शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

मतगणनास्थलमा शिलबन्दी, चाँगुनारायणमा रोकियो मतगणना

शनिबार, ०६ जेठ २०७४, १९ : १३
शनिबार, ०६ जेठ २०७४

भक्तपुर, जेठ ६– भक्तपुरको चाँगुनारायण नगरपालिकामा अर्को निर्णय नभएसम्मका लागि मतगणना स्थगित गर्ने गरी मतगणना स्थलमा शिलबन्दी गरिएको छ । शनिबार चाँगुनारायण नगरपालिका–४ को मतगणना सम्पन्न गरेर बिहान ७ बजे मत परिणाम सार्वजनिक गर्ने तयारी गर्दा मतगणना पारदर्शी नभएको भन्दै नेपाली काँग्रेस, राप्रपा र नेमकिपाले विवाद निकालेपछि दिनभर मत परिणाम सार्वजनिक हुन सकेन । नेपाली काँग्रेस, नेमकिपा र राप्रपाले मतगणनामा सहभागी कर्मचारी एमाले निकट रहेको र काँग्रेस तथा नेमकिपाको मत पनि एमालेमा गाभेर मतगणना गरेको भन्दै मतपरिणाम सार्वजनिक गर्न एवम् मतगणना गर्न नदिएको मतगणना स्थलमा रहनुभएका राप्रपाका प्रतिनिधि राजीव लामिछानेले जानकारी दिए । तीनवटै दलको मतगणना स्थलमा रहेका कर्मचारी परिवर्तन गर्नुपर्ने र पुनः मतगणना गर्नुपर्ने माग राखेर अवरोध गरेको उनले बताए । यता एमालेले भने चाँगुनारायण नगरपालिका–१ र २ मा मतगणना भई काँग्रेसको विजयी हुँदा कुनै विवाद ननिकालेको तर वडा नं ३ र ४ मा एमालेका उम्मेदवार विजयी भएपछि आत्तिएर विरोधमा उत्रिएको बताएको छ । दिउँसो काँग्रेस, राप्रपा र नेमकिपाले नाराबाजी गरेपछि मतगणना भइरहेको कोठामा शिलबन्दी गरिएको प्रहरीले जानकारी दिएको छ । विवादले मतगणनामा रोकिएपछि प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, जिल्लाका प्रमुख निर्वाचन अधिकृत भोजराज शर्मालगायत सर्वपक्षीय छलफल भइरहे पनि समस्याको समाधान हुन सकेको छैन । प्रमुख जिल्ला अधिकारी पोखरेलले मतगणनामा विवाद निस्किएर मतगणना रोकिए पनि सर्वपक्षीय बैठक बसेर समाधान निकाल्ने प्रयत्न भइरहेको जानकारी दिए । छलफलबाट निकास निस्किए निर्वाचन आयोगले गर्ने निर्णयअनुसार अगाडि बढ्ने उनले बताए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप