका डंगोलले वैशाख २१ गते आफूले हारको सुँईको पाईसकेको प्रसंग कोट्याउँदै भने, ‘हारको संकेत त्यतिवेला नै पाईसकेको थिएँ, मैले २१ गते सामाजिक सञ्जालमा त्यसबारे स्ट्टस पनि लेखेको थिएँ ।’

मुलुकको तेस्रो पाटीको हैसियतमा रहेर राष्ट्रिय राजनितीको केन्द्रभागमा रहँदा पनि विवेकशिल र साझा पार्टीको पछि पर्नुको कारण जान्नका लागि डंगोलसगँ सम्पर्क गर्दा उनले भने, ‘काठमाडौंका मतदाता एउटा खालको ह्विममा जान्छन्, एउटा बर्गलाई समेटेर जाने मतदाताको स्वभावले गर्दा हामी सर्वहारा बर्ग छनोटमा पर्न सकेनौं ।’

काठमाडौंका मतदाताले हिजोका दिनमा नानिमैयाँ दाहाललाई जिताएको प्रशंग ब्याख्या गर्दै रातोपाटीसँगको कुराकानीमा डंगोलले भने, ‘मुख्य कुरा हामीले गरेका राम्रा कामबारे जनतालाई बुझाउनै सकेनौं, हामीले गरेका कामलाई राजनीतिको अर्को पक्षले अर्कै ढंगले क्यास गरे ।’

प्रधान न्यायाधिश शुसिला कार्किलाई महाअभियोग लगाउनुको कारण बारे जनतालाई चित्तबुझ्दो जवाफ दिन नसक्नु र प्रकाश अर्याललाई आईजिपी बनाउँदा सरकारले कसरी आफ्नो कार्यकारी अधिकारको प्रयोग गरेको थियो भन्नेबारे आफ्नो पार्टीले स्पष्ट पार्न नसक्नु पनि हारको अर्को कारण भएको डंगोलले बताए ।

उनले भने, ‘महाअभियोग प्रकरण र आईजिपी नियुक्तीको सवाल हामीले स्पष्ट गर्न सकेनौं तर विपक्षीहरुले त्यहि कुरालाई गलत ढंगले फैलाए !’

सरकारले नै घरवहाल कर उठाउने अनि करकट्टी गरेपछी मात्र घरधनीले भाडा रकम पाउनेगरी कानुन बनाउन लागेको हल्लाले पनि आफ्नो भोट काटेको डंगोलको ठम्याई छ ।

‘आओवादीले घरवहाल सरकारले नै उठाउने नीति पारित गर्न लागेको कुरालाई गलत ढंगले प्रचार गरियो’ उनले भने, ‘घरदैलोमा जाँदा मैले पनि पटक–पटक यो प्रश्नको सामना गरेको छु ।’

सरकारले घरबहाल कर असुली गर्नुपर्ने तर भाडा नै आफुले लिएर पछि घरधनीलाई फिर्ता गर्ने पोलिसी गलत भएको उल्लेख गर्दै उनले भने, ‘अर्को कुरा हामीले आन्तरिक राष्ट्रवादको कुरा गरेका थियौं, विपक्षीहरुले भारतसँग लम्पसार परेको भनेर हामीलाई नै उल्टो अराष्ट्रिय तत्वको रुपमा ब्याख्या गरे ।’ आन्तरिक राष्ट्रवाद केहो र माओवादीले कसरी राष्ट्रवादलाई मजबुद बनाउने प्रयत्न गरको छ भन्नेबारे आफुहरुले जनतालाई बुझाउनै नसक्दा काठमाडौंका जनताको पंक्तीले माओवादीलाई सपोर्ट नगरेको उनको निष्कर्ष छ । विपक्षीहरुले फेसवकु, ट्विटर जस्ता सामाजिक सञ्जाल मार्फत प्रचारलाई ब्यापक बनाएको र माओवादी केन्द्र त्यसमा कमजोर रहेको उनले बताए ।

नेपाली राजनितीमा भर्खरै पाईला चालेका विवेकशिल र साझा पार्टी भन्दा पनि पछाडी पर्छु जस्तो नलागेको डंगोलले बताएका छन् । ‘विवेकशील र साझा पार्टी भन्दा पछाडी पर्छु जस्तो लागेकै थिएन्’ उनले भने, ‘चुनावकै बीचमा कांग्रेससँग तालमेल भएको हल्लाले पनि मलाई अप्ठेरो पारेको छ, चुनावको अघिल्लो दिन पनि मतदाताले सोध्दै थिए, ‘तिमीले छाडेको हैन ?’ यसपटकको स्थानीय चुनावबाट राम्रो काम गरेँ भनेर मख्ख पर्नु नहुने र त्यसलाई स्थापित गर्नतिर लाग्नुपर्नेरहेछ भन्ने महत्वपुर्ण पाठ सिकेको डंगोलले बताए । चुनाव हार्ने निश्चित भैसकेको अवस्थामा डंगोलले आफूलाई भोट दिने मतदातालाई धन्यवाद दिएका छन् । ‘मलाई भोट हाल्ने र नहाल्ने सवैलाई धन्यवाद, संविधान कार्यान्वयनमा हामी सवैले भुमिका निभाएका छौं, मैले हारेपननिपरिवर्तन संस्थागत हुँदै छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप