शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

बाल विवाह न्यूनीकरणका लागि किशोरी शिक्षा सञ्चालन

आइतबार, ०७ जेठ २०७४, ०८ : २३
आइतबार, ०७ जेठ २०७४
रोल्पा - रोल्पा जिल्लामा बाल विवाहको दर अधिक रहेको भन्दै यसको न्यूनीकरणका लागि महिला तथा बालबालिका कार्यालय, रोल्पाले किशोरी शिक्षा सञ्चालन गरेको छ । सानै उमेरमा विद्यालय छोडी विवाह गर्ने प्रवृत्ति धेरै रहेकाले विद्यालय छाडेकाहरुलाई पुनः विद्यालय फर्काउन तथा अन्य सीप विकास एवम् आयआर्जनका क्रियाकलाप गरी विवाह गर्ने उमेर नपुगेसम्म व्यस्त बनाउनका लागि यस्तो कार्यक्रम गरिएको बताइएको छ । देशमै रोल्पा जिल्लामा बाल विवाहको दर अधिक रहेका कारण यसको न्यूनीकरणका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको महिला तथा बालबालिका कार्यालय, रोल्पाले बताएको छ । किशोरीहरुको आर्थिक र सामाजिक सशक्तीकरण गर्ने भन्दै महिला तथा बालबालिका कार्यालय, रोल्पाको आयोजना र संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या विकास कोषको प्राविधिक सहयोगमा किशोरी शिक्षा सञ्चालन हुँदै आएको छ । किशोरीहरुको सामाजिक तथा आर्थिक सशक्तीकरण गर्दै बाल विवाह न्यूनीकरण र लैङ्गिक हिंसा अन्त्य गर्न यस्तो कार्यक्रम सञ्चालन गरिएको संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या विकास कोषका प्रतिनिधि पूर्णबहादुर विश्वकर्माले जानकारी दिए । आफ्नो जीवनलाई आत्मनिर्भर र सक्षम नबनाउँदासम्म हिंसा खेपिरहनुपर्ने भएकाले भविष्यमा समेत सम्भावित लैङ्गिक हिंसाबाट बच्न यस्तो कार्यक्रम गरिएको सहजकर्ता तीर्था आचार्यले बताए । बिहेवारी २० वर्षपारि भनिए पनि जिल्लामा अधिकतम किशोरी बाल विवाहको सिकार हुने गरेकाले उनीहरुलाई सचेत गर्न कार्यक्रम सफल हुने आचार्यले बताए । जिल्लाका खुङ्ग्री, खुमेल, कोटगाउँ, राँकोट, राँसी, डुब्रिङ, दुवीडाँडा र लिवाङ गाविसमा सञ्चालित सो कार्यक्रममा विद्यालय जाने उमेरका १३ देखि १९ वर्ष उमेर समूहका किशोरीका लागि सो कार्यक्रम लक्षित गरिएको महिला तथा बालबालिका कार्यालयले बताएको छ । जिविस, रोल्पाले जिल्लाका १७ गाविसलाई अत्यधिक बाल विवाह हुने गाविसका रुपमा लिँदै उल्लिखित गाविसमा विभिन्न निकायको सहयोगमा बाल विवाह न्यूनीकरणका विरुद्ध विभिन्न अभियान सञ्चालन गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप