संघीय संसद्का चार समितिको बैठक सोमबार बस्दै
सारांश
- संघीय संसद्का प्रतिनिधि सभा र राष्ट्रिय सभाका चारवटा समितिहरूको बैठक सोमबार बस्दैछ।
- अर्थ समितिले राष्ट्रिय योजना आयोगसँग आर्थिक वर्ष ०८२/८३ को कामकारबाही, १६औँ आवधिक योजना र मध्यकालीन खर्च संरचनाबारे छलफल गर्नेछ।
- शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले 'राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१' माथि छलफल गर्नेछ भने कानुन, न्याय तथा मानव अधिकार समितिले बाल सुधार गृहको प्रतिवेदनमाथि छलफल गर्नेछ।
काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाका विभिन्न चारवटा समितिको बैठक सोमबार बस्ने भएको छ।
संसद् सचिवालयका अनुसार फरक-फरक कार्यसूची तय गरिएका यी बैठकहरूमा सम्बन्धित सदस्य तथा सरोकारवालाहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको हो।
प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको १३औँ बैठक सोमबार बिहान ८:३० बजे सिंहदरबारस्थित संघीय संसद् सचिवालयको भवनस्थित समितिको कक्षमा बस्ने छ। यस बैठकमा राष्ट्रिय योजना आयोगसँग विभिन्न महत्त्वपूर्ण विषयमा जानकारी लिने कार्यसूची छ। जसमा आर्थिक वर्ष ०८२/८३ मा आयोगबाट भएगरेका मुख्य-मुख्य कामकारबाही, १६औँ आवधिक योजनाको कार्यान्वयनको अवस्था, मध्यकालीन खर्च संरचना (एमटिएफ) को कार्यान्वयनको अवस्था र राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना लगायतका विकास आयोजनाहरूको कार्यप्रगतिका बारेमा छलफल हुने छ।
यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक सोमबार दिनको १:०० बजे समितिको बैठक कक्षमा बस्ने शाखा अधिकृत बिनिता मरासिनी पन्थीले जानकारी दिइन्। यस बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ का सम्बन्धमा छलफल हुने कार्यसूची छ। उक्त बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका मन्त्री र सचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव, राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका कार्यकारी निर्देशक तथा विषय विज्ञ डा. गोपाल कुमार चौधरीलाई आमन्त्रण गरिएको छ।
सोमबार नै दिनको १:०० बजे प्रतिनिधि सभाकै कानुन, न्याय तथा मानव अधिकार समितिको आठौँ बैठक पनि बस्ने छ। सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्ने बैठकमा ‘बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३’ उपर छलफल हुने शाखा अधिकृत एलिसा श्रेष्ठले जानकारी दिइन्।
यसका साथै, राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि सोमबार नै बिहान ११:३० बजे समितिको बैठक कक्षमा बस्ने तय भएको छ। उक्त बैठकमा मधेस प्रदेशमा भएको स्थलगत अनुगमनको प्रतिवेदनको मस्यौदामाथि छलफल हुने कार्यसूची रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाका कारण सम्भावित जोखिम : बिपी राजमार्गमा तत्कालका लागि सवारी साधन ‘होल्ड’
-
अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गरिने
-
जापानका एक चौथाइभन्दा बढी नगरपालिकामा १० प्रतिशतभन्दा बढी जनसङ्ख्या घट्यो
-
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कर्मचारीकोे तलब भुक्तानी
-
काठमाडौँका सञ्चारगृह र भाटभटेनीबाहिर शंकास्पद रूपमा गाडी पार्किङ, क्रेन लगाएर उठाइयो
-
उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ५१ वटा मोटरसाइकल फेला, सम्बन्धितलाई हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण