चलचित्र क्षेत्रमा रङ्गभेद : के कलाभित्र पनि विभेदको पर्खाल छ ?
सारांश
- अभिनेत्री काजल कर्णले 'चिरञ्जिवी भवः' को सुटिङ सेटमा आफूमाथि मधेसी भएकै कारण मानसिक दुव्र्यवहार र अपमान भएको आरोप लगाएकी छन् ।
- यस घटनाले नेपाली चलचित्र क्षेत्रभित्र लुकेको रङ्गभेदको बहस बाहिर ल्याएको छ ।
- अभिनेताहरू प्रमोद अग्रहरी, रवीन्द्र झा र प्रकाश शाहले चलचित्र क्षेत्रमा रङ्गभेद भए पनि आफूहरूले प्रत्यक्ष अनुभव नगरेको बताएका छन् ।
काठमाडौँ । रङ्गीन संसार मानिएको चलचित्र उद्योग बाहिरबाट हेर्दा जति चम्किलो र लोभलाग्दो देखिन्छ, भित्रको कालो पाटो डरलाग्दो हुने गर्छ ।
कहिले पारिश्रमिकमा लैङ्गिक असमानता, कहिले मुख्य र सह कलाकारबिचको दूरी, त कहिले नेपोटिज चर्चाको बिषय बन्छ । हालै एउटा गम्भीर र संवेदनशील बिषय बाहिर आएको छ – ‘रङ्गभेद’ ।
अभिनेत्री काजल कर्णले नेपाली चलचित्र ‘चिरञ्जिवी भवः’ को सुटिङ सेटमा आफूमाथि मधेसी भएकै कारण मानसिक दुव्र्यवहार र अपमान भएको आरोप लगाएपछि यो बिषय बाहिर आएको हो ।
काजलले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत चलचित्रका निर्देशक दीपक आचार्य, मेकअप आर्टिस्ट र सह–अभिनेत्री प्रशंसा रायमाझीमाथि यस्तो आरोप लगाएकी छन् । यद्यपि, निर्देशक आचार्यले आरोपको खण्डन गरेका छन् ।
यस घटनाको सत्यतथ्य त समयसँगै स्पष्ट होला, तर यसले नेपाली चलचित्र क्षेत्रभित्र लुकेको रङ्गभेदको बहस बाहिर ल्याएको छ । मधेस पृष्ठभूमिबाट आएर नेपाली रजतपटमा आफ्नो बलियो उपस्थिति बनाउन सफल तीन स्थापित अभिनेताहरू प्रमोद अग्रहरी, रविन्द्र झा र प्रकाश शाहलाई हामीले एउटै प्रश्न राखेका छौँ । के वास्तवमै नेपाली चलचित्र क्षेत्रमा रङ्गभेद छ ? उनीहरूको भनाइ उनीहरूकै शब्दमा ।
- प्रमोद अग्रहरी (अभिनेता) :
चलचित्र ‘चिरञ्जिवी भव’ को सेटमा मधेसी भएकै कारण अभिनेत्री काजल कर्णमाथि भएको भनिएको विभेद र रङ्गभेदको आरोपबारे मलाई पूर्ण जानकारी छैन । जोसँग यस्तो घटना घटेको हो, उसैले यस विषयमा बोल्नु बढी सान्दर्भिक र न्यायसङ्गत हुन्छ । विनाकारण त पक्कै पनि कसैले यति ठूलो आरोप नलगाउला । फिल्म युनिटको आन्तरिक कुरामा मैले थप टिप्पणी गर्न आवश्यक देख्दिनँ ।
जहाँसम्म मेरो आफ्नै भोगाइको कुरा छ, मैले यस विषयमा विगतमा पनि बारम्बार आवाज उठाउँदै आएको छु । मलाई विगतका केही अन्तर्वार्ताहरू मै सिधै तपाईंको अनुहार नै नेपाली जस्तो छैन भनेर समेत प्रश्न सोधिएको थियो । एउटै कुरा बारम्बार दोहोर्याइरहँदा मानिसहरूलाई झर्को लाग्न सक्छ, तर मेरो विचारमा, जसले यस्तो विभेदकारी र सङ्कुचित सोच राख्छन्, उनीहरू एक किसिमका मानसिक रोगी हुन् ।

हामीले आफ्नो काम इमानदारीपूर्वक गर्ने हो । यस्ता नकारात्मक कुराहरूको पछाडि लाग्नुभन्दा कसरी आफ्नो कामलाई अझ निखार्ने भन्नेतर्फ ध्यान दियौँ भने त्यो नै हाम्रो स्वास्थ्य र करियर दुवैका लागि फाइदाजनक हुन्छ ।
मलाई दर्शकहरूले सधैँ अगाध माया र सम्मान दिनुभएको छ। यदि केही चलचित्र निर्माता वा मेकरहरूमा यस्तो सङ्कुचित सोच छ भने त्यो उनीहरूको व्यक्तिगत समस्या हो, मेरो होइन । म किन अरूको विभेदकारी मानसिकताको भारी आफ्नो टाउकोमा बोकेर हिँडुँ ? यदि यस्तै कुराहरूमा अल्झिएर बसेँ भने त मेरो काम र करियर नै धरापमा पर्छ।
यदि कसैले मलाई ‘मधेसी’ भनेर होच्याउन खोज्छ वा प्रश्न उठाउँछ भने म आफू नेपाली हुँ भनेर प्रमाणित गर्न किन दौडिरहनु ? यदि दुई–चार जनाले यस्तो सङ्कुचित व्यवहार गर्छन् भने उनीहरू सिर्जनात्मकताको नाममा बिरामी हुन्, जसलाई दया वा उपचारको आवश्यकता छ ।
- रवीन्द्र झा (अभिनेता) :
अभिनेत्री काजल कर्णसँग मैले सोही चलचित्रमा सँगै काम गरेको थिएँ । हामी सिङ्गो युनिट करिब १५–१६ दिन सँगै बस्यौँ । त्यस क्रममा उहाँलाई कतैबाट पनि अप्ठ्यारो हुने खालको व्यवहार भएको महसुस गरेनौँ । विगतमा जनकपुर जाँदा पनि उहाँ निकै व्यावहारिक देखिनुभएको थियो । मानिसको स्वभाव परिस्थितिसँगै परिवर्तन हुन सक्छ।
अहिले सामाजिक सञ्जालमा काजल जीले आ–आफ्ना कुराहरू लेख्नुभएको छ । जबसम्म दुवै पक्ष र युनिटका मानिसहरू एकै ठाउँमा बसेर खुला छलफल गर्दैनन्, तबसम्म वास्तविकता बुझ्न गाह्रो हुन्छ ।
_HmLsk3p1ck.jpg)
जहाँसम्म मेरो आफ्नै अनुभवको कुरा छ, मैले अहिलेसम्म प्रत्यक्ष रूपमा चलचित्र क्षेत्रमा रङ्गभेद वा विभेद भोग्नुपरेको छैन । मेरो पीठपछाडि कसैले कुरा गर्छन् भने त्यो मलाई थाहा भएन, तर मैले सेटमा कहिल्यै त्यस्तो नकारात्मक व्यवहार महसुस गरेको छैन । यदि यो क्षेत्रमा अत्यधिक रङ्गभेद मात्र हुन्थ्यो भने सायद म आज यो स्थानसम्म आइपुग्न पनि सक्दिनथेँ होला ।
चलचित्र क्षेत्रमा क्षेत्रीय वा सांस्कृतिक रूपमा विभेद नै छैन भन्न मिल्दैन। म यस क्षेत्रमा आउनुअघि पनि यस्ता कुराहरू सुन्ने गरिन्थ्यो । उदाहरणका लागि, अभिनय गराउँदा नेपाली भाषी र मैथिली भाषी भनेर जुन विभेद गरिन्छ, त्यो आफैँमा गलत हो । धेरै विज्ञापनहरू पहाडी आवरण भएका मानिसहरूलाई धोती र गमछा पहिराएर तराईको क्यारेक्टर बनाइन्छ, जबकि त्यहाँ तराईकै वास्तविक कलाकारलाई अवसर दिन सकिन्थ्यो । यो पनि एक किसिमको विभेद नै हो र मैले यस विषयमा विगतमा पनि आवाज उठाएको छु। धेरैले गमछालाई तराईको मुख्य संस्कृति मान्छन्, तर गमछा संस्कृति होइन । यो त केवल गर्मीका कारण प्रयोग गरिने सुतीको पातलो कपडा मात्र हो । तराईको वास्तविक संस्कृति अर्कै छ।
कुनै पनि आधारमा मानिसलाई विभेद गर्नु एकदमै गलत हो, झन् कलाकारिता क्षेत्रमा त यो हुनै हुँदैन । यदि तराई क्षेत्रले नेपाली चलचित्रलाई पूर्ण रूपमा बहिष्कार गरिदियो भने नेपाली चलचित्र उद्योगलाई ठूलो घाटा लाग्छ ।
- प्रकाश शाह (अभिनेता) :
नायिकाले चलचित्र क्षेत्रमा रङ्गभेद हुन्छ भनी लगाउनुभएको आरोपको विषयमा सत्यतथ्य कुरा स्पष्ट नभई मैले बोल्नु उपयुक्त नहोला । त्यो उहाँहरूको टिमभित्रको आन्तरिक वा घरायसीजस्तै कुरा हो । तर, यदि कतै त्यस्तो रङ्गभेद वा विभेद भएको छ भने त्यो पक्कै पनि गलत हो र यसलाई समर्थन गर्न सकिँदैन ।
मैले अहिलेसम्म करिब ७–८ वटा चलचित्रमा काम गरिसकेको छु । यस क्रममा मैले चलचित्रको सुटिङ सेटमा कहिल्यै पनि पहाडी वा तराईवासी भनेर कुनै किसिमको रङ्गभेद वा क्षेत्रीय विभेद महसुस गर्नु परेको छैन । जबसम्म आफूले त्यस्तो कुरा भोगिँदैन वा देखिँदैन, तबसम्म त्यस्तो हुन्छ नै भनेर सामान्यीकरण गर्न मिल्दैन । चलचित्रका सेटहरूमा कहिलेकाहीँ सानातिना असमझदारी वा मतभेदहरू त हुन्छन्, जुन जहाँ पनि हुन सक्ने सामान्य कुरा हो, तर त्यसलाई रङ्गभेदको रूपमा व्याख्या गर्नु उचित हुँदैन ।

चलचित्र क्षेत्रमा मुख्य कलाकार र सहायक कलाकारबिचको भिन्नता, वा पारिश्रमिकमा महिला र पुरुषबिच हुने असमानता जस्ता व्यावहारिक विभेदहरू त स्थापित नै छन् । तर मधेसी वा पहाडी भएकै आधारमा गरिने विभेदको हकमा भने मैले अहिलेसम्म त्यस्तो तीतो अनुभव गर्नु परेको छैन ।
म चलचित्र उद्योगमा आउनुअघि पहिले–पहिले यस्तो विभेद हुन्थ्यो भन्ने अलिअलि सुनिने गथ्र्यो । तर अचेल मानिसहरूको सोच र मानसिकतामा धेरै परिवर्तन आइसकेको छ । अहिले मधेस वा तराई मूलका कलाकारहरू रविन्द्र झा, प्रमोद अग्रहरी र म आफैँले पनि चलचित्रहरूमा राम्रो भूमिका पाइरहेका छौँ र सहकार्य गरिरहेका छौँ । म न आफू कतै त्यस्तो विभेद गर्छु, न त चलचित्र क्षेत्रमा मैले अहिलेसम्म त्यस्तो जातीय वा क्षेत्रीय विभेद नै देखेको छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाजरकोटमा पहिरोले टहरा पुरिँदा एक वृद्धाको मृत्यु, छोरी र नातिनीको उद्धार
-
इतिहासमै पहिलो पटक ६४ देशले विश्वकप खेल्ने सम्भावना, फिफाले थाल्यो अध्ययन
-
नेपाली भाषाको विकासमा आदिकवि भानुभक्त आचार्यको योगदान
-
भानु जयन्तीमा मात्रै बौरिन्छ चुँदीरम्घा : २४ करोडको गुरुयोजनाले फेरिएला त आदिकविको जन्मथलो?
-
चीनमा ‘बाभी’ आँधीको वितण्डा : २० लाख मानिस सुरक्षित स्थानमा सारिए
-
बेलायतमा ऐतिहासिक गर्मी : दुई महिनामा २७ सयभन्दा बढीको ज्यान गएको अनुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण