शिक्षासेवी पौडेलको निधन, कालीगण्डकीमा अन्त्येष्टी
बागलुङ, २५ जेठ । बागलुङका शिक्षासेवी एवम् कर्मठ समाजसेवी हेमराज शर्मा पौडेलको निधन भएको छ । ८६ वर्षीय पौडेलको उपचारका क्रममा काठमाडौँस्थित शिक्षण अस्पतालमा मंगलबार साँझ निधन भएको हो ।
पौडेलको पार्थिव शरीरलाई बागलुङ ल्याई बुधबार कालीगण्डकी तटमा अन्येष्टि गरिएको छ । स्व पौडेललाई व्यवस्थापिका–संसद्का सदस्य प्रकाश शर्मा पौडेल, बागलुङ नगरपालिकाका प्रमुख जनक पौडेललगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्ति र सयौँ सर्वसाधारणले अन्तिम श्रद्धाञ्जलि दिएका छन् ।
विसं १९८९ मा हालको बागलुङ नगरपालिका–१२ पैंयुपाटामा जन्मनुभएका पौडेल समाज सुधारकको रुपमा परिचित थिए । बागलुङको शैक्षिक, सामाजिक विकासमा अमूल्य योगदान पु¥याएका पौडेलको निधनले सबैलाई स्तब्ध तुल्याएको छ ।
पौडेलले विसं २००७ देखिनै बलेवालगायत बागलुङका विभिन्न क्षेत्रमा विद्यालय स्थापनाको अभियान चलाएका थिए । उनले स्थापना गरेका विद्यालय अहिले क्याम्पसमा स्तरोन्नति भएका छन् ।
शिक्षाको जागरण फैलाउन पौडेलको अतुलनीय योगदान रहेको पैंयुपाटामै जन्मनुभएका सांसद प्रकाश शर्मा पौडेलले बताए । “बागलुङको शैक्षिक, सामाजिक क्षेत्रको उहाँ अगुवा हुनुहुन्थ्यो” पौडेलले भने “उहाँको निधनले अपुरणीय क्षति पुगेको छ ।” पैंयुपाटाको त्रिभुवन मावि र बलेवा पैंयुपाटा बहुमुखी क्याम्पस पौडेलकै प्रयासमा स्थापना भएको उनको भनाइ छ ।
तत्कालीन समयमा स्वास्थ्यचौकी, मठ, मन्दिर, पाटी, बाटोघाटो निर्माणमा पनि पौडेलको ठूलो योगदान रहेको उनका समकक्षीहरु बताउँछन् ।
धार्मिक प्रवृत्तिका पौडेलले आफ्नो जीवनकालमा दर्जनौँ सामाजिक, शैक्षिक, धार्मिक सङ्घसंस्थामा बसेर नेतृत्व प्रदान गरेका थिए। २००७ सालको परिवर्तनपछि पौडेलले गाउँमा ‘हलो क्रान्ति’ चलाएका थिए । ब्राह्मण परिवारका पौडेलले हलो जोत्दा तत्कालीन समयका मुखिया, ठालुले उनलाई सामाजिक बहिष्कारसमेत गरेका थिए ।
जहिलेपनि परिवर्तनका पक्षमा उभिनुहुने पौडेलले राजनीतिमा पनि सक्रिय रहेका थिए । २०३० सालमा धौलागिरि अञ्चल पञ्चायतका सभापति बनेका पौडेल २०३६ सालमा नेपाली काँग्रेसमा आबद्ध भई राजनीतिमा सक्रिय थिए ।
पौडेलले तत्कालीन सरकारबाट गोरखा दक्षिण बाहुलगायतका पदक तथा सम्मान प्राप्त गरेको थियो । स्व पौडेललाई २०७० सालमा सुगङ्गा स्मृति कोषबाट सुगङ्गा सम्मान समेत प्रदान गरिएको थियो । उनको व्यक्तित्वलाई अमर राख्न बागलुङमा हेमराज शर्मा प्रतिष्ठान पनि स्थापना गरिएको छ । शर्माका धर्मपत्नी र दुई छोरा छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालू आर्थिक वर्षमा यी न्यायाधीशले गरे सर्वाधिक मुद्दा फैसला
-
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण