मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

रुसी बेटिङ कम्पनीसँगको सम्बन्धका कारण पिर्लो इटालीको मुख्य प्रशिक्षकको दौडबाट बाहिरिए

मङ्गलबार, १२ साउन २०८३, १० : १७
मङ्गलबार, १२ साउन २०८३

सारांश

  • रुसी बेटिङ कम्पनीसँगको सम्बन्धका कारण पूर्वफुटबलर आन्द्रे पिर्लो इटालीको राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको दौडबाट बाहिरिएका छन्।
  • पिर्लोले गत अक्टोबरमा रुसी बेटिङ कम्पनी फनबेटको ग्लोबल ब्रान्ड एम्बेसडरका रूपमा काम सुरु गरेका थिए।
  • यस विवादसँगै इटालियन फुटबल थप सङ्कटमा परेको छ र हाल इटालीको प्रशिक्षकका लागि एन्टोनिओ कोन्टे र रोबर्टो मान्चिनीको नाममा छलफल भइरहेको छ।

रोम । रुसी बेटिङ कम्पनीसँगको सम्बन्धका कारण विवादमा तानिएपछि पूर्वफुटबलर आन्द्रे पिर्लो इटालीको राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको दौडबाट बाहिरिएका छन्। 

इटालीको फुटबल महासङ्घ (एफआइजीसी) ले औपचारिक पुष्टि नगरे पनि उनको नियुक्ति लगभग पक्का मानिएको थियो।

कम्पनीले युक्रेन आक्रमणमा संलग्न मस्कोका पूर्वसैनिकहरूसँग सम्बन्धित खेलकुद गतिविधिमा प्रायोजन गरेको र क्रेमलिन समर्थकहरूसँगै पिर्लो उपस्थित भएका कार्यक्रमहरू आयोजना गरेको पाइएको छ। यसै विषयलाई लिएर इटालीका राजनीतिज्ञहरूले आलोचना गरेपछि स्थिति बिग्रिएको हो। 

पिर्लोले गत अक्टोबरमा रुसी बेटिङ कम्पनी फनबेटको ग्लोबल ब्रान्ड एम्बेसडरका रूपमा काम सुरु गरेका थिए। यो विवादसँगै इटालियन फुटबल थप सङ्कटमा परेको छ। 

एफआईजीसीका प्राविधिक निर्देशक पाओलो माल्दिनी र उनका सल्लाहकार लियोनार्डोले राजीनामा दिने निर्णय गरेका छन्। लगातार तेस्रोपटक विश्वकपमा छनोट हुन असफल भएपछि टोलीलाई पुनर्गठन गर्न र नयाँ प्रशिक्षक खोज्न उनीहरूलाई जिम्मेवारी दिइएको थियो।

पिर्लोले सामाजिक सञ्जाल इन्स्टाग्राममा लेख्दै आफू मुख्य प्रशिक्षकको दौडमा नरहेको पुष्टि गरेका छन्। ‘आफ्नो नामलाई लिएर भएका बहसहरू देखेर दुःख लागेको छ,’ उनले भने, ‘दुबईको युनाइटेड एफसीका लागि गरेको व्यावसायिक सहकार्य विशुद्ध व्यापारिक र खेलकुदसँग मात्र सम्बन्धित थियो।’ यसलाई राजनीतिक अर्थ दिएर आफूले कहिल्यै नराखेका धारणा थोपर्न खोजिएको दाबी उनले गरेका छन्।

सन् २०२२ पछि रुसको प्रचारप्रसार गर्ने व्यक्तिले राष्ट्रिय पद सम्हाल्न नहुने तर्क इटालियन राजनीतिज्ञहरूले गरेका छन्। अर्कोतर्फ रोमस्थित रुसी राजदूत अलेक्सी पारामोनोभले भने पिर्लोको समर्थन गर्दै आफ्नै देशमा उनलाई बहिष्कार गरिनु दुःखद भएको बताएका छन्।

यसअघि मस्कोमा आयोजित फनबेटको कार्यक्रममा पिर्लो र पूर्व सहकर्मी मार्को मातेराजी सहभागी भएका थिए। सोही दिन रुसले युक्रेनमा ठुलो आक्रमण गरेको भन्दै युक्रेनी खेलाडी भ्लादिस्लाभ हेरास्केभिचले पिर्लोको आलोचना गरेका थिए।

अप्रिलमा बोस्निया एन्ड हर्जेगोभिनासँग पेनाल्टीमा पराजित भई विश्वकपमा छनोट हुन नसकेपछि प्रशिक्षक जेन्नारो गटुसोले पद छाडेका थिए। त्यसपछि पेप ग्वार्डिओला र कार्लो एन्चेलोटिलाई प्रस्ताव गरिए पनि उनीहरू तयार भएनन्। हाल इटालीको प्रशिक्षकका लागि एन्टोनिओ कोन्टे र रोबर्टो मान्चिनीको नाममा छलफल भइरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप