आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

तिलोत्तमाका भूमिहीनलाई लालपुर्जा वितरण

शुक्रबार, २२ पुस २०७९, ११ : ५३
शुक्रबार, २२ पुस २०७९

रुपन्देही । रुपन्देहीको तिलोत्तमामा भूमिहीनलाई लालपुर्जा वितरण गरिएको छ । तिलोत्तमा नगरपालिका र नापी कार्यालय भैरहवाको समन्वयमा तिलोत्तमा नगरपालिका वडा नम्बर १५ र १७ का १ सय १० घरधुरीलाई लालपुर्जा वितरण गरिएको हो ।

बिहीबार एक कार्यक्रमको आयोजना गरी नगरप्रमुख रामकृष्ण खाँण र उपप्रमुख जागेश्वरदेवी चौधरीले पुर्जा वितरण गरेका हुन । ७० वर्षदेखि भोगचलन गर्दै आएका भूमिहीनहरूले हालसम्म पनि जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) पाएका थिएनन् ।

लालपुर्जा वितरण कार्यक्रममा बोल्दै नगरप्रमुख रामकृष्ण खाणँले जग्गाधनी पुर्जा वितरण गर्नु खुसीको कुरा भएको बताए । एक पुस्ता बितिसक्दा समेत लालपुर्जा नपाएका भूमिहीनहरूको लागि खुसीको कुरा भएको उनले बताए । व्यवसाय गर्न ऋण लिन, विदेश अध्ययन गर्न जाने विद्यार्थीहरूका लागि समेत लालपुर्जाले अव सहज हुने उनले उल्लेख गरे ।

नगरपालिकाका उपप्रमुख जागेश्वरदेवी चौधरीले लालपुर्जा वितरणले स्थानीयमा खुसी छाएको बताइन् । नापी कार्यालय भैरहवाका प्रमुख सुग्रीव यादवले तिलोत्तमा १५ नम्बर वडामा ३५ घरधुरी र १७ नम्बर वडाका ७५ घरधुरीलाई गाउँ ब्लक अन्तर्गतको लालपुर्जा वितरण गरिएको बताए ।

रुपन्देहीमा गाउँ ब्लक संख्या १८५० रहेकोमा ६ सय ब्लकमा काम सकिएको र लालपुर्जा वितरण समेत भैसकेको उनको भनाई छ । जग्गा धनी पुर्जा दिन बाँकी १३ सय ५० गाउँ ब्लकमा विभिन्न चरणमा काम भइरहेको बताउँदै उनले लालपुर्जा नभएको क्षेत्रमा प्रक्रिया पुरा गरी वितरण गरिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप