शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बेलायतको वेल्सका लागि पर्यटन सद्भावनादूतमा सापकोटा

शनिबार, २३ पुस २०७९, १३ : ४७
शनिबार, २३ पुस २०७९

काठमाडौँ । प्रवासमा रहेर लामो समयदेखि नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याभएका गैरआवासीय नेपाल सङ्घ (एनआरएनए) का पर्यटन संयोजक सोम सापकोटा बेलायतको वेल्सका लागि पर्यटन सद्भावनादूत (टुरिज्म गुवविल एम्बेस्टर) नियुक्त भएका छन् । नेपालको पर्यटन क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै सरकारले सापकोटालाई चार वर्षका लागि पर्यटन सद्भावनादूतमा नियुक्त गरेको हो ।

सापकोटालाई मन्त्रिस्तरीय निर्णयअनुसार सद्भावनादूत नियुक्त गर्ने निर्णय गरिएको हो । सापकोटालाई शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले नियुक्तिपत्र हस्तान्तरण गरे । सो अवसरमा सचिव अधिकारीले लामो समयदेखि पर्यटन क्षेत्रमा आबद्ध  सापकोटालाई सरकारले दिएको जिम्मेवारीबाट यो क्षेत्र  झनै बिस्तार र बलियो हुने विश्वास व्यक्त गरे । नवनियुक्त सद्भावनादूत सापकोटाले राज्यले आफूमाथि विश्वास गरेर दिएको जिम्मेवारीलाई मुलुकको हित र प्रवासी नेपालीको साथ लिएर सफलतापूर्वक निर्वाह गर्ने बताए ।

उनले भने, “कार्यादेशसहित जिम्मेवारी लिएको छु, अन्य मुलुकका सदभावनादूतसँग पनि समन्वय र सहकार्य गर्दै पर्यटन मन्त्रालय, पर्यटन बोर्डसँगको साझेदारितामा सरकार–सरकारबीच प्रवद्र्धनात्मक अभियान चलाउने योजना बनाएको छु ।” उनले पर्यटन प्रवद्र्धनका साथै नेपालको आवश्यक सहयोगका लागि रणनीतिक योजनासहित काम गर्ने योजना रहेको बताए । सन् २००७ देखि सन् २००९ सम्म एनआरएनएको पर्यटन प्रवद्र्धन कमिटीको सदस्य भएर काम गरेका सापकोटाले सन २०१३ देखि सन् २०१५ सम्म सोही कमिटीको उपसंयोजक बनेका थिए । 

त्यस्तै उनले सन् २०१६ देखि सन् २०१८ सम्म डेनमार्कका लागि नेपाली टुरिजम बोर्डको मानार्थ जनप्रतिनिधि भएर काम गरे । यसैगरी सापकोटा सन् २०१९ देखि २०२१ सम्म माल्टाका लागि नेपाल टुरिजम बोर्डबाट मानार्थ जनप्रतिनिधिका रूपमा नियुक्त भएका थिए । पर्यटन क्षेत्रमा विशेष दखल राख्ने सापकोटा हाल एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को प्रवक्ता एवं पर्यटन प्रवर्धन समितिका संयोजक रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप