शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

राजा–महाराजाको मात्र होइन, क्षेत्रीय इतिहास लेखनमा प्राध्यापकहरुको जोड

आइतबार, ०७ जेठ २०७४, १२ : ५९
आइतबार, ०७ जेठ २०७४

बागलुङ, ७ जेठ । देशभरका इतिहास विषयका प्राध्यापकले क्षेत्रीय इतिहास लेखनमा जोड दिएका छन् ।

इतिहास, संस्कृति र पर्यटन विषयमा यहाँ भएको राष्ट्रिय गोष्ठीका सहभागीले ‘जनताको इतिहास’ लेखिनुपर्नेमा मत जाहेर गरे । ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको स्थिति उजागर गर्ने उद्देश्यले गोष्ठीको आयोजना गरिएको हो ।

त्रिवि इतिहास केन्द्रीय विभाग र नेपाल इतिहास सङ्घद्वारा आयोजित गोष्ठीमा नेपाल इतिहास सङ्घका सभापति प्रा डा सुरेन्द्र केसीले इतिहास बाधक होइन, साधक हो भन्दै इतिहासलाई समाजका हरेक क्षेत्रसँग जोड्नुपर्नेमा जोड दिए । उनले क्षेत्रीय भाषा, जातजाति, संस्कृति, इतिहास, पर्यटनलगायत सबै क्षेत्रको इतिहास लेख्नुपर्छ भने ।

त्रिवि इतिहास विषयका प्रा डा कृष्णबहादुर थापाले इतिहास विषयप्रति विद्यार्थीको आकर्षण घट्नु चिन्ताजनक रहेको उल्लेख गरे । “संसारमै इतिहास विषय सङ्कटमा परेजस्तो देखिन्छ, हामीकहाँ पनि समस्या छ” प्रा डा थापाले भने “इतिहास मात्र नभएर समग्र मानविकी सङ्कायमै विद्यार्थी घटेका छन् ।” उनले इतिहास विषयप्रति विद्यार्थीको आकर्षण बढाउन विश्वविद्यालयले समयसापेक्ष पाठ्यक्रम निर्माण गर्नुपर्ने बताए ।गोष्ठीले बागलुङ र आसपासको ऐतिहासिक खोज, अनुसन्धानमा ठूलो टेवा पु¥याएको उनको भनाइ छ ।

दरबार र राजा–महाराजाको मात्र इतिहास लेखिने पुरानो परम्परालाई गोष्ठीले तोड्दै आएको इतिहास सङ्घका महासचिव डा शोभाखर कँडेलले बताए ।

शनिबार सम्पन्न गोष्ठीले बागलुङ घोषणापत्र समेत जारी गरेको छ । घोषणापत्रमा ऐतिहासिक, धार्मिक, सांस्कृति र पर्यटकीय क्षेत्रका पहिचान र उजागर गरिनुपर्ने, इतिहास लेखन र निर्माणमा अनुसन्धानकर्ताको ध्यानाकर्षण गराउनेलगायत बुँदा उल्लेख छन् । दुई दिनसम्म चलेको गोष्ठीमा पाँच शीर्षकमा कार्यपत्रसमेत प्रस्तुत गरिएको थियो । ‘गलकोट राज्यको इतिहास’ विषयमा गलकोट बहुमुखी क्याम्पसका प्रा कृष्णप्रसाद गौतम र ‘ऐतिहासिक दुष्टिमा म्याग्दी जिल्ला’ शीर्षकमा प्रा कर्णबहादुर बानियाँले कार्यपत्र प्रस्तुत गरेका थिए ।

यस्तै ‘धवलागिरिमा पर्यटन प्रवद्र्धन, सम्भावना र चुनौती’ विषयमा डा सुदर्शन सिलवाल, ‘बागलुङको सङ्क्षिप्त ऐतिहासिक सिंहालोकन’ शीर्षकमा सहप्राध्यापक विष्णुप्रसाद शर्मा र ‘नेपाली भाषाको ऐतिहासिक पृष्ठभूमिमा धवलागिरिको योगदान’ शीर्षकमा सहप्राध्यापक डा दिनबहादुर थापाले कार्यपत्र प्रस्तुत गरेका थिए ।

गोष्ठीले धवलागिरि क्षेत्रको ऐतिहासिक खोज र इतिहास लेखनमा ठूलो योगदान दिएको स्थानीय आयोजक धवलागिरि बहुमुखी क्याम्पसका प्रमुख रामप्रसाद उपाध्यायले प्रतिक्रिया दिए । गोष्ठीमा ७० भन्दा बढी प्राध्यापक, शिक्षक सहभागी थिए ।

विश्वविद्यालय अनुदान आयोगको सहयोग र नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गरेको गोष्ठीमा सहभागीले स्थलगत अवलोकन भ्रमणसमेत गरेका थिए । बागलुङमा रहेका ऐतिहासिक गलकोट दरबार, धार्मिकस्थल बागलुङ कालिका मन्दिर र पञ्चकोट धाम, म्याग्दीको गलेश्वरधाम, पर्वतको गुप्तेश्वर गुफालगायत क्षेत्रको अध्ययन भ्रमणसमेत गरिएको इतिहास सङ्घले जनाएको छ । सङ्घले बर्सेनि क्षेत्रीयस्तरमा इतिहास विषयका विभिन्न आयाममा राष्ट्रिय गोष्ठी सञ्चालन गर्दै आएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप