शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

उपेन्द्र र महन्थलाई एकै ठाउँमा राखेर के कुरा गरे गच्छदारले ?

शनिबार, ०६ जेठ २०७४, १६ : ४१
शनिबार, ०६ जेठ २०७४

काठमाडौ जेठ ६–अहिले दुई ध्रुवमा रहेका महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाललाई एकै ठाउँमा बसाएर नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष एवम् उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजकुमार गच्छदारले कुराकानी गरेका छन् । पछिल्लो समय यी दुई दलबीचको द्धन्द्धले नेपाली राजनीतिमा चर्चा पाएको छ । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिलो चरणको चुनावमा भाग लिएको भन्दै राजपा नेपालले मधेशी मोर्चा नै विघटन गर्यो । त्यति मात्र होइन, संघीय गठबन्धनको संयोजकबाट उपेन्द्र यादवलाई हटाएर महन्थ ठाकुर आफै त्यसको संयोजक बने ।

त्यसले गर्दा यी दुई नेताबीच झन दुरी बढेको थियो । तर, उपप्रधान तथा स्थानीय विकास मन्त्री समेत रहेका गच्छदारले यी दुई नेतालाई एकै ठाउँमा बसाएर स्थानीय तहको संख्या बढाउने विषयमा छलफल गरेका छन् ।

शुक्रवार दिउँसो १ः३० बजे स्थानीय मन्त्री विजयकुमार गच्छदारले आफ्नै मन्त्रालयमा त्यसरी छलफल गरेका हुन् । मधेशका यी तीन दल तीन ध्रुवमा रहेपनि यसरी एकै ठाउँमा बसेर छलफल गर्दा माहोल रोचक बनेको थियो ।

मोर्चाबाट तीन नेता तीनतिर गएपछि यी तीन नेता हतपत एकै ठाउँ बसेको उदारहण छैन । काँग्रेस, एमाले र माअ‍ोवादी केन्द्रसंग १६ बुँदे सम्झौता गरि केपी ओली नेतृत्वको सरकारमा गच्छदार गएपछि मधेशी मोर्चाबाट उपेन्द्र यादव र महन्थ ठाकुरले कारवाही गरि निकालेका थिए ।

त्यसपछि उनीहरुको बीचमा यसरी कुराकानी नभएको बताइएको छ ।

उनीहरुसंग स्थानीय तहको संख्या थप्ने विषयमा छलफल गरेको बताइएको छ । स्थानीय तहको संख्या थप्ने विषयमा अध्ययन गर्न बनेको कार्यदलको संयोजक समेत रहेका मन्त्री गच्छदारले छलफलमा कार्यदलका अन्य सदस्यलाई पनि राखेका थिए ।

मन्त्री गच्छदारले जनसंख्याको आधारमा अहिले नै स्थानीय तहको संख्या थप्न गाह्रो हुने धारणा राखेका थिए । ११ वटा जिल्लामा स्थानीय तहको संख्या बढाउने म्याण्डेट आफूले पाएको तर १३–१४ वटा जिल्लामा संख्या बढाउने कुराकानीको जानकारी उनीहरुलाई दिएको बताइएको छ ।

ती दुई दलका नेताहरुले स्थानीय तहको संख्या जनसंख्याको आधारमा नै बढाउनुपर्ने र त्यसरी भएन भने त्यसलाई मधेशी जनताले स्वीकार गर्ने स्पष्ट पारेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप