शिक्षकलाई पढाउन मात्र लगाउने काम चुनौतीपूर्ण : उपप्रम श्रेष्ठ
बुधबार, २४ जेठ २०७४, १९ : १३
प्रकाश सिलवाल
काठमाडौँ, जेठ २४ ‘शिक्षकले आफ्नो मूल पेसा छाडेर अरु अरु पेसा पनि गरेको देख्छु, यस्तो समस्याका कारण शिक्षा क्षेत्र जर्जर बनेको छ । पढाउन गए पनि हुने र नगए पनि हुने प्रवृत्तिलाई चिन्नुपर्छ । अर्कोतिर गुरुको सम्मानमा पनि ह्रास आएको छ । उस्तै परे शिक्षक र विद्यार्थीसँगै चुरोट र रक्सी खाइरहेका भेट्टाउन सकिन्छ ।’ नवनियुक्त उपप्रधानमन्त्री एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठको भनाइ हो यो ।
पद बहालीपछि सिंहदरबारस्थित मन्त्रालयमा आयोजित स्वागत समारोहमा उपप्रधानमन्त्री श्रेष्ठले गुणस्तरीय शिक्षा पूर्तिका लागि शिक्षकको भूमिका प्रमुख रहेको आौल्याउँदै सामुदायिक विद्यालयमा माविसम्म निःशुल्क व्यवस्था गरिए पनि विद्यार्थी महङ्गो शुल्क तिरेर निजी विद्यालय किन जान्छन् भन्ने प्रश्न कर्मचारीसँग राखे । गृह जिल्ला स्याङ्जामा त्रिभुवन आदर्श क्याम्पस व्यवस्थापन समितिको अध्यक्ष भएकाले पनि होला मन्त्री श्रेष्ठले सार्वजनिक शिक्षाको गुणस्तर खस्केकामा चिन्ता व्यक्त गर्नमा आफ्नो पहिलो मन्तव्यलाई केन्द्रित गरे ।
मुलुकलाई कता डोर्याउने र कलिला माटो मानिने बालबालिकाको भविष्यको जिम्मा आफ्नो मन्त्रालयमा रहेको बताउँदै उनले कोरा शिक्षा मात्र नभई कार्यमूलक, आत्मनिर्भर र प्राविधिक शिक्षामा जोड दिए। उनले युवाको विदेश पलायन रोक्ने, बालश्रमको अन्त्य गर्ने तथा स्थानीय तहमा शिक्षाको अधिकार स्थानान्तरण गर्ने सरकारको दायित्वमा आफूलाई सहयोग गर्न कर्मचारीलाई आग्रह गरे ।
‘म सही र सत्य कुरा सबैको सुन्छु, कसैलाई विभेद गर्दिनँ, सबै मिलेर शिक्षा क्षेत्रलाई बनाउँ, शिक्षा बनेमा मुलुकको विकास सम्भव छ’– मन्त्री श्रेष्ठको आग्रह थियो ।
सुरक्षित विद्यालय नीति आउने
मन्त्री श्रेष्ठले बहालीपछि सुरक्षित विद्यालय नीति, २०७४ को मस्यौदालाई अन्तिम रुप दिन सहसचिव बैकुण्ठ अर्यालको संयोजकत्वमा कार्यदल गठन गर्ने प्रस्तावलाई स्वीकृत गर्नुभएको छ । विनाशकारी भूकम्प र अन्य प्रकोपका कारण प्रभाावित विद्यालयलाई सुरक्षित बनाउने विषय सो नीतिमा समावेश छ ।
विद्यालयका अध्यक्षदेखि शिक्षामन्त्रीसम्म
नवनियुक्त शिक्षामन्त्री श्रेष्ठ त्रिभुवन आदर्श क्याम्पस (उमावि) व्यवस्थापन समितिको वर्तमान अध्यक्षसमेत हुन् । आफ्ना दाइ र भाउजूका नाममा खोलिएको काजीमान हरिटीका क्याम्पसमा पनि लामो समयदेखि आफ्नो तर्फबाट उनले सहयोग गर्दै आएको छ ।
विसं २००१ मा स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं ३ मा जन्मनुभएका श्रेष्ठ विसं २०४८ को निर्वाचनमा सो जिल्लाको क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित भई वाणिज्यमन्त्री बन्नुभएको थियो । विसं २०५६ को निर्वाचनमा पनि उनी पुनः सांसदमा विजयी भए र नेपाली काँग्रेस संसदीय दलको मुख्य सचेतक बने । विसं २०५८ मा वनमन्त्री भएका श्रेष्ठ तत्कालीन नेपाली काँग्रेस (प्रजातान्त्रिक) को उपसभापति, कार्यवाहक अध्यक्ष र विसं २०७३ मा भौतिक योजना तथा पूर्वाधार विकासमन्त्री भएको थियो । हाल उनी समानुपातिकतर्फको सांसद र काँग्रेसका केन्द्रीय सदस्य छन् ।
मन्त्री श्रेष्ठलाई मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ र विभागीय प्रमुखले स्वागत गरेको थियो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण