महिलाको सक्रियतामा सडक निर्माण : पुरुषले पनि दिए साथ
सोमबार, २२ जेठ २०७४, ०८ : ३८
म्याग्दी, २२ जेठ - अन्नपूर्ण गाउँपालिका–८ नांगीमा महिलाको सक्रियतामा सडक आयोजना निर्माण भएको छ ।
साविक राम्चे गाविसको १ र २ नम्बर मा पर्ने नांगी गाउँका महिलाले सिप र श्रम प्रयोग गरेर सडक स्तरवृद्धि गरेका हुन् । फलामेडाँडा–नांगी–राम्चे सडक आयोजनाको भ¥याङबराह र झिमडाँडा क्षेत्रको सडक सोलीङ गर्ने काममा महिला परिचालन भएका उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण गर्बुजाले बताए ।
“चार सय २५ मिटर सडकमा ढुङ्गा बिछ्याएर सोलीङ गर्ने कार्यमा महिला खटिएका थिए” अध्यक्ष गर्बुजाले भने, “डेढ सय जना महिलाले एक÷एक दिन श्रमदान र पाँच÷पाँच दिन ज्यालामा काम गरेर सडकमा ढुङ्गा बिछ्याएका हुन् ।” उक्त योजनाका लागि जिल्ला समन्वय समितिले पाँच लाख र साविक गाविस कार्यालयले तीन लाख ५० हजार बजेट विनियोजन गरेको थियो ।
हिलोमा सवारीसाधन फस्ने समस्या भएको ठाउँमा ढुङ्गा बिछ्याएपछि सहज भएको छ । कच्ची सडकमा सवारीसाधन हिलोमा फस्ने समस्याले गर्दा आवतजावतमा कठिनाइ भएपछि गाउँका सबै महिला मिलेर सडक निर्माण गरेको उपभोक्ता समितिका सचिव माया पुनको भनाइ छ ।
सडक निर्माणका क्रममा महिलालाई गाउँका पुरुषले पनि साथ दिएका थिए । पुरुष रोजगारीका लागि विदेश र सहरमा गएकाले नांगीमा सञ्चालन हुने खानेपानी, सडक, भवन निर्माणलगायतका योजनामा महिलाको सहभागिता बढी हुने गर्छ ।
गत वर्ष पनि फलामे डाँडा नांगी राम्चे सडक आयोजनाको काम महिलाकै सक्रियतामा भएको थियो ।
रासस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण