मन्त्री छान्ने ४ घण्टा लामो माओवादी बैठकमा क–कसले मागे मन्त्री पद ?
काठमाडौं, जेठ २४ लामो रस्साकस्सीका बीच माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा पार्टीबाट सहभागि हुने तीन मन्त्रीको नाम टुंगो लगाएको छ । बुधबार अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको हेडक्वार्टर बैठकले कृष्णबहादुर महरा, जनार्दन शर्मा र प्रभू शाहको नाम टुंगो लगाएको हो ।
करीब ४ घण्टा लामो बैठकले धेरै आकांक्षीबाट उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालय सम्हाल्ने गरी कृष्णबहादुर महराको नाम टुंगो लगाएको छ भने जनार्दन शर्मा प्रभाकरले गृह मन्त्रालय सम्हाल्नेछन् । यस्तै प्रभू शाहले विना विभागीय मन्त्रीको रुपमा सपथ लिनेछन् । सो बैठकमा नेताहरु टोपबहादुर रायमाझी, अग्नी सापकोटा, हरिबोल गजुरेल लगायतले आफू मन्त्री हुनुपर्ने माग राखेका भएपनि पहिलो चरणमा मन्त्री बन्ने सूचिमा अटाएनन् ।
यस्तै अध्यक्ष प्रचण्डले भने पार्टीको छबी कायम राख्दै राम्रो काम गर्न सक्नेहरुलाई मन्त्री बनाउनु पर्ने धारणा राखेका थिए ।
बैठकमा कसले के भने ?
अध्यक्ष प्रचण्ड अहिले सरकारमा जाने मन्त्रीहरुको पर्सनालिटी पनि हुनुपर्छ । हामीले अहिले सरकारमा अनुभवि र राम्रो काम गरेकाहरुलाई पठाउनु पर्छ । महराजीले गठबन्धन बनाउन राम्रो भूमिका खेल्नु भयो । त्यस्तै जनार्दन शर्माले मेरो नेतृत्वको सरकारमा ऊर्जामन्त्री हुँदा स्टार क्याम्पेनर नै बन्नुभयो । उस्तै परे उहाँकै नेतृत्वमा जाँदा पनि हुन्छ । हामीले चुनावमा चामल पनि बेच्न सकेनौं । अबको दोस्रो चरणमा यो कुरालाई मनन गर्न जरुरी छ । पहिला भन्दा हामी सुधे्रका छौं । विचार, संगठन र संस्कृतिलाई अझ राम्रो बनाउनु पर्छ । माओवादी सकियो भनेका पनि थिए । अब माओवादी उठ्यो । सरकारमा जाने मन्त्रीहरुले जनताका पक्षमा सबैभन्दा राम्रो काम गर्नुपर्छ । सबैले म मन्त्री हुन्छु भनेर पनि भएन । ठाउँपनि हुनुपर्यो । दाबी गर्ने साथीहरुलाई भावी दिनमा हेर्दै जाऔंला ।
रामबहादुर थापा बादल अध्यक्ष कमरेडले राख्नु भएको निर्णय सही छ । पार्टी एकताले हामीलाई मजबुद बनाएको छ । पार्टीलाई थप शक्तिशाली बनाउन सरकारमा जाने साथीहरुले धेरै राम्रा काम गरेर देखाउनु पर्छ ।
नारायणकाजी श्रेष्ठ मन्त्री छान्न विधि प्रक्रिया प्रष्ट बनाउनुपर्छ । अहिलेको परिस्थितिमा अध्यक्ष कमरेडले राखेका कुरा सही छन् । सिनियरबाट टोपबहादुरजी उपप्रम हुनुभयो । महराजी भइसक्नुभयो । हरिबोल गजुरेल र गिरीराजमणि पोखरेलको पनि पालो हो । अहिलेको गठबन्धनमा नेतृत्व गरेर जानेमा महरासँग अनुभव पनि छ ।
टोपबहादुर रायमाझी म दलको उपनेता हुँ । प्रचण्ड दलको नेता हुनुहुन्छ। अब सरकारको नेतृत्व मैले गर्नुपर्छ भन्ने मेरो दाबी छ। पार्टीले गरेका निर्णयलाई मैले अवज्ञा गर्ने भन्ने कुराचाहिँ हुँदैन ।
कृष्णबहादुर महरा म सरकार जान इन्ट्रेस्ट छै्रन । अब फेरि पार्टीले जान भन्छ भने मैले जान्न भन्न मिल्दैन । नेतृत्व गर्न सक्ने साथीहरु पार्टीमा धेरै छन् ।
वर्षमान पुन अनन्त अध्यक्षले राख्नु भएको प्रस्ताव ठीक छ । अहिलेको परिस्थितमा यो निर्णय नै उत्तम हो ।
शक्ति बस्नेत म मन्त्रीका लागि लुछाचुँडी गर्ने पक्षमा छैन । हामी तेश्रो पार्टीमा झर्दासम्म चेत खुलेन भने कहिले खुल्ने ? ‘मन्त्री केही पनि होइन, पार्टी बनाउन लाग्नुप¥यो । म देउवा सरकारमा मन्त्री हुन्न । देशभरका कार्यकर्ता, समर्थक र मतदाताले पार्टी नेताहरुका गतिविधि र व्यवहारको सुक्ष्म अध्ययन गरिरहेको् छन् । पदका लागि मरिहत्ते गर्ने प्रवृत्ति छाड्नुपर्ने बेला आएको छ ।
गोपाल किराती साथीहरु निर्णय गर्दै गर्नुहोला । पार्टीलाई राम्रो बनाउनु पर्छ । मेरो प्लेन छुट्न लाग्यो । म हिँडे ।
अग्नी सापकोटा अहिलेको मन्त्रिमण्डलमा जानु पाउनुपर्छ भन्ने मेरो दाबी छ । म हरेक कुराले मन्त्री बन्न योग्य छु । यो मेरो कुरालाई पार्टी नेतृत्वले स्वीकार गरिदिनुपर्छ ।
मणि थापा अबका मन्त्रीहरुले राम्रो काम गरेनन् भने म सार्वजनिक रुपमा विरोधमा उत्रिन्छु । पार्टी एकताले माओवादीको शाख बढेको छ । यसलाई अझैं बढाउन जनताको पक्षमा काम गर्ने कुरामा बढी दिनुपर्छ । मन्त्री बन्ने फोटो झुण्ड्याउने तर केहि काम नगर्नेहरुलाई मन्त्री बनाइरहनु हुँदैन ।
जनार्दन शर्मा पार्टीले जे निर्णय गर्छ म त्यसलाई लागू गर्छु । पार्टीले मन्त्री बन् भने म पछि हड्दिनँ । पार्टीलाई सफल बनाउने कुरा नै मुख्य कुरा हो । म मन्त्री बन्नु र नबन्नु कुनै ठूलो कुरा होइन ।
हरिबोल गजुरेल पार्टीमा को मन्त्री बन्ने भन्दा पनि कसरी बनाउने भन्ने सिस्टमै छैन । मन्त्री छान्ने मापदण्डको आधार के हो भन्ने पनि तय हुनुपर्छ । मूल्यांकन तिर ध्यान दिऔं । मेरो यसैमा जोड छ ।
देव गुरुङ यस्तो बेलामा सिस्टमका कुरा र मूल्यांकनका कुरा नउठाऔं । पछि गर्दै गरौंला । सिएमले राखेको योजना ठीक छ । यो नै उत्तम विधि हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण