शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

शिक्षित र सक्षम बन्दै सन्थाल समुदाय

आइतबार, ०७ जेठ २०७४, ०८ : ३३
आइतबार, ०७ जेठ २०७४
झापा - पूर्वी नेपालको झापा, मोरङ, सुनसरी जिल्लामा परापूर्वकालदेखि स्थायी बसोबास गर्ने समुदाय हो ‘सन्थाल’ । सरकारद्वारा सूचीकृत ५९ आदिवासी जनजातिमध्ये आफ्नो छुट्टै मौलिक पहिचान बोकेको जाति मानिन्छ यो समुदायलाई । संस्कार संस्कृति, वेशभूषा, साहित्य, भाषालिपिले गर्दा सांस्कृतिक रूपमा पनि यो जाति धनी छ । आफूलाई प्रकृतिका पुजारी मान्ने यो समुदायले सालको रुखलाई पवित्र मान्छन् । विष्णुलाई प्रमुख देवता मान्ने यो समुदायले पूजा गर्ने स्थानलाई ‘मान्झिथान’ र ‘जाहेरथान’ भन्छन् । यो समुदायमा गाउँमा एउटा मुखिया हुन्छ त्यसलाई ‘मान्झिहाडाम’ भन्ने गरेका छन् । तिर धनु यो जातिको प्रमुख हतियार हो । सन्थाल जातिमा बाह्रवटा थर हुन्छन् । १२ थरबाटै यो जातिलाई सन्थाल हो भनेर पहिचान गर्न सकिन्छ । सन्थाल जातिले बोल्ने भाषालाई ‘सन्थाली’ भनिन्छ । आफ्नै छुट्टै भाषा र लिपि भए पनि यो समुदायले नेपाली भाषा प्रयोग गर्ने गर्छन् । केही वर्षअघिसम्म जमिन्दारका रुपमा चिनिने सन्थाल समुदाय अहिले अति सीमान्तकृत जातिमा पर्छ । शिक्षा क्षेत्रमा पछि परेको यो समुदाय विस्तारै अहिले ‘शिक्षाको उज्यालो यात्रा’ तर्फ लम्कँदैछ । विसं २०६८ को जनगणनामा यो समुदायको जनसङ्ख्या ५१ हजार ७३५ रहेको छ । त्यसमा पनि शिक्षित सन्थाल त झनै कम छन् । मुलुकमा आमूल परिवर्तन भएसँगै सन्थाल समुदायको जीवनशैलीमा परिवर्तन भएको छ । सन्थाल समुदायबाट पनि राज्यका विभिन्न तहमा प्रतिनिधित्व भएको छ । सन्थाल समुदायका केही युवा अहिले सरकारी सेवामा समेत सेवारत छन् । अति सीमान्तकृत समुदायबाट मोहन टुडू नेपालका एकमात्र सन्थाल समुदायका सांसद बने । झापाको हल्दिबारी–७ घर भएका टुडू माओवादीको कोटाबाट सांसद बनेका हुन् । सन्थाल समुदायबाट उहाँले अहिले संविधानसभामा देशभरिबाट एक्लै प्रतिनिधित्व गरिरहेका छन् । उहाँ जस्तै सन्थाल समुदायबाटै कानुनमा स्नातक गर्नुभएका सन्थाल समुदायका अगुवा विश्वदीप बेस्रा अहिले प्रधानमन्त्रीको कार्यालयमा कार्यरत हुनुहुन्छ । उनी प्रधानमन्त्री कार्यालयको अधिकृत पदमा सेवारत हुनुहुन्छ । उहाँसँगै सन्थाल समुदायबाटै लेखापालका रुपमा कार्यरत छन् । झापा राजगढ–५ कि सुनिता सोरेन । उनी अहिले मेचीनगर नगरपालिकाको लेखापाल हुनुहुन्छ । उहाँका श्रीमान् जिसु मुर्मु पनि खरिदार पदमा कार्यरत छन् । उनका कनकाई नगरपालिकामा कार्यरत छन् । सन्थाल समुदायबाट सरकारी निकायमा काम गर्ने थोरैमात्रै छन् । त्यसमा पनि महिलाको सङ्ख्या त ज्यादै न्यून रहेको बताउँछन् सिमलवाडी आधारभूत विद्यालयकी शिक्षक तलू बास्के । उहाँ नेपाल पत्रकार महासङ्घ, झापाको सदस्य पनि छन् । सन्थाल समुदायबाट उहाँ महिलाको प्रतिनिधित्व गर्ने एक्लो सञ्चारकर्मी हुनुहुन्छ । बास्केका अनुसार सुफल सोरेन अरनिको उच्च माध्यमिक विद्यालयका शिक्षक हुनुहुन्छ । त्यस्तै सुन्दर वेस्रा टाघनडुब्बामा प्रधानाध्यापकको जिम्मेवारी सम्हालिरहनुभएको छ । न्यून सङ्ख्यामा सरकारी सेवामा रहेका यो समुदाय शिक्षाको अवसर नपाउँदा बहिष्करणमा परेको मेचीनगरपालिकाकी लेखापाल सुनिता बताउनुहुन्छ । उनी भन्छन् – “हाम्रो समुदायमा पनि विस्तारै अहिले पढ्नुपर्छ भन्ने चेतनाको विकास हुँदैछ ।” एसएलसीसम्मको शिक्षा पुहाँतु जनज्योति माविबाट पूरा गरेपछि सहिद दशरथ उमावि चारआलीबाट सुनिताले कक्षा ११ र १२ उत्तीर्ण गर्नुभएको हो । अहिले उनी त्रिदेव क्याम्पस चारआलीबाट स्नातक गरिरहेका छन् । समुदायकै उदाहरणीय महिलाका रुपमा चिनिएकी सुनिता शिक्षामा जोड दिन समस्त सन्थाल समुदायलाई आग्रह गर्छन । उनी जागिरबाट फुर्सद निस्कनासाथ गाउँ पसेर आफ्नो समुदायका नानीहरूलाई पढ्न हौसला थप्ने गर्नुहुन्छ । राजगढ–५ घर भएका उनका पति जिसु रेडियोकर्मी पनि हुनुहुन्छ । उहाँले धुलाबारीको रेडियो सरगममा समाचार सम्पादकको जिम्मेवारीसमेत सम्हाल्न भ्याएका छन् । सम्पादकको जागिर छाडेर जिसु अहिले कनकाई नगरपालिकामा खरिदारको पदमा कार्यरत छन् । उनी भन्नुहुन्छ – “प्रतिस्पर्धा गर्न नसके कुनै समुदाय विशेषलाई भनेर दिएको आरक्षण कोटाले मात्र केही हुँदैन, प्रतिस्पर्धा त देश विकासका लागि अवश्य नै चाहिन्छ ।” पशुपति मावि राजगढबाट एसएलसी उत्तीण गर्नुभएका जिसुले स्थातकसम्मको अध्ययन गरेका छन् । आफ्नो समुदायबाट पनि राज्यका विभिन्न निकायमा प्रतिनिधित्व भएपछि अहिले सन्थाल समुदायले आफ्ना बालबालिकालाई विद्यालय पठाउन थालेको बताउनुहुन्छ नेपाल सन्थाल विकास सङ्घ, झापाका अध्यक्ष बडाराम हेमरम । उनी भन्छन् – “सन्थाल जाति भन्नेबित्तिकै हिजो उपेक्षामा परेको जाति थियो तर अहिले मुलुकमा आएको परिर्वतनसँगै सन्थाल समुदायलाई हेर्ने दृष्टिकोणसमेत परिवर्तन भएको छ ।” झापाको कोरोबारी, हल्दिबारी, कुमरखोद, टाघनडुब्बा, वैगुनधुरा, जलथल, राजगढ, शरणामतीमा यो समुदायको बसोबास बढी रहेको पाइन्छ । झापामा यो समुदायको जनसङ्ख्या ३५ हजारको हाराहारीमा रहेको नेपाल सन्थाल विकास सङ्घ, झापाका अध्यक्ष हेमरमले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप