बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय
बागमती प्रदेश

बागमती प्रदेशसभाका पदाधिकारी तथा सांसदले के–कति सुविधा पाउँछन् ?

आइतबार, १७ पुस २०७९, १२ : ४२
आइतबार, १७ पुस २०७९

हेटौँडा । बागमती प्रदेशका प्रदेशसभा सदस्यले गत पुस १४ गते पद तथा गोपनीयताको शपथ लिइसकेका छन् । प्रदेशसभा सचिवालय हेटौंडामा प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले सांसदहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । योसँगै नवनिर्वाचित सांसदहरुको कार्यकाल सुरु भएको छ ।

यता प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन बैठक पुस १८ गतेका लागि आह्वान गरिएको छ । उक्त बैठकबाट प्रदेशसभाको कार्यकाल पनि विधिवत रुपमा सुरु हुनेछ । ११० सदस्यीय बागमती प्रदेशसभामा ७ वटा दलको प्रतिनिधित्व छ । जसमा सबै दलले संसदीय दलको हैसियत प्राप्त गरेका छन् ।

दलहरु संसदीय हैसियत अनुसार संसदीय दल गठनमा जुटेका छन् । दलको नेता, प्रमुख सचेतक, सचेतक र सदस्यहरु छनौटमा दलहरुको सक्रियाता बढेको छ । यससँगै प्रदेशसभामा सांसद र अन्य पदाधिकारीको तलब र सुविधाबारे पनि चासो बढ्दो छ ।

बागमती प्रदेशमा कांग्रेसले ३७ सिट जितेको छ भने एमालेले २७, माओवादी केन्द्रले २१, राप्रपाले १३, एकीकृत समाजवादीले ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीले २ सिट जितेको छ । सोही अनुसार दलहरुले प्रदेशसभाबाट सेवा तथा सुविधा प्राप्त गर्नेछन् ।

प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५ मा प्रदेशसभा सदस्यले शपथ गरेकै दिनदेखि सेवा सुविधा पाउने व्यवस्था छ ।

११० सदस्यीय बागमती प्रदेशसभामा सभामुख, उपसभामुख, विपक्षी दलको नेता, मुख्य सचेतक, दलको प्रमुख सचेतक, विपक्षी दलको प्रमुख सचेतक र समिति सभापतिहरु पदाधिकारी हुने व्यवस्था छ । प्रदेशसभामा पदाधिकारी र प्रदेशसभा सदस्यहरुको सेवा सुविधा फरकफरक रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभा सदस्यले शपथ ग्रहण गरेकै दिनदेखि मासिक पारिश्रमिक ५२ हजार २०० रुपैयाँ पाउनेछन् । प्रदेशसभा वा समितिको बैठकमा भाग लिए बापत प्रतिदिन १ हजार रुपैयाँ र यातायात खर्च बापत प्रतिदिन १ हजार रुपैयाँ बैठक भत्ता पाउने व्यवस्था छ ।

प्रदेशसभा सदस्यले सञ्चार सुविधा (टेलिफोन, इन्टरनेट र पत्रपत्रिका) बापत मासिक १ हजार ५०० रुपैयाँ, आवास सुविधा बापत मसिक १५ हजार रुपैयाँ, पाँच वर्षको एक पटक फर्निचर एकमुष्ट ५० हजार रुपैयाँ, बिजुली र धारा प्रयोग गरेबापत मासिक २ हजार रुपैयाँ, अतिथि सत्कारबापत मासिक ३ हजार रुपैयाँ, प्रदेशसभाको काममा भ्रमण गर्दा दैनिक २ हजार रुपैयाँ, विदेश भ्रमण गर्दा प्रतिदिन अमेरिकी डलर १७५ र यात्रा बिमा बापत प्रति यात्रा १० लाख रुपैयाँको सुविधा प्राप्त गर्ने व्यवस्था छ ।

यसका अतिरिक्त प्रदेशसभा सदस्यको सचिवालय व्यवस्थापन गर्न नायव सुब्बा सरहका एक जना स्वकीय सचिव राख्न पाउनेछन् । सो स्वकीय सचिवको पारिश्रमिक मासिक ३४ हजार ७३० रुपैयाँ तोकिएको छ ।

यता प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुका संसदीय समितिका पदाधिकारीले पनि सुविधा प्राप्त गर्नेछन् । संसदीय दलको प्रमुख सचेतक, सत्तापक्षका सचेतक र विपक्षी दलको सचेतकले मासिक ५४ हजार ५२० रुपैयाँ पारिश्रमिक पाउने छन् भने सचिवालय व्यवस्थापन बापत मासिक १ हजार २०० रुपैयाँ, अतिथि सत्कारबापत मासिक ३ हजार ५०० रुपैयाँ र अन्य सदस्यहरु सरहको सुविधा पाउनेछन् । यस्तै, सुब्बा सरहको स्वकीय सचिव र सवारी चालक एक जनाको सुविधा पाउने छन् ।

त्यसैगरी प्रदेशसभाको सत्तापक्ष दलको मुख्य सचेतक, विपक्षी दलको मुख्य सचेतक, समितिका सभापतिहरुले पारिश्रमिक बापत मासिक ५६ हजार ८४० रुपैयाँ, बैठक भत्ता एक हजार रुपैयाँ, सञ्चारबापत मासिक २ हजार रुपैयाँ, आवास सुविधा २५ हजार रुपैयाँ, वार्षिक रुपमा फर्निचर खरिदबापत ५० हजार रुपैयाँ, सचिवालय व्यवस्थापनबापत मासिक १ हजार ७५० रुपैयाँ, अतिथि सत्कारबापत मासिक ४ हजार रुपैयाँ, मासिक रुपमा १२५ लिटर सवारी इन्धन तथा ५ लिटर मोबिल, बिजुली र धारा प्रयोगबापत मासिक २ हजार रुपैयाँ, स्वदेश भ्रमणबापत दैनिक २ हजार रुपैयाँ, अतिथि सत्कार बापत ५ हजार रुपैयाँ र विदेश भ्रमणबापत १७५ अमेरिकन डलर तथा १० लाख रुपैयाँको बिमा सुविधा प्राप्त गर्नेछन् । सुब्बा सरहको स्वकीय सचिव र सवारी चालक एक जनाको सुविधा रहेको छ ।

यता प्रदेशसभाको उपसभामुख, विपक्षी दलको नेताले मासिक ५८ हजार रुपैयाँ पारिश्रमिक पाउनेछन् भने बैठक भत्ता एक हजार रुपैयाँ, सञ्चार सुविधाबापत उपसभामुखलाई मासिक ३ हजार रुपैयाँ र विपक्षी दलको नेतालाई मासिक २ हजार रुपैयाँ, उपसभामुखलाई आवास सुविधा उपलब्ध हुन्छ भने विपक्षी दलको नेतालाई आवास सुविधाबापत मासिक २५ हजार रुपैयाँ उपलब्ध हुनेछ । विपक्षी दलको नेतालाई वार्षिक रुपमा फर्निचर खरिदबापत एकमुष्ट ५० हजार रुपैयाँ सुविधा उपलब्ध हुन्छ । सचिवालय व्यवस्थापनबापत मासिक १ हजार ७५० रुपैयाँ, मासिक रुपमा १२५ लिटर इन्धन, मोबिल ५ लिटर, बिजुली र धारा प्रयोगबापत बिल अनुसार वा मासिक २ हजार रुपैयाँ, स्वदेश भ्रमणबापत २ हजार रुपैयाँ, विदेश भ्रमण बापत १७५ अमेरिकी डलर तथा १० लाख रुपैयाँको बिमा सुविधा प्राप्त गर्नेछन् । सचिवालयका लागि शाखा अधिकृतस्तरको कर्मचारी एक, कम्प्युटर अपरेटर एक, उपसभामुखलाई कार्यालय सहयोगी २ र विपक्षी दलको नेतालाई एक जना कार्यालय सहयोगी, सवारी चालक एक जनाको सुविधा उपलव्ध हुनेछ ।

उता सभामुखलाई भने ६१ हजार ४८० रुपैयाँ पारिश्रमिक, बैठक भत्ता १ हजार रुपैयाँ, आवास सुविधा रहने छ भने सञ्चार सुविधा बापत मासिक ५ हजार रुपैयाँ, सचिवालय व्यवस्थापन बापत मासिक २ हजार रुपैयाँ, १५० लिटर सवारी इन्धन, मोबिल १० लिटर, बिजुली र पानी बिल अनुसार, अतिथि सत्कारबापत मासिक १० हजार रुपैयाँ, दैनिक भ्रमण भत्ता २ हजार ५०० रुपैयाँ, विदेश भ्रमणबापत २०० अमेरिकन डलर, १० लाख बिमा सुविधा, स्वकीय सचिवमा उपसचिव वा शाखा अधिकृतस्तर एक जना, कम्प्युटर अपरेटर एक जना, कार्यालय सहयागी एक जना र सवारी चालक २ जनाको सुविधा रहने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप