सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

बारामा सवारी दुर्घटना बढे पनि घट्यो मृत्यु हुनेको सङ्ख्या, कारबाही र राजस्वमा पनि कमी

सोमबार, ११ साउन २०८३, ०८ : १२
सोमबार, ११ साउन २०८३

सारांश

  • आर्थिक वर्ष २०८२/८३ मा बारामा सवारी दुर्घटना बढे पनि मृत्यु हुनेको संख्या ७९ मा सीमित भएको छ।
  • गत आर्थिक वर्षमा ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनमाथिको कारबाही र राजस्व संकलनमा पनि कमी आएको छ।
  • सडकको कमजोर अवस्था, तीव्र गति, चालकको लापरवाही र ट्राफिक नियमको बेवास्ता दुर्घटनाका मुख्य कारण हुन्।

बारा । बारामा आर्थिक वर्ष २०८२/८३ मा सवारी दुर्घटनाको सङ्ख्या अघिल्लो वर्षको तुलनामा बढे पनि दुर्घटनाबाट ज्यान गुमाउनेको सङ्ख्या भने उल्लेख्य रूपमा घटेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख इन्स्पेक्टर हरी भट्टराईका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १ हजार १ सय ४७ सवारी दुर्घटना हुँदा ९३ जनाको मृत्यु भएको थियो। आर्थिक वर्ष २०८२/८३ मा दुर्घटनाको सङ्ख्या बढेर १ हजार २ सय ११ पुगे पनि मृत्यु हुनेको सङ्ख्या ७९ मा सीमित भएको छ। यसले अघिल्लो वर्षको तुलनामा १४ जनाको ज्यान जोगिएको देखाएको छ।

यस्तै ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथिको कारबाही र त्यसबाट हुने राजस्व संकलनमा पनि कमी आएको छ। गत आर्थिक वर्ष १५ हजार ६ सय ९३ सवारीसाधन कारबाहीमा पर्दा १ करोड ३५ लाख ६७ हजार ५ सय १२ रुपैयाँ राजस्व संकलन भएको थियो। अघिल्लो आर्थिक वर्ष भने २३ हजार ४ सय २४ सवारीसाधन कारबाहीमा पर्दा २ करोड २ लाख ४२ हजार रुपैयाँ राजस्व उठेको थियो।

इन्स्पेक्टर भट्टराईका अनुसार सडकको कमजोर अवस्था, तीव्र गति, चालकको लापरवाही तथा ट्राफिक नियमको बेवास्ता दुर्घटनाका मुख्य कारण हुन्। नियमित सवारी जाँच, ट्राफिक नियम उल्लङ्घन गर्नेमाथि कडाइ र जनचेतनामूलक कार्यक्रमका कारण मानवीय क्षति घटाउन सकारात्मक परिणाम देखिएको धारणा उनले व्यक्त गरेका छन्। 

दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राख्दै आगामी दिनमा ट्राफिक जाँच, छड्के अनुगमन तथा सचेतनामूलक अभियानलाई अझ प्रभावकारी बनाइने उनले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप