बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

तेह्रथुममा नयाँ शक्ति र संघीय समाजवादी फोरमको संयुक्त चुनावी प्रचार

शुक्रबार, २६ जेठ २०७४, ०९ : ५८
शुक्रबार, २६ जेठ २०७४
२६ जेठ, म्याङलुङ – आगामी असार १४ गतेका लागि तय भएको दोस्रो चरणको स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुलाई चुनावी चटारो थपिएको छ । सबै राजनीतिक पार्टीका नेता कार्यकर्ताहरु गाउँटोलमा मतदातासँग घरदैलो गर्दै भोट माग्दैगर्दा नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमले पनि संयुक्त निर्वाचन परिचालन समिति बनाएरै चुनावी अभियानलाई तीव्र बनाएका छन् । दुई दलले यहाँस्थित एक नगरपालिका र तीन गाउँपालिकाहरुमा उम्मेदवार टुंगो लगाएर घरदैलो लगायत चुनावी अभियानलाई व्यापक बनाएका हुन् । नयाँ शक्ति र संघीय समाजवादी फोरमले संयुक्त रुपमा उम्मेदवार टुंग्याउँदै संयुक्त चुनावी गतिविधि संचालन गरेका हुन् । दुई पार्टीले यहाँस्थित म्याङलुङ नगरपालिका प्रमुखमा संघीय समाजवादी फोरमका तीर्थ अधिकारीलाई अगाडि सारेका छन् भने उपप्रमुखमा नयाँ शक्तिका मेघराज सम्बाहाम्फेलाई अगाडि सारिएको छ । त्यसैगरी नयाँ शक्ति पार्टीकै तर्फबाट जिल्लास्थित आठराई गाउँपालिका अध्यक्षमा टीकाराम गुरुङ र उपाध्यक्षमा हिमा दंगालसहित ४ र ६ गरी दुई वटा वडामा समेत उम्मेदवार टुंग्याएको छ । फेदाप गाउँपालिका अध्यक्षमा होमराज ढकाल र उपाध्यक्षमा दिल कुमारी कुरुङ्वाङसहित १, २ र ३ नम्बर वडाको उम्मेदवारी टुंग्याइएको छ । त्यस्तै मेन्छ्याम गाउँपालिका अध्यक्षमा हरि प्रसाद चोम्बाङ ९हङकङ० लाई नयाँ शक्तिले अगाडि सारेको छ भने ५ र ६ नम्बर गरी दुईवटा वडाहरुमा उम्मेदवार टुंग्याएको नयाँ शक्ति पार्टीका तेह्रथुम जिल्ला संयोजक विष्णु प्रसाद दाहालले बताए । बाँकी रहेको लालीगुराँस नगरपालिका र छथर गाउँपालिका तथा अन्य वडाहरुको उम्मेदवार पनि छिट्टै संघीय समाजवादी फोरमसँगको छलफलमा टुंग्याउने संयोजक दाहालले जानकारी दिए । उम्मेदवारहरुको टुंगो लागेसँगै नयाँ शक्तिले चुनावी अभियानलाई तीव्र र व्यापक बनाउनको लागि जिल्ला संयोजक दाहालकै संयोजकत्वमा ३०० सदस्यीय निर्वाचन परिचालन समिति निर्माण गरेको छ । पार्टीले गाउँपालिका तथा नगरपालिकाहरुमा गाउँ तथा नगर कमिटी निर्माण गर्नुको साथै वडाहरुमा समेत वडा कमिटी निर्माण गर्ने कार्यलाई तीव्र ढंगले अघि बढाएको छ । पार्टीले चुनावी गतिविधिलाई व्यापक बनाउनकै लागि गाउँ टोलमा हुने चुनावी सभालाई सम्बोधन गर्न वक्तासमेत तोकेको छ भने गाउँगाउँमा स्वयम् सेवक दल निर्माण गरी प्रचार प्रसारमा परिचालन गरेको संयोजक दाहालले बताए । नयाँ शक्तिले गाउँगाउँमा चुनावी भेलाहरु सम्पन्न गरी आठराई गाउँपालिकामा ५१ सदस्यीय गाउँपालिका कमिटी, फेदाप गाउँपालिकामा ५१ सदस्यीय गाउँ कमिटीसहित नगरपालिका तथा गाउँपालिकाहरुमा वडा कमिटी निर्माण गरी निर्वाचन गतिविधिलाई तीव्र बनाएको नयाँ शक्तिकी केन्द्रीय कार्यकारी समिति सदस्य देवमाया लिम्बुले बताए । मेन्छ्यायम गाउँपालिका नमूना बन्ने यहाँस्थित मेन्छ्यायम गाउँपालिकालाई नमूना गाउँपालिका बनाउने नयाँ शक्ति पार्टीका तर्फबाट अध्यक्ष पदका दाबेदार हरि प्रसाद चोम्बाङ ९हङकङ०ले बताएका छन् । उनले गाउँलाई स्मार्ट गाउँपालिका बनाउने, यहाँको पूर्वाधार विकास गर्ने, रिङरोड निर्माण गर्ने, गाउँलाई उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा परिचित गराउने, अस्पताल, वृद्धाश्रम, बालउद्यान निर्माण गरी नमूना गाउँपालिका बनाउने योजना रहेको बताए । अध्यक्ष पदका उम्मेदवार चोम्बाङले ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई निःशूल्क यातायात सेवा दिने र गाउँपालिकाका बस्तीहरुलाई एकीकृत गरी नमूना बस्ती विकास गरी सुविधासम्पन्न गाउँपालिका बनाउने योजना रहेको बताए । साथै उनले पार्टीले प्रतिबद्धतापत्रमा कल्पना गरेको स्मार्ट गाउँपालिकाको अवधारणालाई लागू गर्नेसमेत बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप